बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
वर्ष समीक्षा

२५ जना हाइप्रोफाइल अनुसन्धानमा तानिएको वर्ष

शुक्रबार, ३० चैत २०८०, १४ : १९
शुक्रबार, ३० चैत २०८०

काठमाडौं । भ्रष्टाचार र अनियमितता जस्ता अपराधमा संलग्न ‘ठुला माछा’ उम्किरहेको भाष्य तोड्दै २०८० सालमा एकपछि अर्को ठुला मुद्दा चल्यो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ‘गिरोह’माथि अनुसन्धान भएसँगै यो अपराधको सुइरो ‘ठुला माछा’ सम्म पुग्यो । ६० केजी सुन, इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर गरिएको सुन तस्करी, बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्गा घोटाला, १४ किलो सुन र बाँसबारी जग्गा प्रकरणको अनुसन्धान यसवर्ष सर्वाधिक चर्चामा रहे । 

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा २५ साउनमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनिल कुमार शर्मा पक्राउ परे र पछि छुटे । यी सबै प्रकरणहरूको अनुसन्धानमा संलग्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सञ्चालन गरेको ‘फोक्सट्रोट चार्ली’ अपरेशनका क्रममा नक्कली भनेर पक्राउ गरिएका डा. रञ्जित कुमार यादव सक्कली प्रमाणित भएपछि भने यो सङ्गठन विवादमा तानियो । बाँसबारी जग्गा प्रकरणलगायतमा पनि यसको अनुसन्धानमा प्रश्न उठ्यो ।

यद्यपि यसले ठुला ठुला अपराधलाई गुपचुप रहन दिएन । नेपालीलाई भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने ‘गिरोह’माथि अनुसन्धान गर्न थालेपछि अनुसन्धानको सुई हाइप्रोफाइल तिर सोझियो । अनि, १९ वैशाख २०८० मा पक्राउ परे डा. इन्द्रजित राई । उनी पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार हुन् । त्यसपछि हाईप्रोफाल पक्राउ पर्ने क्रम रोकिएन् । चैत २० मा पूर्व जनमुक्ति सेनाका कमान्डर कालीबहादुर खाम मगर ‘विविध’ पक्राउ परेका छन् । 

यस वर्ष विभिन्न अभियोगमा २५ जना हाइप्रोफाइल अनुसन्धानको दायरामा आए, पक्राउ परेकाहरूको सूची यस्तो छ-ः 

१. बालकृष्ण खाँण, पूर्व गृहमन्त्री 

२. डा. इन्द्रजित राई, सुरक्षा सल्लाहकार 

३. टोपबहादुर रायमाझी, पूर्व उपप्रधानमन्त्री 

४. सन्दीप रायमाझी, पूर्व उपप्रधानमन्त्री रायमाझीका पुत्र 

५. टेकनारायण पाण्डे, सचिव 

६. आङटावा शेर्पा, पूर्व सभासद् 

७. सागर राई, पूर्व वडाध्यक्ष 

८. नरेन्द्र केसी, पूर्व गृहमन्त्री खाँडका स्वकीय सचिव 

९. टेकनाथ रिजाल, शरणार्थी नेता

१०. रुद्र प्रसाद श्रेष्ठ, महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग 

११. बालकृष्ण श्रेष्ठ, सीडीई भौतिक योजना तथा निर्माण मन्त्रालय 

१२. मीन बहादुर गुरुङ, सञ्चालक भाटभटेनी 

१३. सुधीर कुमार शाह, पूर्व निर्वाचन आयुक्त (मुद्दा नचल्ने निर्णय) 

१४. कलाधर देउजा, पूर्व सहसचिव 

१५. कृष्ण बहादुर राउत, सचिव   

१६. दावा छिरिङ, चिनियाँ मूलका बेल्जियन 

१७. शिव कुमार सर्राफ, सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष 

१८. राहुल महरा, पूर्व सभामुख पुत्र 

१९. कृष्ण बहादुर महरा, पूर्व सभामुख 

२०. अरुण चौधरी, प्रबन्ध निर्देशक सिजी होल्डिङ 

२१. अजित नारायण सिंह थापा, अध्यक्ष बाँसबारी छाला जुत्ता 

२२. सञ्जय ठाकुर, अध्यक्ष चाँदाबाग रेसिडेन्सी 

२३.डा. सुनिल कुमार शर्मा, सांसद नेपाली कांग्रेस 

२४. रामबहादुर बमजन, तपस्वी 

२५. कालीबहादुर खाम मगर ‘विविध’, जनमुक्ति सेनाका पूर्व कमान्डर 

शरणार्थी प्रकरण 

भुटानी शरणार्थी प्रकरणको फाइल उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसीले खोलेका हुन् । आईजीपी वसन्त कुँवर अनुसन्धान कार्यालयमा रहँदा उनै कुँवरले पैसा उठाउने समूहका केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरेर छाडेका थिए । उनीहरूलाई छाडेसँगै सो प्रकरणको फाइल बन्द थियो । डा. केसीले चाहिँ सो फाइल खोल्ने आँट गरेका छन् । 

ललितपुर महानगरपालिका वडा नम्बर–२३ का भण्डारी र मोरङका दुलालाई पक्राउ गरेसँगै सो प्रकरण बाहिर आयो । 

‘गिरोह’सँग मिलेर गृह मन्त्रालयका तत्कालीन सचिव पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार राई र तत्कालीन गृहमन्त्री खाँणले पनि रकम लिएको अनुसन्धानले देखाएपछि उनीहरू पनि अनुसन्धानको घेरामा परे । २०७९ चैत १२ मा प्रहरीले दुलाल, पाँचथरका टङ्क गुरुङ र भण्डारीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरियो ।

यो प्रकरणमा सन्देश शर्मा, नेकपा एमालेका तत्कालीन सचिव रायमाझी, उनका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्‍यो । खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसी वैशाख २७ मा पक्राउ परे । २०८० जेठमा तत्कालीन संविधानसभाका सदस्य आङ्टावा शेर्पा पक्राउ परे । खाँडसहित केही भने छुटेका छन् । 

डा. राईका छोरा निरज राई र खाँणका छोरा अझै फरार छन् ।

दुलाल मार्फत १ करोड २५ लाख रुपैयाँ गृहमा लगेर बुझाएको बयान भण्डारीले प्रहरी समक्ष दिएपछि खाँणलाई पक्राउ गर्ने निर्णयमा अनुसन्धान अधिकृतहरू पुगे ।

भुटानी नेल्सन मन्डेला भनेर चिनिने शरणार्थी नेता रिजाल पनि यो प्रकरणमा मुछिए । उनी अहिले सङ्गठित ठगीको मुद्दा खेपिरहेका छन् । 

२०८० असार १ मा मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० का निवर्तमान वडा अध्यक्ष सागर राई सहित १६ जनालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको थियो । 

यो प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौँले बेचन झा र गोकुल थापामा केन्द्रित हुँदै दोस्रो चरणको अनुसन्धान गरिरहेको अनुसन्धान अधिकृतहरू बताउँछन् । 

ललिता निवास प्रकरण 

सीआईबीले २०८० असारमा बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्गा घोटालामा संलग्नहरूलाई पक्राउ गरेर अनुसन्धान गर्‍यो । २०८० असार १२ मा भाटभटेनी सुपर मार्केटका संचालक गुरुङ पक्राउ परे । यो प्रकरणमा पूर्व निर्वाचन आयुक्त शाह पनि पक्राउ परे । उनी विरुद्ध मुद्दा भने चलेन । 

‘पशुपति टिकिन्छा गुठी’ लगायतका गुठी खडा गरेर योजनाबद्ध सरकारी कागजात किर्ते गरेर ललिता निवासको १४७ रोपनी सरकारी जग्गा हिनामिनामा संलग्न २९० जनालाई प्रतिवादी बनाएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो ।  पूर्व सह–सचिव देउजा, सञ्चार मन्त्रालयका सचिव राउत, भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक श्रेष्ठ, भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सीडीई बालकृष्ण यही प्रकरणमा पक्राउ परे । सञ्चार मन्त्रालयका बहालवाला सचिव राउत विरुद्ध भने मुद्दा नचलाउने निर्णय भयो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा प्रतिवादी नबनाए पनि जग्गा घोटालामा संलग्न आरोपीहरूलाई जोडेर सरकारी वकिल कार्यालय काठमाडौँले ‘लिखत किर्ते’ कसुरमा अदालतमा मुद्दा दर्ता गर्‍यो । 

खरिद गरेको जग्गा ‘फिर्ता गर्छु’ भनेर ४८ जनाले निवेदन दिए । काठमाडौँ महानगरपालिका–३१ कमलादी घर भएकी सिपीका खेतान सहित निवेदन दिनेहरूलाई ‘जग्गा फिर्ता प्रयोजनका लागी मात्र’ प्रतिवादी कायम गरिएको छ । १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । यो प्रकरणमा मुछिएका अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात फरार छन् । ललिता निवासको जग्गा घोटालामा विजय गच्छदार सहित चार जना पूर्व मन्त्रीको संलग्नता देखिएको सीआईबीको दाबी छ । पूर्व मन्त्रीहरू डम्बर बहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाहको नाम पनि यो प्रकरणमा जोडिएको छ ।

६० केजी र भेप प्रकरण  

हङकङबाट ल्याइएको ६० केजी र र  र दुबईबाट  इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीको अनुसन्धान यस वर्ष सर्वाधिक चर्चामा रह्यो । २०७९ पुस १० मा सुन तस्करले भेपमा लुकाएर सुन ल्याएका हुन् । 

२०८० साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट ६० किलो सुन बरामद गरेको थियो । हङकङबाट ‘रेडी ट्रेड प्राली’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर सुन काठमाडौँ ल्याएको हो । यो सङ्गठित तस्करीबारे अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले सीआईबीलाई जिम्मा लगायो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पनि भेपबारे अनुसन्धान गर्न सीआईबीलाई नै भन्यो । भलै सुन तस्करीका अनुसन्धान विवादमा परेका छन् । त्यही कारण अनुसन्धानमा संलग्न अधिकृतहरुसहित सीआईबीका प्रमुख (एआईजी) किरण बज्राचार्यलाई विभागीय कारबाही गर्न सुन तस्करी जाँचबुझ आयोगले सिफारिस गरेको छ । 

६० किलो सुन प्रकरणमा ३० जना पक्राउ परे । २९ जना विरुद्ध मुद्दा चलेको छ ।  तीमध्ये ७ जना चिनियाँ, ७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी, भारतीय नागरिक थाप्तेन छिरिङ र बेल्जियन नागरिक दावा छिरिङ छन् । नेपालका ‘हाई प्रोफाइल’सँग सम्पर्कमा रहे पनि दावा छिरिङ सुन तस्करीको मुख्य योजनाकार नभएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ । ठमेल स्थित होटेल भियानाका सञ्चालक दावा अहिले थुनामा छन् । उनले नक्कली कागजात पेस गरेर काभ्रेबाट निमा तामाङको नाममा नेपाली नागरिकता लिएको गृह मन्त्रालयले गरेको छानबिनबाट देखिएको छ । 

सुन तस्करीमा चिनियाँ नागरिक लुई र दाओजिन वाङको मुख्य भूमिका देखिएको छ । दाओजिन वाङसँग  ‘कनेक्सन’ देखिएपछि प्रहरीले पूर्व सभामुख महरा र उनका छोरा राहुललाई पक्राउ गरेर अनुसन्धान गरेको छ । चिनियाँ नागरिक याओ पुचेङ्ग तस्करीमा संलग्न मुख्य अभियुक्त मध्येका हुन् । पुचेङ्ग अहिले थुनामा छन् । याओ पुचेङ्ग उर्फ ‘एलेक्स’को साथमा पनि नेपाली नागरिकता भेटिएको छ । 

छाया सेन्टरमा सञ्चालित वाल्डो मार्फत ‘हुन्डी कारोबार’को शैलीमा एलेक्सले सुनको रकम भुक्तानी गर्ने गरेको भेटिएको छ । ‘क्यासिनो खेल्न चिप्स किन्नुपर्ने हुन्छ, तर, एलेक्सले लाखौँ रुपैयाँ चिप्स नकिनेर नै क्यासिनोमा डिपोजिट गर्ने गरेको देखिन्छ’ सीआईबीका एक अधिकृत भन्छन्–‘वाल्डो मार्फत अनधिकृत रूपमा रकम ट्रान्सफर भएको देखिन्छ ।’

प्रहरीले वाल्डोको एकाउन्ट हेर्ने अधिकारीसँग बयान लिए पनि मुद्दा भने चलाएन । वाल्डो क्याासिनोलाई अनुसन्धानमा नतानेको र  ६० किलो सुन तस्करीमा संलग्न फरार अभियुक्त जीवन चलाउनेलाई बयान कागज गराएर छाड्नुमा सीआईबीकी तत्कालीन प्रमुख बज्राचार्य सहित अनुसन्धान अधिकृतहरुको मिलेमतो देखिएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको ठहर छ ।

सुनको अर्को काण्ड  

यही मङ्सिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट  विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गर्‍यो । गोरखा बारपाक घर भएका ४५ वर्षी चन्द्र घलेले दुबईबाट सुन ल्याएका थिए । 

मणि राम पौडेल नेतृत्वको छानबिन समितिले दुबईबाट अंकित अग्रवाल र गुरु नामका व्यक्तिले सुन पठाएको निष्कर्ष निकालेको छ । बारपाककै मीन बहादुर घलेले कृष्ण कुमार श्रेष्ठ र चन्द्रलाई परिचालन गरेर प्रतिखेप १४ किलो दरमा सुन नेपालमा ल्याउने गरेको पाइयो । मीन, चन्द्र र श्रेष्ठले अहिलेसम्म १३८ केजी सुन काठमाडौँ ल्याएको छानबिनको निष्कर्ष छ । 

यो प्रकरणमा डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत जीवनकुमार गुरुङ पक्राउ परे । काठमाडौँ जिल्ला अदालतको आदेशले उनी १५ लाख धरौटी बुझाएर छुटेका छन् । 

विमानस्थलका सफाइ कर्मचारी सहित ४ वटा टिम मिलेर सुन तस्करी गर्ने गरेको छानबिन समितिको निष्कर्ष छ । 

व्यवसायी विमल पोद्दारको पनि ‘कनेक्सन’ भेटिएको छ । पोद्दार पाँच वर्षअघि एयरपोर्टबाट बाहिरिएको साढे ३३ किलो सुन तस्करीमा पनि जोडिएको नाम हो ।

उसो त प्रहरीले दोलखाको सिंगटी र लामाबगरबाट ११ केजी सुन बरामद गरेको थियो । भर्खरै खुलेको चीन–नेपाल नाका ‘फलेक बोर्डर’ बाट सुन ल्याएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । एक जना चिनियाँ नागरिक सहित १० जनालाई पक्राउ गरेर सङ्गठित सुन तस्करी मुद्दा दर्ता भएको छ । 

तस्कर समूहले दोलखा र तिब्बत सीमाको खोलाबाट तारेर सुन ल्याउने गरेको अनुसन्धानबाट थाहा भएको छ । चीनतर्फबाट डोरीले बाँधेर सुन खोलावारी फाल्ने र नेपालतर्फका प्रतिनिधिले त्यहाँबाट काठमाडौँ पठाउने गरेको अनुसन्धानबाट खुलेको डिएसपी दीपक खड्काले रातोपाटीलाई बताए । उनी भन्छन्–‘खोलावारी ल्याएपछि उनीहरूले आलुको बोरामा लुकाएर लामाबगरतर्फ सुन ल्याएको भेटिएको छ ।’

बाँसबारी जग्गा प्रकरण 

काठमाडौँको बाँसबारी स्थित छाला जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले निजीकरण गरेको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ । चौधरी समूहले सरकारसँग मिलेर २०४४ मा बाँसबारी छाला जुत्ता कारखाना सञ्चालन भएकै कम्पाउन्डमा अर्को कम्पनी स्थापना गरे । सो कम्पनी हो–‘च्याम्पियन फुटवेयर लिमिटेड ।’ 

२०४४ मा सुरु गरिएको च्याम्पियन फुटवेयरमा सरकारले २५ लाख लगानी गर्‍यो । सरकारको पूर्ण स्वामित्वको कम्पनी बाँसबारी छाला जुत्ता कारखानाका अधिकारीहरूले च्याम्पियनमा २५ लाख लगानी गर्ने निर्णय लिएका हुन् । तर, पछि शेयरबापत लगानी गरेको जग्गा चौधरी समूहले निजीकरण गर्‍यो । 

सीआईबीले अरुण र चाँदाबाग रेसिडेन्सी प्रा.लिका अध्यक्ष ठाकुरलाई माघ १८ मा पक्राउ गरेपछि यो प्रकरण चर्चामा आयो । सांसद विनोद चौधरीसँग पनि प्रहरीले बयान लियो । चौधरी समूहका वसन्त चौधरी, अरुणकी पत्नी शिला चौधरी र उनीहरूका भिनाजु महेश अग्रवाललाई प्रहरीले घटना विवरण कागज गराएको छ । ठाकुरलाई प्रहरीले बयान गराएको छ । निजीकरणमा परेको जग्गामा अहिले चाँदबाग स्कुल संंचालित छ । 

अदालतको आदेशले अरुण, ठाकुर र अजितनारायण सिंह थापा रिहा भएका छन् । थापा बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष हुन् । 

काठमाडौँको बाँसबारीमा २०२१ मा छाला जुत्ता कारखाना खुल्यो । त्यहाँ छालाको जुत्ता मात्रै उत्पादन गरिन्थ्यो । सैनिक र प्रहरी सङ्गठनमा धेरै जुत्ता चाहिने भएपछि क्यानभास जुत्ता उत्पादन गर्ने गरी ‘पब्लिक प्राइभेट पार्टनरसिप’ मा २०४४ मा चौधरी समूह बाँसबारी छाला जुत्ता कारखानामा प्रवेश गरेको हो ।

लगानी बापत बाँसबारीको सञ्चालक समितिका तत्कालीन अध्यक्षले जग्गा दिने निर्णय गरे । बाँसबारी छाला जुत्ता कारखानाको २५ प्रतिशत शेयर बापत तत्कालीन सञ्चालक समितिका अध्यक्ष अजित नारायण सिंह थापाले दुई चरणमा ६ रोपनी र ४ रोपनी जग्गा च्याम्पियन फुटवेयरमा लगानी गरेका हुन् । यो प्रकरणको अनुसन्धान सम्पन्न गरी मुद्दा दर्ता गर्ने तयारी सीआईबीको छ । 

बम्जन र शिक्षित भट्ट 

चार वर्षको खोजीपछि सीआईबीले ‘तपस्वी’ बम्जनलाई पुस २४ मा बुढानिलकण्ठस्थित हात्तिगौंडाबाट पक्राउ गर्‍यो ।  किशोरीलाई यौन शोषण गरेको आरोपमा पक्राउ परेका उनी अहिले थुनामा छन् । उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा थप दुई वटा जाहेरी परेको छ । हत्या, अपहरण तथा बेपत्ता सम्बन्धी जाहेरी दर्ता भएको बाराका एसपी सुरेश काफ्लेले रातोपाटीलाई बताए ।

निजगढ नगरपालिका–१२ स्थित खुमजोरको आश्रमबाट बम्जनले सुरेश कुमार आलेलाई बेपत्ता बनाएको आरोप छ । सिमरा उप महानगरपालिका–१५ वडहर्वाका आले परिवारले अपहरणपछि बेपत्ता बनाएको भन्दै अनुसन्धान गर्न जाहेरी दिएका हुन् ।

आले २०७२ जेठयता सम्पर्कविहीन छन् । बम्जनले रिता बोटको हत्या गरेको आरोप पनि छ । सर्लाहीको बागमती नगरपालिका–१२ की रितालाई बाराको आश्रममा हत्या गरेको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएको हो ।

गत पुस २० मा काठमाडौँ प्रहरीले टुटलका प्रमुख शिक्षित भट्टलाई प्रतिलिपि अधिकार हनन गरेको आरोपमा पक्राउ गर्‍यो । उनी पछि अदालतको आदेशबाट  छुटे । यद्यपि अनुसन्धान चलिरहेको छ ।

निरा पाण्डेको हत्या 

कपनमा भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डे आचार्यको हत्या भयो । वैशाख ७ मा दिउँसो कपन स्थित सरस्वती नगरमा  भाँडा पसलको काउन्टरमा उनी मृत भेटिएकी थिइन् । 

रहस्यमय तरिकाले हत्या गरेर भागेका आरोपीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल अधिकारी र सीआईबीका डीएसपी धर्म भण्डारी नेतृत्वको टोलीले झापाबाट पक्राउ गरेको थियो । पक्राउ परेका विनोद बिक पुर्पक्षका लागि थुनामा छन् ।

यो हत्याको अनुसन्धानमा अनुसन्धान अधिकृतहरूले कठिन मेहनत गरेका थिए । काठमाडौँको मुटुमा भएको बीभत्स हत्या अनुसन्धानमा ढिलाइ भएको भन्दै प्रश्न उठेपछि प्रहरी प्रधान कार्यालयले सो घटनाको अनुसन्धानलाई निकै महत्त्व दिएर एआईजीको नेतृत्वमा समिति बनाएको थियो ।

सहकारी ठगी 

शिवशिखर, देउराली, सुप्रिम र सूर्यदर्शन सहकारी ठगीबारे यसवर्ष प्रहरीले अनुसन्धान गर्‍यो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, जीबी राई र पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुन जोडिएपछि सुप्रिम र सुर्यदर्शन सहकारीको ठगी चर्चाको केन्द्रमा छन् । 

पुन अहिले थुनामा छन् । सीआईबीले भारतको लखनउबाट पक्राउ गरेर ल्याएको  केदारनाथ शर्मा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष हुन् । बाँके कोहलपुर नगरपालिकाका शर्मामाथि १४ अर्ब रुपैयाँ निक्षेप हिनामिना गरेको आरोप छ । यो सहकारीको शाखा ३५ जिल्लामा छ । 

देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईं असोज १५ मा पक्राउ परे । अध्यक्ष चौलागाईं, ऋण उप–समितिको संयोजक राजेन्द्र खत्री र सिनियर म्यानेजर दिपक केसीलाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंसहित १४ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । देउरालीका संचालहरुले ६५ करोड ७७ लाख रकम अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

गैह्रीगाउँ हत्याकाण्ड

काठमाडौँको गैह्रीगाउँ स्थित दिव्या सः मिलमा ४ जनाको हत्या भयो । बोल्न नसक्ने सिन्धुपाल्चोक बाह्रबिसेका संजय भण्डारीले गत भदौ २९ मा राति सः मिलमा नवीन राई, कुमार भुजेल, शुभद्रा भुजेल र अम्बिका भुजेलको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । 

भण्डारीले काठमाडौँका अन्य ३ र सिन्धुपाल्चोककै एक ठाउँमा मानिसको हत्या गरेको बताएपछि अनुसन्धान अधिकृतहरू हैरानीमा परे । त्यसपछि उनको ‘ब्रेन म्यापिङ’ गरियो । अपराध अनुसन्धानमा ‘ब्रेन म्यापिङ’ परीक्षण नेपालमा पहिलो पटक भएको हो ।  

भिजिट भिषा प्रकरण

फर्जी कागजात बनाएर भिजिट भिषामा विदेश पठाउन त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरू नै संलग्न रहेको पाइएको छ । यो अभियोगमा अध्यागमन अधिकृत नरबिर खड्का सहित ४ जनालाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । उनी मंसिर २७ मा पक्राउ गरेका थिए । यो प्रकरणमा २२ जना विरुद्ध काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाएको थियो । 

अध्यागमन अधिकृत खड्का, काभ्रे घर भएका ३७ वर्षीय मनोज तामाङ्ग लामा,  सरोज कुमार यादव र अरुण दाहाल अहिले पुर्पक्षका लाथि थुनामा छन् । लामा निमा छिरिङ ट्राभल्सका सञ्चालक हुन् । यादव पनि ट्राभल सञ्चालक हुन् । दाहाल बिचौलिया भएको प्रहरीको भनाई छ ।

‘भिजिट भिसा’मा नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाउने गिरोहसँग पनि अध्यागमन अधिकृत खड्काको कनेक्सन देखिएको छ । यो प्रकरणमा कनेक्सन देखिएका जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत राम सोनाकरलाई पनि विपक्षी बनाएर मुद्धा दायर गरिएको छ । 

अध्यागमन अधिकृतहरूले रुस पठाउँदा प्रतिव्यक्ति २० देखी ८० हजारसम्म लिने गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । प्रतिवादी घिमिरेले प्रहरीसँग भनेका छन्–‘रुसका लागी ८० हजार सम्म बुझाउने गरेका थियौं ।’ भिजिट भिषामा दुबई पठाउने धन्दामा पनि संलग्न अधिकृत खड्काले दुबईका लागी २० देखी ४० हजार असुल्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

यसरी अपराधको दृष्टिले २०८० साललाई फर्केर हेर्दा ठूलाठूला काण्डहरु पर्दाफास हुनुको साथै कारबाहीमा अगाडि बढेको वर्षका रूपमा लिन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप