शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
लोकतन्त्र दिवस

‘मैले त यिनीहरूबाट आशा गर्नै छाडिसकेँ’

मङ्गलबार, ११ वैशाख २०८१, ०९ : ५८
मङ्गलबार, ११ वैशाख २०८१

लोकतन्त्र जनताले ल्याएका हुन् । लोकतन्त्र ल्याउनुपर्ने कारण थियो । लोकतन्त्रप्रति जनताका खास अपेक्षा थिए र छन् । आज जनताका अपेक्षा पूरा भएका छन् त ? यिनै प्रश्नमा केन्द्रित रहेर पूर्वन्यायाधीश कृष्णजंग रायमाझीसँग हामीले टेलिफोन संवाद गर्‍यौँ ।   

०६२/६३ को जनआन्दोलनमा भएको दमनको छानबिन गर्न बनेको आयोगमा रायमाझी अध्यक्ष थिए । त्यस आयोगको प्रतिवेदनलाई अझैसम्म कार्यान्वयन गरिएको छैन । यस सन्दर्भमा पनि हामीले उनका धारणा बुझेका छौँ । प्रस्तुत छ, उनीसँगको संवादको सम्पादित अंश : 

  • (आफ्नो परिचय दिएपछि) हामीले कुन अपेक्षा गरेर लोकतन्त्र ल्यायौँ र अहिले कहाँ छौँ भन्नेमै यहाँले बोलिदिनुपर्‍यो ?

खै, बोलेर पनि केही नहुने । म त अहिले गाउँतिर छु । बोल्न पनि मलाई त्यति रुचि छैन । चारवटा अक्षरको शब्द ‘लोकतन्त्र’ भनेर मात्रै भएन । लोकतन्त्रको मूल्य–मान्यता, नम्र्स, बेसिक प्रिन्सिपलदेखि बाहिर छन् सबै, अब के गर्ने ! 

लोकतन्त्र अनुरूपको आचरण र व्यवहार शुद्ध हुनुपर्‍यो, आचरण र व्यवहार छँदै छैन कत्ति पनि । मैले भन्ने यही हो तर यिनलाई मनपर्दैन के गर्ने ! 

हामीले लोकतन्त्रको नारा लगाएको अहिलेदेखि हो ! लोकतन्त्र भनेको जनताको सेवा हो, जनताको सुखशान्तिका लागि जनताकै शासन हो र एउटा पद्धति हो लोकतन्त्र । जनताका आधारभूत आवश्यकताहरू पूरा हुनुपर्छ । लोकतन्त्रमा जनताका हक–अधिकारको संरक्षण हुनुपर्छ । जनतालाई न्याय दिन नेताहरूले सोच्नुपर्ने हो । 

यसरी अगाडि बढ्ने आचरण र व्यवहार नेतासँग भएन । नेताले रातदिन आफ्नो बारेमा मात्रै सोचे, जनता जहाँसुकै जाऊन् । आफूले शासन कसरी लिने, आफ्नो शासन कसरी टिकाउने भन्नेमा मात्रै यिनीहरू लागे । बेसिक प्रिन्सिपलबाटै यिनीहरू बाहिर भइसके । मैले त यिनीहरूबाट आशा गर्नै छाडिसकेँ । यिनीहरू त्यस्तो पद्धतिबाट हुर्के, लोकतन्त्रप्रति जिम्मेवार हुने संस्कार यिनीले विकास गरेनन्, त्यो ‘नम्र्स’ यिनीहरूसँग छैन । त्यो संस्कार यिनीहरूमा अब आउँदै आउँदैन । आउने पुस्तालाई पनि यिनीहरूले गलत संस्कार सिकाएका छन् । झन् डरलाग्दो भयो । अनि यिनीहरूबाट के आशा गर्ने ? 

यिनीहरू जति वर्ष सत्तामा बसे पनि, जिन्दगीभर राज गरे पनि यिनीहरूबाट हुँदैन । ‘मर्निङ सोज द डे’ भन्छन्, सुरुदेखि नै यिनीहरूले लक्षण देखाएनन् । मैले त यिनीहरूको मुखैमा भनेको छु । 

मलाई त देशकै सार्वभौमिकतामै कताकता डर लाग्छ, यिनले त्यो पनि फाल्ने हुन् कि भन्ने छ । 

लोकतन्त्रप्रतिको हाम्रो अपेक्षा के हो ?

यिनीहरूले केही गर्नुपर्दैन । यिनीहरूले शुद्ध आचरण र व्यवहार गरून्, जनताप्रति जवाफदेही बनून् । 

आज हेर्नुस्, जनताहरू विदेशतिर लागेका लाग्यै छन् । हजारौँ युवा विदेश पलायन भएका छन् । जनतालाई रोजगारीको सम्भावना यही देशमा छ; खै नेताले गरेको, जानेको !

हामीले लोकतन्त्र जनताकै भलो र सेवाका लागि ल्याएका हौँ, तर त्यसको मिसयुज गरे यहाँ । कुरा मिसयुजको छ, लोकतन्त्र गलत होइन । लोकतन्त्रलाई सञ्चालन गर्नुपर्ने दायित्व बोकेकाहरूको कर्मको परिणाम हो यो । लोकतन्त्र हुन सकेन र पो गाह्रो भयो । सबै आफ्नै स्वार्थमा गएपछि लोकतन्त्रले प्रभाव पार्न सकेन ।

यसको कारण भनेकै नेताहरू जिम्मेवार नहुनु हो, तर नेतालाई यसको कुनै पीर छैन । सारा जनता जाऊन्, हामीले खाऊँ भन्नेमा पो छन् यिनीहरू । यिनको आचरण त्यही न देखियो । 

मेरो ठाडो स्वभाव छ हेर्नुस्, शुद्ध मनले भन्ने हो । आफूलाई आस छैन केही पनि, जनतालाई राम्रो गरिदिए हुन्थ्यो भन्नै नै मेरो इन्ट्रेस्ट हो । 

  • नेताहरूले कहाँनेर जानेनन् र चुके त ? 

यिनीहरूमा इमानदारिता भएन । के हो लोकतन्त्र ? त्यसको बेसिक नम्र्स नै जानेनन् । लोकतन्त्रको बेसिक नम्र्सप्रति इमानदार नै भएनन् । यिनीहरूले नयाँ पिँढीलाई पनि आफ्नै व्यवहार सिकाए । इमानदारले मौकै पाउँदैनन् । नयाँलाई यिनीहरूले ठाउँ दिँदैनन् । एक–दुईजना आसलाग्दा मान्छे देख्यो, केही गर्छन् कि भन्ने आशा गर्‍यो, उनीहरूलाई पछाडि पारिन्छ ।  

अब कसरी आस गर्ने, आस गर्ने ठावैँ छैन, यिनीहरूबाट हुँदै हुँदैन । 

टीभीमा यिनीहरूको अन्तर्वार्ता हेर्दा राम्रै कुरा गर्छन् । उनीहरूले भन्दा राम्रो भाषण भर्खरै एसईई दिएका नानीहरूले पनि गर्छन् ।  

यिनीहरूबाट हुँदै भएन भने अब अन्तिम उपाय के हुन सक्छ त ? 

अब जनताले सहन सकुन्जेल सहन्छन्, त्यसपछि विस्फोट हुन्छ । आखिर संसार यस्तै हुन्छ । अलिकति डर हामीलाई के छ भने, देशको सार्वभौम अखण्डता नै कतै जान्छ कि ! दुई विशाल मुलुकको बिचमा बसेका छौँ । आखिर विदेशीहरूले जहिले पनि खेल्ने नै हुन् । आफू ठिक हुनुपर्छ, विदेशीलाई दोष दिएर पनि हुँदैन । आफूले स्पेस नदिएपछि बाहिरका मानिसले खेल्न पाउँदैनन् । 

मान्छेले अर्को विकल्प खोजिरहन्छन् तर आजको संसारमा सबैभन्दा उत्कृष्ट राजनीतिक व्यवस्था लोकतन्त्र नै हो ।
  • यहाँले विस्फोट हुन्छ भन्नुभयो, विस्फोटपछि देश पश्चगमनतिर जाने त हुँदैन ?

क्रान्ति गरेर मात्रै हुँदैन, बागडोर सम्हाल्न पनि सक्नुपर्छ । त्यसबाट व्यक्तित्व विकास हुनुपर्‍यो । त्यो व्यक्तित्वले निकास दिन सक्यो भने केही हुन्छ, नत्र भने आन्दोलन मात्रै गरेर कहीँ पुगिँदैन । संसारको इतिहास हेर्नुस् न, एउटा पुरुषार्थ व्यक्तित्व निस्कन्छ, जसले सम्हाल्छ । हाम्रो इतिहास पनि त्यस्तै छ । जाहे राणाशासनमै होस्, एक खालको व्यक्तित्वले लामो समय शासन गर्‍यो । 

व्यक्ति र व्यक्तित्वमा फरक छ । एउटा व्यक्तिको कुरा गरेको होइन, व्यक्तित्वको कुरा हो । व्यक्तित्वले सिस्टम बनाउँछ र सिस्टमले काम गर्छ । हामीकहाँ सिस्टमै नै छैन । यहाँ कसैले कसैलाई टेर्दैनन् । कतिबेला गठबन्धन भत्कने हो, कतिबेला अर्को बन्ने हो— केही थाहा हुँदैन, तमासा छ । अलिकति केही भयो कि अर्को गठबन्धन बन्छ, जनता जहाँसुकै जाऊन् । 

जनताप्रति इमानदार भएन भने कुनै पनि शासन व्यवस्था लोकतन्त्र हुन सक्दैन । जनता नै ठुला हुन्, जनताप्रति नेताहरू इमानदार हुनुपर्छ । हामीकहाँ त सत्तामा पुगेपछि म राजा भइसकेँ भन्ने छ सबैलाई । मैले जे गरे पनि हुन्छ यो देशमा भन्ने छ । 

सधैँ एकनाश रहँदैन, समय परिवर्तन छ, सिस्टम बसाल्ने कुनै बहादुर निस्केला । 

  • राजा नै ठिक थियो भन्ने पनि छन्, उनीहरूलाई के भन्नुहुन्छ ?

यसो भन्दा फाइदा हुनेहरूले भन्छन् । यो सानो मुलुकमा कतिवटा पार्टी छन् ! जनताका लागि स्वतन्त्र रूपमा चिन्तन गर्ने मान्छे पाउनै गाह्रो हुन थाल्यो । कोही कुन पार्टीका, कोही हुन पार्टीका । एउटा ‘बायस्ड ओपिनियन’ (पक्षपातपूर्ण विचार) लिएर चलेका हुन्छन्, कसलाई ठिक भन्ने, कसलाई बेठिक भन्ने । तर के भने ठिक र बेठिक छुट्ट्याउने कर्मले हो । 

हामीले लोकतन्त्र जनताकै भलो र सेवाका लागि ल्याएका हौँ, तर त्यसको मिसयुज गरे यहाँ । कुरा मिसयुजको छ, लोकतन्त्र गलत होइन । लोकतन्त्रलाई सञ्चालन गर्नुपर्ने दायित्व बोकेकाहरूको कर्मको परिणाम हो यो । लोकतन्त्र हुन सकेन र पो गाह्रो भयो । सबै आफ्नै स्वार्थमा गएपछि लोकतन्त्रले प्रभाव पार्न सकेन । त्यसो हुँदा मान्छेले अर्को विकल्प खोजिरहन्छन् तर आजको संसारमा सबैभन्दा उत्कृष्ट राजनीतिक व्यवस्था लोकतन्त्र नै हो । 

हामीले प्रेसर दिँदादिँदा त्यतिसम्म गरेका हुन् यिनीहरूले, नत्र दबाउने थिए, पहिलेको मल्लिक आयोग (२०४६ को जनआन्दोलन दमन गर्नेमाथि छानबिन गर्न बनेको आयोग)को प्रतिवेदनजस्तै । यस्तै गर्ने हुन्, यिनीहरूको गर्ने लक्षणै छैन ।

यी सबैको आचरण गहिरिएर अध्ययन गरून् मिडियाका साथीहरूले । यिनको चालचलन र व्यवहारमा इमानदारिता कहाँ छ ? इमानदारिता भनेको सानो कुरा होइन । मुखमा इमानदारिता होइन; चिन्तन, व्यवहार र आचरण सबैमा इमानदारिता हुन्छ । अब एकथोक बोल्छन्, आचरण अर्कै छ, व्यवहार अर्कोतिर छ, अनि कसरी मिल्छ ? लोकतन्त्र हुने कर्मले हो, नाराले होइन । 

  • यो अवस्थामा बौद्धिक वर्ग वा नागरिक समाजको दायित्व के रहन्छ ?

इमानदार व्यक्तिले पनि गलतलाई गलत भन्नुपर्‍यो । यो भएन, यस्तो हुनुपर्छ भनेर आवाज बुलन्द गर्नुपर्छ । हामी पनि आफैँ–आफैँमा विभाजित भयौँ । हाम्रो आवाजको सङ्गठन नै भएन । फाइदा पाउने, नेताको नजिक हुनेले जी–हजुर गर्न छाड्दैन । हामी सबैले शुद्ध मनले नेपाल र नेपालीको बारेमा सोचौँ, मेरो भनाइ यति हो । 

  • ०६२/६३ को जनआन्दोलनमा दमन गर्नेविरुद्ध जाँचबुझ गर्न यहाँको अध्यक्षतामा गठन भएको आयोगले जुन प्रतिवेदन दियो, त्यसअनुसार कारबाही किन भएन भन्ने लाग्छ ? 

हो त, कारबाही भएन के गर्ने ! कारबाही गर्ने उनीहरू नै हुन् । उनीहरूले थन्क्याइदिए । सुवास नेम्वाङले उतिबेला मलाई भनेका थिए, ‘प्रतिवेदन सिंहदरबारको लाइब्रेरीमा राखिदिएका छौँ हामीले । पढ्न सक्छन्, हेर्न सक्छन् ।’ 

हामीले प्रेसर दिँदादिँदा त्यतिसम्म गरेका हुन् यिनीहरूले, नत्र दबाउने थिए, पहिलेको मल्लिक आयोग (२०४६ को जनआन्दोलन दमन गर्नेमाथि छानबिन गर्न बनेको आयोग)को प्रतिवेदनजस्तै । यस्तै गर्ने हुन्, यिनीहरूको गर्ने लक्षणै छैन ।

आयोगले प्रतिवेदन बुझाउने हो, बुझायो; कार्यान्वयन गर्ने सरकारले हो । यिनीहरूलाई फाइदा भयो भने कारबाही गर्ने हुन्, फाइदा नहुने यिनलाई, अनि गर्न नसक्ने । सबै (कारबाहीमा पर्ने) आफन्त, इष्टमित्र होलान् । 

  • यहाँको अध्ययन अनुसार जनआन्दोलनमाथि दमनको प्रकृति के कस्ता थिए ?

दमन बेसरी भएका थिए, दमन नभएको होइन । हामीले प्रतिवेदनमै खुलाएका छौँ । त्यतिबेला कति मारिएका थिए भन्ने यकिन नम्बर अहिले मैले बिर्सें । कति मानिस मारेका थिए, कति मानव अधिकार हनन भएको छ, कति भ्रष्टाचार भएको छ, सबै हामीले खोजेका छौँ । प्रतिवेदनमा राजादेखि कसैलाई पनि छाडेका छैनौँ । राजा त तत्कालीन संविधानभन्दा माथि थिए । राजा नै सरकार प्रमुख भएको हुनाले, त्यो बेलामा क्याबिनेट नै उनको अध्यक्षतामा बनेको थियो, हामीले तुलसी गिरी, कीर्तिबाबु सबैलाई ठहर्‍याएका छौँ । अध्यक्षको हैसियतले राजा पनि दोषी हुन भनेका छौँ । 

यिनीहरूले यो डकुमेन्टको बेइज्जत गरिसके । अब यो कसले भन्ने ? तपाईंहरू मिडियाका मानिसले भन्न गाह्रो होला, कहाँ कहाँ के के सम्बन्ध हुन्छ, म त हेर्नुस् प्रस्ट वक्ता, लागेको कुरा भनिदिएँ । अहिले पनि भन्छु, जे देखेको हो भन्ने हो । झुट कुरा मलाई भन्नु छैन, मेरो स्वार्थ कुनै छैन । 

गिरिजाबाबुले मलाई कति दुःख दिए, प्रजातन्त्रवादी नेता भन्थे आफूलाई । आयोगलाई विफल बनाउन उनले प्रयास गरेका हुन् । 

यत्रो जनआन्दोलन भयो, हामी सुध्रिएका छौँ भन्दै गिरिजाबाबुले भाषण गर्दै हिँडे । सुध्रिएका हुन् भने, लौ त देशका लागि हुन्छ भनेर बसेँ । मलाई उल्टो दुःख दिन थालिगए पछि ।
  • किन त्यस्तो गरे ? 

अब के गर्ने, उनको इन्ट्रेस्टको कुरा हुन्छ, उनका मान्छे हुन्छन् चाकडी गर्ने । छाड्दे भन्थे, मैले छाडिनँ । झगडा हुने कारण यही हो । हामीजस्तो मान्छे गयो भने झगडा हुने कारण यही हुन्छ । त्यही भएर हामीजस्तो मान्छेलाई नलैजाऊ भनेकै हो मैले । त्यतिबेला कृष्ण सिटौला गृहमन्त्री थिए, उनी मेरो घरमै कतिपटक आएर भने– आयोगमा बसिदिनुपर्‍यो । 

म बस्दिनँ, मलाई कुनै इन्ट्रेस्ट छैन, तपाईंहरूको गतिविधिबाट विश्वासै छैन त किन बस्छु ! 

दुनियाँले प्रेसर गरेपछि म बसिदिएको हुँ । सुध्रे कि त भनेँ मैले । यत्रो जनआन्दोलन भयो, हामी सुध्रिएका छौँ भन्दै गिरिजाबाबुले भाषण गर्दै हिँडे । सुध्रिएका हुन् भने, लौ त देशका लागि हुन्छ भनेर बसेँ । मलाई उल्टो दुःख दिन थालिगए पछि । आखिर मलाई प्रतिवेदन प्रकाशन गर्नु नै थियो, प्रतिवेदन नबुझाई सुखै थिएन । मैले त्यो प्रतिवेदन फाल्नेवाला थिइनँ, कि त मलाई यसरी दुःख दिए भनेर राजीनामा गरेर हिँड्थेँ । यो कुरा मैले त्यतिबेला मिडियामा भनेको थिएँ, रेकर्ड होलान् ।  

  • त्यतिबेला कारबाहीमा सेनाका मान्छे पनि थिए ?

सेनाकै मान्छेहरूबाट झगडा भएको हो नि मेरो । किनभने गिरिजाबाबुले रोकिदिए मैले सेनाका मान्छेहरूलाई बोलाको बेलामा । 

यी कुरा मैले मिडियामा भनेपछि—  भएन, त्यो मान्छे के के गर्छ, के के गर्छ । जाओ भनेछन् पछि । अनि आए मकहाँ चिफसाहेब । चिफसाहेबलाई बयान मैले गरा’छु । उनले भने मलाई— मेरो काम थियो पोखरामा । आयोगले बोलाको छ, के गरौँ भनेँ मैले । गिरिजाबाबुले भन्नुभयो— ह्या जानुस्, आयोगलाई मैले भनिदिउँला ।

मैले भनेँ— के आयोग गिरिजाबाबुको पकेटको हो, उनले जे भन्यो मैले मान्नुपर्ने ! चित्त नबुझे फालिदिए भइहाल्यो । आयोगलाई फाल्ने अधिकार छँदै छ । यहीँ आएर तपाईंहरूको समस्या भनेको भए आयोगले विचार गर्छ नि । आयोग त के हो र ? कारबाही गर्ने होइन । यथार्थ छानबिन गर्ने हो । 

उनले भने— हो, हजुर । उहाँ हाम्रो विभागीय मन्त्री, प्रधानमन्त्री, भन्नैपर्‍यो, सुन्नैपर्‍यो । उहाँले यसो भन्नुभयो, अनि म गएँ पोखरातिर । 

चिफसाहेब आएपछि सबैजना आए, पछि बयान गर्न । 

यही माथिकाले दुःख दिन्छन् । शङ्का लागेर मैले भनेकै थिएँ— तपाईंहरूले काम गर्न दिनुहुन्न । मलाई बेकारमा किन राख्नुहुन्छ ? तपाईंहरूले भनेअनुसार नगर्ने मान्छे म । मलाई राखेर फसाद पर्छ, नराख्नुस्, तमाम न्यायाधीश छन् लैजानुस् न, भनेको पनि हो मैले । कृष्ण सिटौलालाई सोध्नुस् तपाईंहरू, जान्नँ भनेकै थिएँ । लगे, मैले देखेको कुरा गरिदिएँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप