शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
लोकतन्त्र दिवस

दोस्रो जनआन्दोलन : बागमतीमा १० जना सहिद (पृष्ठभूमिसहित)

मङ्गलबार, ११ वैशाख २०८१, ०६ : २४
मङ्गलबार, ११ वैशाख २०८१

मकवानपुर । सशस्त्र द्वन्द्वमा होमिएको नेकपा माओवादी र संसदवादी सात राजनीतिक दलबिच भएको १२ बुँदे राजनीतिक सहमतिले १० वर्षे जनयुद्ध अन्त्य भएको थियो । राजाको अधिनायकवादी शासनविरुद्ध माओवादी र सात राजनीतिक दलको अगुवाइमा नेपाली जनता लोकतन्त्र र दिगो शान्तिका लागि जनआन्दोलन मार्फत् सडकमा उत्रिएका थिए ।

२०६२ चैत २४ गतेदेखि नेपालमा दोस्रो जनआन्दोलन सुरु भएको थियो । जनताको साथ र सहयोगमा १९ दिनसम्म सञ्चालन भएको जनआन्दोलनको बलमा राज्य व्यवस्था परिवर्तन भएको थियो । स्वतन्त्रता, लोकतन्त्र, मानवअधिकार र शान्तिको मागसहित आन्दोलनमा होमिएका उनीहरूमध्ये कतिपयले ज्यान गुमाए भने थुप्रै अङ्गभङ्ग र घाइते भए । कतिपयलाई कैदसमेत गरिएको थियो ।

जनआन्दोलनका क्रममा बागमती प्रदेश अन्तर्गत १० जनाले ज्यान गुमाउनु परेको थियो । ‘जनआन्दोलन र मानवअधिकार’ नामक पुस्तकमा उल्लेख भए अनुसार ज्यान गुमाउनेहरूमा काभ्रेका ३६ वर्षका भीमसेन दाहाल, नवलपरासीकी ३० वर्षीय तुलसी डुम्राकोटी, काभ्रेका २० वर्षीय शिवहरि कुँवर, सोलुखुम्बुका २१ वर्षीय दीपक कामी, मकवानपुरका ३० वर्षीय बासुदेव घिमिरे छन् । काभ्रेका १८ वर्षीय सगुन ताम्राकार, काठमाडौँका ३२ वर्षीय प्रद्युम्न खड्का, भारतका २८ वर्षीय मोहम्मद जहाँगिर खाँ, काभ्रेका ४२ वर्षीय अनिलकुमार लामा र नुवाकोटका ३६ वर्षीय चन्द्रबहादुर बयलकोटीले पनि जनआन्दोलनका क्रममा मृत्यवरण गरेको पुस्तकमा उल्लेख छ ।

  • भीमसेन दाहाल

काभ्रेका भीमसेन दाहालको जनआन्दोलनका क्रममा कास्कीको पोखरामा मृत्यु भएको थियो । २०२६ साल साउन १३ गते उग्रचण्डी नाला–५, आँगाल, काभ्रेमा जन्मेका दाहालले इन्जिनियरिङ क्याम्पस पुल्चोकबाट ओभरसियरसम्मको अध्ययन पूरा गरेका थिए । साङ्गठनिक रूपमा नेकपा एमालेमा आबद्ध दाहाल २०५२ सालदेखि पोखरामा बस्दै आएका थिए ।

१९ दिने आन्दोलनमा सक्रिय सहभागी भएका उनलाई २०६२ चैत २६ गते दिउँसो विरोध कार्यक्रममा सहभागी भई फर्किरहेको अवस्थामा तत्कालीन पोखरा उपमहानगरपालिका–३ महेन्द्रपुलमा सेनाले गोली प्रहार गरेको थियो ।

नेपाल टेलिकमको सुरक्षामा खटिएका सैनिकले कार्यालयको छतबाट ४ गोली प्रहार गरेकोमा एक गोली उनको टाउकोमा लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

  • तुलसी डुम्राकोटी

जनआन्दोलनको क्रममा आन्दोलनकारीलाई पानी दिने क्रममा चितवनको भरतपुरमा सेनाको गोली लागेर तुलसी डुम्राकोटीको मृत्यु भएको थियो । तत्कालीन नवलपरासीको रजहर गाविस–६, वसन्तपुरमा जन्मिएकी उनको जनआन्दोलनका क्रममा २०६२ चैत २६ गते अपराह्न ४ बजे सेनाको गोली लागेर मृत्यु भएको थियो । चौबीसकोठीबाट हाकिम चोक हुँदै मालपोत कार्यालय नजिक जुलुस लिएर पुगेका आन्दोलनकारीले आन्तरिक राजस्व कार्यालयमा तोडफोड गरेर आगजनी गरेपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन लाठी चार्ज र अश्रु ग्याससमेत प्रहार गरेको थियो ।

आन्दोलनकारी पारिजात चोक हुँदै तुलसीको घरतर्फ जम्मा भएका थिए, जहाँ तुलसी र उनको घरमा डेरा गरी बसेका प्रतीक्षा अधिकारी, प्रमिला केसीले आन्दोलनकारीहरूलाई बोतलमा खानेपानी दिँदै थिए । सोही क्रममा उनीहरू तीनै जनालाई गोली लागेको थियो । महेन्द्र आदर्श चिकित्सालयमा उपचारका लागि भर्ना गरिएका उनीहरूमध्ये तुलसीको अवस्था गम्भीर थियो । थप उपचारका लागि शिक्षण अस्पतालमा लगिएको उनको चैत २७ गते बिहान उपचारको क्रममा मृत्यु भएको थियो । यस्तै, प्रमिलाको पाखुरा र प्रतीक्षाको हत्केलामा गोली लागेको थियो ।

  • शिवहरि कुँवर

काभ्रेको वाल्टिङ गाविस–७, तारेका २० वर्षीय शिवहरि कुँवर २०६२ चैत २७ गते प्रहरीले प्रहार गरेको गोलीको सिकार भए । साँझ ४ बजे बनेपा–६ स्थित घरको चार तलामाथि छतबाट सडकमा हेरिरहेको अवस्थामा उनलाई गोली लागेको थियो ।

२०४२ भदौ १५ गते जन्मिएका शिवहरि  प्रवीणता प्रमाणपत्र तहमा अध्ययनका लागि सहर पसेका थिए । बनेपाको मुख्य सडकमा घुम्ती पसल राखेर सीडी पसल र ग्यास चुल्हो मर्मतको काम गर्दै आएका उनलाई नुहाएर लुगा सुकाउन छतमा गएका बखत गोली लागेको थियो ।

शिवहरिको देब्रे पाताबाट गोली पसेर दाहिने पाताबाट निस्किएको थियो । सो घटनापछि स्थानीय प्रशासनले बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म बनेपामा कर्फ्यु आदेश जारी गरेको थियो ।

  • बासुदेव घिमिरे

मकवानपुरको तत्कालीन आमभञ्ज्याङ गाविस–३ थर्पेडाँडाका बासुदेव घिमिरेको जनआन्दोलनका क्रममा काठमाडौँको कलंकीमा मृत्यु भएको थियो । २०६३ वैशाख ७ गते कलंकीमा सशस्त्र प्रहरीले चलाएको गोलीबाट उनको मृत्यु भएको थियो । ३० वर्षीय घिमिरे २०६२ चैत २४ गतेदेखि कलंकीको आन्दोलनमा अग्रपंक्तिमा थिए ।

२०३२ भदौ २५ गते आमभन्ज्याङ गाविस–६ पानीघाटमा जन्मिएका उनी कामको खोजीमा काठमाडौँ छिरेका थिए । उनी राम्रो फुटबल खेलाडी पनि थिए । उनी कलंकीमा फर्निचर व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

  • सगुन ताम्राकार

२०४४ भदौ २९ गते काभ्रेको पनौती नगरपालिका–७ मा जन्मिएका सगुन ताम्राकारको जनआन्दोलनको क्रममा २०६३ वैशाख ७ गते कलंकीमा मृत्यु भएको थियो । काठमाडौँको स्यूचाटारस्थित मामाको घरमा बस्दै आएका उनले कक्षा ८ सम्म अध्ययन गरेका थिए । उनी जीविकोपार्जनका लागि स्टोभ बनाउने काम गर्दै आएका थिए ।

  • प्रद्युम्न खड्का

जनआन्दोलनको क्रममा घाइते भएका प्रद्युम्न खड्काको वैशाख १६ गते उपचारको क्रममा मृत्यु भएको थियो । वैशाख ७ गते कलंकीमा सुरक्षाकर्मीको दमनबाट घाइते भएका उनको भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

२०३२ भदौ १३ गते काठमाडौँको स्यूचाटार गाविस–४ मा जन्मिएका उनी घरका एकमात्र छोरा थिए । जनआन्दोलनमा सक्रिय सहभागी भएका खड्काले ८ कक्षासम्म पढेका थिए ।

  • चन्द्रबहादुर बयलकोटी

नुवाकोटको विदुर नगरपालिका–७, तल्लो पिपलटारमा जन्मिएका चन्द्रबहादुर बयलकोटी आर्थिक अभाव टार्न काठमाडौँ पसेका थिए । काठमाडौँ आएर बयलकोटीले आफ्नो पुर्ख्यौली पेसा जुत्ता सिलाउने काम गर्थे । ठमेलमा सडकपेटीलाई कार्यक्षेत्र बनाएका उनको २०६३ वैशाख २३ गते मृत्यु भएको थियो । जनआन्दोलनका क्रममा जुलुस प्रदर्शनमा सहभागी भएका बयलकोटी २०६३ वैशाख ९ गते काठमाडौँको त्रिपुरेश्वरमा प्रहरीले प्रहार गरेको अश्रुग्याँस लाग्दा घाइते भएका थिए । नेपाल मेडिकेयर अस्पतालमा उपचारका क्रममा वैशाख २३ गते उनको मृत्यु भएको थियो ।

  • अनिलकुमार लामा

२०२० चैत १२ गते काभ्रेमा जन्मिएका अनिलकुमार लामा जनआन्दोलनको क्रममा घाइते भए । प्रहरीले प्रहार गरेको अश्रु ग्यासको असरले बेहोस भएका लामाको उपचारको क्रममा मृत्यु भएको थियो ।

२०६३ वैशाख ४ गते बौद्ध, चुच्चेपाटीमा अश्रु ग्यासबाट बेहोस भएका लामाको नेपाल मेडिकल कलेजमा १० दिन आइसीयूमा राखेर उपचार गरिएको थियो । अश्रु ग्यासले मुटु र कलेजोमा असर गरी उनको मृत्यु भएको थियो ।

  • दीपक कामी

सोलुखुम्बुको नेचा गाविस–९ घर भएका दीपक कामी जनआन्दोलनमा सक्रिय थिए । दैनिक गुजारा चलाउन काठमाडौँको थानकोटको एक डेरी उद्योगमा कार्यरत उनी २०६३ वैशाख ७ गते कलंकीमा भएको घटनामा गोलीको सिकार भए । सतुङ्गलबाट आएको जुलुसको अग्रपङ्तिमा रहेका दीपकको टाउकोमा गोली लागेको थियो ।

अध्ययनका लागि काठमाडौँ छिरेका दीपक गोङ्गबुको एक विद्यालयमा पढ्थे । आर्थिक अवस्थाका कारण उनले अध्ययनलाई निरन्तरता दिन सकेका थिएनन् ।

  • मोहम्मद जाहाँगिर खाँ

२०३५ मा भारतको बिहारको सीतामढीको वैरगनियामा जन्मिएका मोहम्मद जाहागिर खाँको जनआन्दोलनका क्रममा त्रिपुरेश्वरमा मृत्यु भएको थियो । जाहाँगिर जनआन्दोलनमा सहादत प्राप्त गर्ने एकमात्र भारतीय नागरिक हुन् ।

आन्दोलनको क्रममा वैशाख ९ गते त्रिपुरेश्वरमा सुरक्षाकर्मीको लाठी चार्जबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको थियो । घाइते भएका खाँलाई उपचारका लागि मोडल अस्पतालमा पुर्‍याइए पनि उपचारकै क्रममा २०६३ वैशाख १८ गते बिहान निधन भएको हो ।

उनी १३ वर्षको उमेरमा काठमाडौँ छिरेका थिए । कपडा सिउने काम गर्दै आएका उनी जनआन्दोलनमा भने सक्रिय रूपमा सरिक भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप