शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

शुक्रबार, २१ वैशाख २०८१, २१ : ४९
शुक्रबार, २१ वैशाख २०८१

आज मिति २०८१ साल वैशाख महिनाको २१ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

१. खेलाडीको बिदाइ

टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेल्न जाने टोलीको बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलगायतको उपस्थित रहेको थियो । यस्तै सन्दीप लामिछाने पनि सहभागी रहेका थिए ।  बलात्कार मुद्दा खेपिरहेका लामिछाने टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा परेका छैनन् ।

२.बढ्दो डढेलो

देश यतिबेला आगलागीको चपेटामा परेको छ । धेरै वन जङ्गलमा डढेलो दन्किरहेको छ भने जङ्गलछेउ रहेका घरगोठ पनि जलिरहेका छन् । पशुचौपायाका साथै मानवीय क्षतिसमेत बढिरहेको छ ।

शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले विपद् व्यवस्थापनका सम्बन्धमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसँग छलफल कार्यक्रम राखेको थियो ।

छलफलमा समितिले देशभरि आगलागी तथा डढेलोको घटना बढेको र त्यसको रोकथामका लागि सरकारी तवरबाट भइरहेको प्रयासबारे मन्त्रालयसँग छलफल गरेको थियो ।

३. कांग्रेसको रणनीति

वैशाख २८ देखि सुरु हुने बजेट अधिवेशनमा पनि सहकारी ठगीको विषयलाई सशक्त ढङ्गले उठाउने रणनीतिमा प्रमुख विपक्षी नेपाली कांग्रेस छ । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ ।

४. मन्त्रिपरिषद्को निर्णय

सरकारले राजपत्राङ्कित केही विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो ।

५. गुपचुप प्रतिवेदन

कार्यान्वयनमा गइसकेको सुन तस्करीबारे छानबिन गर्न गठित डिल्लीराज आचार्य आयोगको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको ‘आदेश’मा लुकाइएको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले ‘सुरक्षा संवेदनशीलता र अपराध अनुसन्धान’मा वाधा पर्ने भन्दै प्रतिवेदन उपलब्ध गराउन नसकिने जनाएका छन् ।

६. पत्रकार महासंघको कार्यक्रम

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने बताएका छन् । नेपाल पत्रकार महासङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आम सञ्चारमाध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि स्वनियमन बस्नुपर्ने बताए ।

७. सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित

नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई तत्काल विश्वासको मत दिन नसकिने अडानमा बसेपछि प्रदेशसभा बैठक बस्ने अनिश्चित भएको छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन आज साँझ ५ बजे आह्वान गरिएको बैठक अनिश्चित बनेको हो ।

बागमती प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन दलहरू सहमत भएका छन् ।  शुक्रवार हेटौँडामा बसेको सर्वदलीय बैठकमा यस्तो सहमति भएको नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

नेकपा एमाले पर्सा जिल्लाको निर्वाचनमा कार्यकर्ताहरूबिच कुटाकुट भएको छ ।

कोशी प्रदेश सरकारले उदयपुरको १५ बेड क्षमताको कटारी अस्पताललाई स्तरोन्नति गर्दै ५० बेड क्षमताको बनाउने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

८. कामदारबारे कोरियाको नीति

दक्षिण कोरियाले कोरियन भाषा परीक्षाका लागि माग सङ्ख्याको तेब्बर बढीमात्रै आवेदन लिने भएको छ । सन् २०२५ देखि रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत कोरिया भाषा परीक्षाका लागि माग सङ्ख्याको तेब्बर बढीमात्रै आवेदन लिने भएको हो ।

९. प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले ब्यान्डविथ शुल्कलाई लिएर इन्टरनेट सेवा अवरुद्ध भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार करिब ६ घण्टा अवरुद्ध भएको इन्टरनेट सेवा सरकारी निकाय, दूरसञ्चार प्राधिकरणले मुद्रा सटहीमा रोक लगाएको कारण देखाउँदै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले आरोप लगाएको भन्दै यस्तो गल्ती नगर्न प्राधिकरणले चेतावनी दिएको हो ।

१०. छात्रामाथि गोली प्रहार

झापाको दमक नगरपालिमा कक्षा १२ को जाँच दिएर फर्केकी छात्रा एनिका अधिकारी गजमेरलाई गोली प्रहार भएको पुष्टि भएको छ । मेडिकल जाँचबाट गोली लागेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्ण चन्दले रातोपाटीलाई बताए । उनले भने,‘छात्रामाथि गोली प्रहार भएको चिकित्सकरुले पुष्टि गर्नुभएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप