मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय
विचार

एसियाको लेनिन हुन छाडेर चरेस, गाँजा र सुनतिर लागे

सोमबार, २४ वैशाख २०८१, १२ : २३
सोमबार, २४ वैशाख २०८१

मैले युवाहरूसँग संवाद गर्दै आएको छु । मलाई डर के लागेको छ भने युवाहरूलाई यस्ता कुरा सुन्ने मात्रै बानी पर्ने हो कि, गर्न केही नगर्ने हुन् कि ! 

युवाहरूप्रति आशा के छ भने— यस्ता २०–२५ जना युवाले पाँच–सात वर्षचाहिँ हामी एकदमै ‘कन्सिस्टेन्टली’ आफूले बुझेका कुरामा लाग्छौँ भनिदिने हो भने मलाई लाग्छ देशमा कायापलट गर्न सकिन्छ । सात वर्षमा यो देशमा कायापलट गर्न सकिन्छ । यही आशाले गर्दा म युवाहरूले बोलाएका ठाउँमा आउँछु । नत्रभने आनन्दले कुरा गर्ने हो भने कतै रमाइलो ठाउँमा बसेर कुनै किताब पढ्ने, कफी खाने, बेलुका भएपछि अर्को कफी खाइदिने गर्दा पनि मजा आउँछ ।

तपाईंहरूले जति कुरा सुन्नुभएको छ, यति सुन्दा त हामीले के के गरिसकेका थियौँ । 

मेरो राजनीतिक सुरुवात कसरी भयो भने, मैले सुरुमा माओ र मार्क्सलाई त्यति चिनेकै थिइनँ, पहिला मैले चिनेको चे ग्वेभारालाई हो । चे ग्वेभारालाई चिनाउने किताब थियो, रेगिस डेबरेले लेखेको ‘रेभोलुसन इन् द रेभोलुस’ । यस पुस्तकको भूमिकामा पउल एम स्विजीले भनेका छन्— रुस एउटा मोडेल थियो, चीन एउटा मोडेल थियो, क्युबाले तेस्रो मोडेल ल्याइदियो, यसो हो भने चौथो–पाँचौँ बाटो किन हुन सक्दैन ? १७–१८ उमेरदेखि नै मेरो दिमागमा यो कुरा बसेको छ । 

यहाँ प्रश्न आयो, समाजवाद के हो भन्ने । समाजवादको सबैभन्दा सजिलो परिभाषा चे ग्वेभाराले गरेका छन्— मान्छेद्वारा मान्छेमाथि हुने शोषणको अन्त्य नै समाजवाद हो । 

अर्को धारा कस्तो जन्मियो भने, नेपालका बारेमा त मार्क्सले केही भनेका छैनन् ।

मान्छेले मान्छेलाई दबाउन नपाएपछि उसले पर्यावरणमाथि पनि केही गर्दैन । जस्तो : उच्च जातका शोषकहरूले दलितहरूलाई दबाउने दिन सकिएको दिन उसले आफूभित्रका गरिब क्षत्री–बाहुनलाई पनि दबाउन सक्दैन । अझ राम्रो कुरा त के हो भने, आफूभित्रका गरिब क्षत्री–बाहुनलाई दबाउन नसक्ने दिन उसले दलितलाई पनि दबाउन सक्दैन । यसबारे सोच्नुस् तपाईंहरू । समाजवाद त्यति हो, धेरै लामो लन्ठासन्ठा केही गर्नैपर्दैन । 

यो क्लास (वर्ग)लाई लिएर धेरै कुरा आउँछन् । संसारमा जहिले पनि दुइटा धारा देखिए— एउटा ‘कमिन्टर्न’को धारा अर्थात् कम्युनिस्ट इन्टरनेसनल भन्ने संस्था थियो, त्यसले के भन्छ भन्ने धारा । 

अर्को धारा कस्तो जन्मियो भने, नेपालका बारेमा त मार्क्सले केही भनेका छैनन् । हाम्रो हुम्ला वा धादिङको समाजका बारेमा त मार्क्सले केही भनेका छैनन्, तर हामी भन्छौँ— मार्क्सिजमको युनिभर्सल भ्यालिडिटी छ ।

 

पश्चिमी युरोपमा बसेर उनले गरेको पश्चिमी विश्लेषण, उनले लेखेको निबन्ध, त्यसको काम धादिङमा छ कि छैन ? ताप्लेजुङमा त्यसको काम छ कि छैन ? भोजपुरमा काम छ कि छैन ? यहाँ पनि त्यो काम लाग्छ भनेर तपाईंलाई बुझाउन मार्क्स, लेनिन, ग्राम्सी, रोजा कोही आउनेवाला छैन; त्यो काम तपाईंको हो । यो चाहिँ मार्क्सिजमको अर्को धारा हो । 

कमिटर्नको धारा एउटा भयो, त्यो अलिकति निर्धारणवादी खालको छ । त्यसले यो बुझाउँछ— आर्थिक उत्पादनले सबै कुराको निर्धारण गर्छ । 

एङ्गेल्सले ग्लोब भन्ने आफ्नो साथीलाई चिठी लेख्छन्— उत्पादन सम्बन्ध एउटै भए पनि मौसम, संस्कृति, इतिहास र भूगोलले गर्दा त्यसमा भेरिएसन आउन सक्छन् । त्यसको अभिव्यक्ति अलग–अलग हुन सक्छन् । त्यसैले मार्क्स र एङ्गेल्स निर्धारणवादी छैनन् । 

यहाँनेर एउटा खतरा के छ भने, एकातिर कमिन्टर्नले त्यही निर्धारणवादलाई बोकेर हिँड्यो । हामीलाई पनि पुष्पलालको स्कुल या मोहनविक्रमको स्कुलले त्यही पढायो । उत्पादन सम्बन्ध नै प्रमुख हो, प्रमुख त हो; जस्तो : घरको जग नै प्रमुख हो, छाना गतिलो हालिएन भने जगलाई त्यसले प्रभाव पार्छ । त्यसैले यसले उसलाई उसले यसलाई प्रभावित गरिरहेको हुन्छ, त्यही नै द्वन्द्ववाद हो ।

मौलिक क्रान्तिको कुरा गर्नेहरूका लागि दर्शनशास्त्रमा एउटा शब्द छ, ‘एक्लेक्टिसिजम’ (सारसंग्रहवाद) । यो भनेको सबै दर्शन वा विचारधाराबाट अलिअलि सार लिने, मूल चिज नसमाउने । 

बिमारी भए, रोग लाग्यो, समाजवादी आन्दोलन या कम्युनिस्ट आन्दोलनलाई रोग लागेको छ, तपाईं युवाहरूले यसलाई निरोगी बनाउने काम गर्नुपर्‍यो । 

मार्क्सले यहाँको बारेमा केही लेखिदिएका छैनन् तर मार्क्सवाद युनिभर्सल छ भन्छौँ हामी । मार्क्सले वर्गको जुन कुरा गरेका छन्, त्यसलाई सबैभन्दा प्रमुख मान्छौँ हामी । यहाँको मार्क्स खोइ त ? हामी त्यही मार्क्सका कुरा, लेनिनका कुरा दोहोर्‍याउँछौँ भने त त्यो ‘रोट लर्निङ’ हुन्छ । यो त सुगालाई सुनाए पनि भनिदिन्छ । कण्ठ गर्न, नाम सम्झन, मिति सम्झनतिर हाम्रो पढाइ केन्द्रित भयो; यसले आतंक मच्चाइदियो । ‘प्यारारोट लर्निङ’, ‘रोट लर्निङ’ जेमा पनि ल्याए । 

अहिले नेताप्रति मान्छेको आक्रोश देखिन्छ । हिजो माओवादी आन्दोलनलाई लिएर संसारभरि चर्चा थियो, नेपालले आन्दोलनलाई अगाडि लाँदै छ, नेपालले एउटा डरलाग्दो एसियाको लेनिन जन्माउँदै छ । हिजो लेनिन हुन हिँडेकाहरू, आज एसियाको लेनिन हुन छाडेर चरेसको कुरा, गाँजाको कुरा, सुनको कुरा कुन्नि केको कुरा आउनु भनेको राम्रो कुरा होइन । 

बिमारी भए, रोग लाग्यो, समाजवादी आन्दोलन या कम्युनिस्ट आन्दोलनलाई रोग लागेको छ, तपाईं युवाहरूले यसलाई निरोगी बनाउने काम गर्नुपर्‍यो । 

यस्तो बेला ग्राम्सीलाई तानेर ल्याएर माओसँग लडाइदिने, माओलाई लगेर चे ग्वेभारासँग लडाइदिने पक्षमा म छैन । मैले उनीहरूको दृष्टिकोणलाई हेर्छु । चे ग्वेभारा बेग्लै ठाउँमा काम गर्दै थिए, माओ बेग्लै ठाउँमा र लेनिन बेग्लै ठाउँमा काम गर्दै थिए । 

लेनिनले मार्क्सवादको संशोधन गर्ने जुन आँट गरेका थिए, त्यसलाई म संशोधन नै भन्छु । हुन त कम्युनिस्टले संशोधन शब्द मन पराउँदैनन्, गाली गरेजस्तै हो । चोर–डाँका भन्दिए बरु रिसाउँदैनन् संशोधनवादी भनिदिए पुग्छ ।

जेहोस् लेनिनले संशोधन गरेकै हो र संशोधन गर्नैपर्छ । किनभने मार्क्सिजम् इज इम्पिरिकल साइन्स, त्यसो हुनाले यसमा संशोधन गरिरहनुपर्छ । तर लेनिनले यति डरलाग्दो संंशोधन गरेका छन् कि संशोधन गरेकैमा उनले गाली खाएका छन् । लेनिनले मार्क्सको कुरालाई विश्वव्यापी बनाउन लागे । 

मार्क्सको रचनामा किसानको कुनै भूमिका छैन । पश्चिमी युरोपभन्दा बाहिर मार्क्स धेरै गएकै छैनन् । त्यतिबेला वरिपरि डरलाग्दा घटना भइरहेका थिए । वाम अमेरिका बनाउन पनि आन्दोलन चलेको थियो, त्यसमाथि मार्क्सको केही दृष्टिकोण आएको छैन ।

भारतमा म्युटिनी (सैनिक विद्रोह भइरहेको थियो, स्वतन्त्रता संग्रामको जग बसेको थियो । हाम्रा कवि भानुभक्तको ध्यान भने गजाधर सोतीकी पत्नी अलच्छिनी भएकातिर थियो । कहाँ के हुँदै छ भन्ने भानुभक्तलाई थाहा भएन । 

हाम्रो कम्युनिस्ट पार्टी पनि त्यही करोडवालामा गएको छ, यता हेरे पनि कम्युनिस्ट, उता हेरे पनि कम्युनिस्ट तर भएको केही छैन; केही चेन्ज गर्न नसक्ने, केही प्रतिरोध गर्न नसक्ने ।

जेहोस् मार्क्सिजमलाई संशोधन गर्न सकिएन भने, त्यसमा केही थप्न सकिएन भने, लेनिनमाथि पनि केही संशोधन हाल्न सकिएन भने चल्दैन । लेनिनले संगठनात्मक सिद्धान्त बनाएर क्रान्ति गरेर देखाइदिए, उनीसँग बोल्सेभिकमा १० हजार मानिस पनि थिएनन्, रुसको त जनसंख्या १५ करोड थियो भनिन्छ । त्यत्रो जनसंख्या भएको देशमा १० हजार मानिस लिएर बोल्सेभिक क्रान्ति गरे, उनले गरेको अक्टोबर क्रान्तिले विश्वलाई अहिले पनि हल्लाइरहेको छ । 

त्यही लेनिनको देशमा जब कम्युनिस्ट पार्टीको सदस्यको संख्या एक करोड पुग्यो, त्यसपछि पोलिटब्युरोका सदस्यहरूलाई टाई समातेर जनताले सडकमा घिसारे, बचाउन कोही आएनन् । 

हाम्रो कम्युनिस्ट पार्टी पनि त्यही करोडवालामा गएको छ, यता हेरे पनि कम्युनिस्ट, उता हेरे पनि कम्युनिस्ट तर भएको केही छैन; केही चेन्ज गर्न नसक्ने, केही प्रतिरोध गर्न नसक्ने । विद्यार्थीदेखि सबैलाई कम्युनिस्ट पार्टीले कज्यायो । यी विद्यार्थीलाई आन्दोलन वा कुनै गतिविधि गर्ने होइन भन्यो भने भन्छन्— हाम्रो इन्चार्जले अलि भ्याउनुभएको छैन । 

इन्चार्जमा मभन्दा बुढो मान्छे कोही होला । मैले जबर्जस्ती रूपमा आफ्नो पार्टीभित्र राख्दै आएको छु कि जनवर्गीय संगठनहरूलाई स्वायक्त राख्नुपर्छ । पद्मकन्या कलेजमा सभापति कसलाई बनाउने भन्ने कुरा जुँगा फुलिसकेका बुढाहरू बसेर निर्णय गर्ने कुरा होइन । 

ल क्याम्पसले के आन्दोलन गर्ने, आरआर क्याम्पसले के आन्दोलन गर्ने, विश्वभाषाले के मुद्दामा आन्दोलन गर्ने भन्ने कुरा विद्यार्थीले निर्णय गर्नुपर्छ । विद्यार्थीले जान्दैनन् भन्दाभन्दै हिँड्नै नसक्ने भए । 

हाम्रा किसान आत्मदाह गर्न तयार छन्, दुध पोख्न तयार छन्, तर आन्दोलन गर्न तयार छैनन् । २५–३० वर्ष भयो, मैले विद्यार्थीले आन्दोलन गरेको सुनेको छैन । लेनिनको जुन संगठनात्मक सिद्धान्त छ, त्यो सिद्धान्तलाई संशोधन गर्नुपर्नेछ, परिवर्तन गर्नुपर्नेछ, तर सिस्टममा । लेनिनले एउटा सिस्टम दिएका छन्, लेनिनको त्यो सिस्टमलाई रिप्लेस गर्ने अर्को लेनिन चाहिएको छ । 

(शनिबार राजधानीमा आयोजित ‘विचार उत्सव’मा भएको ‘समाजवादको सकस’ विषयक बहसमा माओवादी नेता तथा विश्लेषक राम कार्कीले व्यक्त गरेका धारणाको सम्पादित अंश ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राम कार्की
राम कार्की

राम कार्की पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता हुन् ।

लेखकबाट थप