आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई

आइतबार, ३१ जेठ २०८३, १४ : ००
आइतबार, ३१ जेठ २०८३

सारांश

  • पोखरा कलेज अफ म्यानेज्मेन्ट (पीसीएम) द्वारा आयोजित प्रथम पिसिएम कप प्लस टु छात्र तथा छात्रा बास्केटबल प्रतियोगिताको उपाधि एमिसीले जितेको छ।
  • एमिसीले छात्र र छात्रा दुवैतर्फको फाइनल खेल जित्दै दोहोरो उपाधि हासिल गरेको हो।
  • प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ ६ गरी कुल ३० टोलीले सहभागिता जनाएका थिए।

पोखरा । पोखरा कलेज अफ म्यानेज्मेन्ट (पीसीएम) द्वारा आयोजित प्रथम पिसिएम कप प्लस टु छात्र तथा छात्रा बास्केटबल प्रतियोगिताको उपाधिमा टिम एमिसीले क्लिन स्वीप गरेको छ। 

एमिसीले प्रतियोगिताको दुवै विधा अर्थात् छात्र र छात्रातर्फको फाइनल खेल जित्दै दोहोरो उपाधि आफ्नो पोल्टामा पारेको हो।

नदीपुरस्थित पोखरा कलेज अफ म्यानेज्मेन्टकै बास्केटबल कोर्टमा भएको छात्रतर्फको फाइनल भिडन्तमा एमिसीले साझापानी ‘बि’ लाई स्तब्ध पार्दै प्रथम स्थान हासिल गर्यो। त्यसैगरी, उत्साहजनक बनेको छात्रातर्फको फाइनल खेलमा पनि एमिसीले टिम मुस्कानलाई पराजित गर्दै च्याम्पियन बन्ने गौरव प्राप्त गर्यो। प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ ६ गरी कुल ३० टोलीको सहभागिता रहेको थियो।

उपाधि जितेसँगै छात्रतर्फ प्रथम भएको एमिसीले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पार्यो। उपविजेता बनेको साझापानीले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। यता छात्रातर्फ पहिलो स्थान हासिल गरेको एमिसीले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बनेको टिम मुस्कानले नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ।

‘च्याम्पियन फर टुडे, लिडर्स फर टुमारो’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस प्रतियोगिताको कलेजकी प्राचार्य लिना नेगी श्रेष्ठले रेफ्रिलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेकी थिइन्। सो अवसरमा उनले युवाहरूको नेतृत्व विकास तथा विद्यार्थी मैत्री गतिविधिहरूलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ कलेजले यो प्रतियोगिता आयोजना गरेको बताएकी थिइन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप