६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
सारांश
- साकिर मोबाइल नामक फेसबुक र टिकटक अकाउन्टबाट ६५ हजार रुपैयाँमा आईफोन-१५ प्रो म्याक्स दिने विज्ञापन देखाएर करिब २ सय जना ठगिएका छन्।
- प्रहरीले यस ठगी धन्दामा संलग्न दिलीप तामाङ र आशुतोष ओलीलाई पक्राउ गरेको छ, जसले भिडियो सम्पादन गरेर सस्तो मूल्यको विज्ञापन बनाउँथे।
- आरोपीहरूले क्रिप्टो कारोबार र सट्टेबाजीमा प्रयोग हुने क्यूआर कोडमार्फत रकम लिने र ठगेको रकम खर्च गरिसकेको प्रहरीले जनाएको छ।
काठमाडौँ । ‘साकिर मोबाइल’ नामको फेसबुक र टिकटक अकाउन्टमा निकै सस्तो मूल्यमा आईफोन पाइने विज्ञापन आयो। काठमाडौँमा एउटा कम्पनीमा काम गर्ने एकजना व्यक्तिले ६५ हजार रुपैयाँमा आईफोन–१५ प्रो म्याक्स पाइने उक्त विज्ञापन हेरे।
अनि, त्यही विज्ञापनमार्फत उनी विक्रेताको सम्पर्कमा पुगे। विज्ञापनमा सो मोबाइल पसल कपिलवस्तुको तौलिहवामा रहेको उल्लेख गरिएको थियो।
किन्न चाहने ती व्यक्तिले सोधे, ‘मोबाइल कसरी र कहिलेसम्म पाउँछु ?’ उताबाट जवाफ आयो, ‘हाम्रो सामान कुरियरमै गइरहेको हुन्छ, क्यूआरमा रकम पठाइदिनुहोला, भोलि बेलुकासम्म सामान पाउनुहुन्छ।’
बिक्रेताले मोबाइल बैंकिङमार्फत पैसा पठाउँदा राम्रो हुने बताएपछि ती व्यक्तिले ६५ हजार रकम ट्रान्सफर गरिदिए। तर, भोलिपल्ट मोबाइल कहाँ आइपुग्यो भनेर सम्पर्क गर्न खोज्दा बिक्रेताले उनलाई ब्लक गरिसकेका थिए।
पीडितको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँले यसरी ‘साकिर मोबाइल’ पसलको आवरणमा ठगी धन्दा चलाउने दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–४ घर भई काठमाडौँ बस्ने २१ वर्षीय दिलीप तामाङ र बिर्तामोड–३ घर भई काठमाडौँ बस्ने २३ वर्षीय आशुतोष ओली छन्।
२५६ जीबी क्षमताको आईफोन–१५ प्रो म्याक्स त्यति सस्तो मूल्यमा अन्यत्र नपाइने हुनाले प्रलोभनमा परेर ती व्यक्ति ठगिएका हुन्। ग्राहकलाई झुक्याउन आरोपीहरूले मोबाइल सेट ‘नखोलिएको’ भनेर दाबी गर्ने गरेका थिए।
ठगीमा संलग्न आरोपीहरूले काठमाडौँको ताम्राकार कम्प्लेक्सका मोबाइल विक्रेताहरूले आफ्नो फेसबुकमा हालेको मोबाइलको विज्ञापन भिडियो भिडियो सम्पादन एप ‘क्याप कट’ मार्फत सम्पादन गरी भ्वाइस ओभर गर्ने गरेका थिए। अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘भिडियो सम्पादन गरेर महँगो मूल्य भनेको ठाउँमा थोरै मूल्य उल्लेख गरी आफ्नो पेजमा राख्ने गरेका थिए। सस्तो मूल्य र होम डेलिभरी हुने विज्ञापन देखेर पीडितहरू प्रलोभनमा पर्ने गरेका थिए।’
कतिपय विदेशमा बस्नेहरूले नेपालमा आफ्ना आफन्तलाई ‘सरप्राइज’ दिन भनेर पनि साकिर मोबाइलको फेसबुक र टिकटक मार्फत सम्पर्क गर्ने गरेको भेटिएको छ। घटनाबारे अनुसन्धान गरिरहेका जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृत भन्छन्, ‘आरोपीहरूले सुरुमा सबै रकम भुक्तानी गर्न आग्रह गर्ने, त्यसो नभए पनि ५० प्रतिशत रकम अग्रिम भुक्तानी नगरी मोबाइल होल्ड गर्न नमिल्ने भन्दै रकम डिपोजिट गर्न लगाउने गरेको भेटिएको छ।’
- अपार्टमेन्टमा बास, घुमाएर भुक्तानी
आरोपीहरू तामाङ र ओली मासिक ७५ हजार भाडा तिर्नेगरी बौद्धस्थित अपार्टमेन्टमा बस्दै आएका थिए। तर, उनीहरू जेठ २६ गते ठमेलबाट पक्राउ परेका हुन्। ठमेलको एउटा होटलमा बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए।
मोबाइल बेच्ने आवरणमा उनीहरूले घुमाउरो बाटोबाट रकम लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। आरोपीहरूले क्रिप्टो कारोबार र सट्टेबाजी गर्नेहरूले प्रयोग गर्ने क्यूआर कोड मागेर त्यसमा पीडितहरूलाई रकम हाल्न लगाउने गरेका थिए। पीडितहरूले रकम हालेको यकिन भएपछि क्रिप्टो कारोबारी र सट्टेबाजहरूलाई निश्चित कमिसन दिएर उनीहरूले आफ्नो खातामा ‘यूएसडीटी’ ट्रान्सफर गर्न लगाउने गरेको अनुसन्धानबाट थाहा भएको छ।
हाम्रो बजारमा बायनान्स एपमार्फत भुक्तानी गर्ने साइटहरू भेटिन्छन्। त्यसमा मान्छे खोजेर उनीहरूले भनेको खातामा रकम हाल्न लगाउने र ती खाता सञ्चालकलाई कमिसन दिएर यूएसडिटीमा रकम लिई ठगी गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्।
यसमा ‘वानएक्स बेट’ र ‘बायनान्स एप’ मार्फत क्रिप्टो कारोबार गर्नेहरूलाई आरोपी तामाङ र ओलीले प्रयोग गर्ने गरेको भेटिएको छ। अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘बायनान्स एपमार्फत कारोबार गर्नेले यी आरोपीलाई क्रिप्टो वा यिनीहरूले भनेको बैंक खातामा रकम ट्रान्सफर गरिदिन्छन्।’ वानएक्स बेटमार्फत सट्टेबाजी खेल्नेहरूको खातामा रकम हाल्न लगाएर ठगी धन्दा चलाएको हुनाले अनुसन्धान पनि जटिल बनेको प्रहरी अधिकृतहरू बताउँछन्।
आरोपीहरूले अहिलेसम्म करिब २ सय जनालाई ठगेको अनुसन्धानबाट खुलेको छ। एसपी भट्टराईका अनुसार मोबाइलको रकम भुक्तानीको नाममा अहिलेसम्म करिब २ सय व्यक्तिहरूबाट रकम लिएको उनीहरूले स्वीकार गरेका छन्।
ठगेको रकम उनीहरूले सबै खर्च गरिसकेको प्रहरीको भनाइ छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनीहरूको खातामा रकम फेला परेको छैन। अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘आरोपीहरू बस्ने अपार्टमेन्ट र बैंक खातामा रकम भेटिएको छैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा लग्जरी कर उपयुक्त छैन : गगन थापा
-
ओलीले शपथ लिँदा ‘त्यो पर्दैन’ भनेर पन्छाएको विषयमा परेको रिट खारेज
-
विजय गच्छदारले भने, ‘सिध्याइदिने अरे...’
-
यामाबुद्ध स्केट पार्कमा नवौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप
-
उजुरीकै भरमा हतकडी लगाएर हिरासतमा राख्नु कति जायज हो ?
-
बागमती प्रदेशसभा : पुरातात्त्विक सामग्रीको खोजी गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण