सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

फ्रान्सेली प्रतिद्वन्द्वीलाई हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा

शुक्रबार, २८ वैशाख २०८१, १० : १७
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । इटालियन क्लब एटलान्टा युरोपा लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । एटलान्टाले बिहीबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा फ्रान्सेली प्रतिद्वन्द्वी मार्सेलीलाई ३–० गोलले हरायो ।

उक्त नतिजापछि एटलान्टा ४–१ कुल गोल भिन्नताका आधारमा फाइनलमा प्रवेश गरेको हो । अघिल्लो साता खेलिएको सेमिफाइनलको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेग खेल भने एटलान्टाको घरेलु मैदानमा खेलिएको थियो । 

सेमिफाइनलको दोस्रो लेग खेलमा एटलान्टाले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । खेल सुरु भएको ३०औँ मिनेटमा घरेलु टोली एटलान्टाका लागि एडमोला लुकम्यानले पहिलो गोल गरेका थिए । 

सोही गोलका कारण पहिलो हाफमा एटलान्टा अगाडि रह्यो । निर्धारित समयको ५२औँ मिनेटमा एटलान्टाका लागि माटियो रुगेरीले दोस्रो गोल थपेका थिए । टोलीका लागि तेस्रो गोल भने इन्जुरी समयको चौथो मिनेटमा अल बिलाल टुरेले गरेका थिए । उनी परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका थिए । 

एटलान्टाले अब फाइनलमा उपाधिका लागि जर्मन क्लब बायर लेभरकुजनसँग भिडन्त गर्नेछ । बायर लेभरकुजन भने बलियो इटालियन प्रतिद्वन्द्वी रोमालाई हराउँदै युरोपा लिगको फाइनलमा पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप