सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादी केन्द्रको विशेष महाधिवेशन अझै अनिश्चित, विधान कार्यान्वयनमा समस्या

शुक्रबार, २८ वैशाख २०८१, २३ : ००
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को विशेष महाधिवेशन अझै अनिश्चित भएकाे छ । २०७८ पुस तेस्रो साता काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर महाधिवेशन भएको दुई वर्ष बितिसक्दा पनि विशेष महाधिवेशनको तिथि मितिको कुनै टुंगो नलागेको हो ।

प्रथम राष्ट्रिय सम्मेलनलाई रूपान्तरण गरी महाधिवेशन गरेको माओवादीले पार्टीभित्रको विवाद थामथुम पार्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ६ महिनाभित्र विधान अधिवेशन र विशेष महाधिवेशन गर्ने घोषणा गरेका थिए । 

त्यतिबेला महाधिवेशन पूर्व गर्नुपर्ने सबै प्रक्रिया सकिएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियो । गत साउन तेस्रो साता सम्पन्न केन्द्रीय समिति बैठकले मङ्सिरमा विधान अधिवेशन र फागुन–चैतमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

महाधिवेशन भएको दुई वर्षपछि फागुनको पहिलो हप्ता काठमाडौँमा विधान अधिवेशन गरी नयाँ विधान बनाएको छ । विधान कार्यान्वयनका लागि विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म कुनै तयारी नभएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । सबै प्रदेशमा नियमित अभियान सञ्चालन भइरहेका विशेष अधिवेशन गर्ने सम्बन्धमा पार्टीले पछि निर्णय गर्ने जानकारी दिए । 

‘भर्खर विधान अधिवेशन सम्पन्न भएको छ । पार्टीले नयाँ विधान पाएको छ । विधान अधिवेशन लगत्तै विशेष अधिवेशन गर्ने भनेको थियौँ । त्यसबारे छलफल भइरहेको छ । तर कहिले गर्ने भन्ने विषयमा तयारी भएको छैन’, शुक्रबार रातोपाटीसँग उनले भने । 

विशेष महाधिवेशन सम्पन्न गरेर पालिका, प्रदेश अधिवेशन गर्ने कि महाधिवेशन गरेर पालिका तथा प्रदेश अधिवेशन गर्ने भन्ने विषयमा पार्टीमा छलफल नभएको जानकारी दिए । 

महासचिव देव गुरुङले नयाँ विधान कार्यान्वयनका लागि विशेष महाधिवेशन गर्नुपर्ने भएकाले यस विषयमा पार्टीले पछि निर्णय गर्ने बताए । पार्टीका नियमित कामहरू नयाँ विधान अनुसार भइरहे पनि पार्टीका कमिटी विशेष महाधिवेशनपछि मात्र लागू हुने उनले जानकारी दिए । 

‘विशेष महाधिवेशनका लागि तयारी भइरहेको छ । सातै प्रदेशमा सदस्यता नवीकरण, सङ्गठन सुदृढीकरणका काम भइरहेको छ । तर महाधिवेशनको ठोस तिथि मिति तय भएको छैन । यस विषयमा पार्टीले पछि निर्णय गर्छ’, महासचिव गुरुङले भने । 

विधान अधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी रहेन व्यवस्था गरेको छ । पदाधिकारीको सङ्ख्या ११ जनामा सीमित गरेको छ । पदाधिकारी बाहेक सबै केन्द्रीय सदस्यहरू प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट हुने व्यवस्था रहेको छ । महाधिवेशनसम्म अहिलेकै ४०९ सदस्यीय जम्बो केन्द्रीय कमिटी कायमै रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप