सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
अदालत

व्यास नगरपालिकाका मेयरको पुनः मतगणना असार २ गते हुने

शुक्रबार, ११ जेठ २०८१, १४ : ३९
शुक्रबार, ११ जेठ २०८१

पोखरा । तनहुँको व्यास नगरपालिकाको मेयर (प्रमुख) पदको पुनः मतगणना असार २ गते हुने भएको छ । उच्च अदालत पोखराले दिएको आदेशको पूर्ण पाठमा असार २ गते बिहान १० बजेदेखि मतगणना सुरु हुने उल्लेख छ ।

यसअघि संक्षिप्त आदेशमा पुनः गणना गर्नुपर्ने फैसला गरेकोमा पूर्ण पाठमा १ महिनाभित्रै गणना गरी प्रतिवेदन पेस गर्न भनेको छ ।

‘आदेशको प्रतिलिपि साथै राखी दोहोर्याइ मतगणना गर्ने कार्य मिति २०८१ असार २ गते बिहान १० बजे सुरु हुने व्यहोरा जानकारीका लागि निवेदक तथा विपक्षी बैकुण्ठनाथ न्यौपाने तथा जिल्ला निर्वाचन कार्यालय तनहुँलाई दिनू,’ फैसलाको पूर्ण पाठमा उल्लेख छ ।

अदालतका रजिष्टार अच्युत कुईंकेलका अनुसार पूर्ण पाठको पत्राचार निर्वाचन आयोगमा भइसकेको छ । मेयरमा पराजित दीपकराज जोशीले मतगणनामा धाँधली भएको भन्दै पुनः गणनाका लागि २०७९ जेठ १२ गते रिट दायर गरेका हुन् । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय, मेयर बैकुण्ठनाथ न्यौपाने र जिल्ला निर्वाचन कार्यालय तनहुँलाई विपक्षी बनाएर रिट दिएका थिए ।

उक्त रिट उपर अदालतले भोलिपल्टै जेठ १३ गते कारण देखाउ आदेश जारी गरेको थियो । त्यसपछि विपक्षी सबैले लिखित कारण पेस गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना कानुन अनुसार नै भएको र मतपत्र दोहोरो तेहेरो पटकसम्म देखाएर सदर/बदर मतसमेत छुट्याइ मतपरिणाम घोषणा गरिएको जवाफ पठाएको थियो । जोशीको तर्फबाट बहस गर्ने वकिलहरूले मतगणनाको समयमा सर्वदलीय, सर्वपक्षीय सहमति नगरी मनोमानी गरिएको आरोप लगाएका छन् ।

न्यायाधीश राजन प्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले जेठ १ गते पुनः गणनाको फैसला गरेको हो । फैसलाको पूर्णपाठ बिहीबार तयार गरिएको छ । पुनः मतगणना गर्ने प्रयोजनका लागि सबै कागजात सहितको सिलबन्दी मतपत्र झिकाइ लाग्ने खर्च व्यवस्थापन निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालयले गर्नुपर्ने छ । अदालतले पुनः मतगणनाको प्रतिवेदन इजलासमा पेस गर्न भनेको छ भने प्राप्त फाइल र सिलबन्दी मतपत्र सम्बन्धी सबै कागजातहरू पुनः सम्बन्धित कार्यालयमा पठाउन आदेश दिएको छ ।

व्यासको चुनावमा निकै रस्साकस्सी थियो । मत परिणाम अनुसार नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपानेले जोशीलाई २ सय ५२ मत अन्तरले पराजित गरेका थिए । न्यौपानेले १२ हजार ७८ मत ल्याउँदा जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए । जोशी कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा हुन् । जोशी परिवार तनहुँमा कांग्रेसविरुद्ध उभिँदै आएको छ । त्यसैले स्थानीय निर्वाचनमा जोशीलाई एमालेले समर्थन गरेको थियो ।

अदालतले खुट्याएका गणनाका खोटः

१. जोशीले मतगणना कार्य कानुन विपरीत भएको दाबी गरेका छन् । उक्त दाबीमा उच्च अदालतले उम्मेदवार नभएको कोठामा समेत मत सङ्केत परेको र त्यसको गणना गरेको भनेको छ । अनुसूचीको फारममा उम्मेदवार नै नरहेको निर्वाचन चिह्नमा परेको मतको समेत गणना गरिएको तर एकीकृत फारममा उक्त प्राप्त मत उल्लेख गरेको नदेखिएकाले ती मत के भएको हो भन्ने उल्लेख नगरेको भनेको छ ।

२. स्थानीय तह निर्वाचन (मतगणना) निर्देशिका बमोजिम प्रत्येक उम्मेदवारले प्राप्त गरेको मत अनुसूची–५६ बमोजिमको मतगणना फारममा चढाउनु पर्ने उल्लेख गरेको छ । अदालतमा पेस गरिएको फारममा धर्का तानेर उम्मेदवारले प्राप्त गरेको मतलाई अङ्कित गरिएको भए पनि बदर मत उल्लेख नगरेको भनेको छ ।

३. एकीकृत मतगणना फारममा बदर मत संख्या भनेर उल्लेख गरे पनि त्यसको पुष्टि हुन नसकेको अदालतले उल्लेख गरेको छ । बदर मत भनी उल्लेख गरेको सङ्ख्या र परिणाम प्रकाशन गर्दा बदर मत भनी उल्लेख गरेको सङ्ख्या एक आपसमा मेल नभएको अदालतले जनाएको छ । एकै वडाबाट नगर प्रमुखको पदको लागि खसेको मत बदर र पूर्ण बदर भएको तथ्याङ्क फरकफरक ठाउँमा फरकफरक उल्लेख भएकाले गणना रितपूर्वक नभएको आशङ्का अदालतको पूर्ण पाठमा गरिएको छ ।

४. मतगणना सम्बन्धी फारम र एकीकृत मतगणना फारमलाई एक अर्कासँग भिडाउँदा, व्यास नगरपालिका वडा १० को १००१ देखि ११०० सम्मको मतगणना फारममा जोशीले ३० मत प्राप्त गरेको देखिएको छ । उक्त मत एकीकृत फारममा समावेश नभएको र त्यो मत जोशीको कुल मतमा जोडेको नदेखिएको अदालतले भनेको छ ।

५. वडा नम्बर ४ को एकीकृत मतगणना फारममा ५०० मतपत्र गणना गर्दासम्मको भनी विभिन्न निर्वाचन चिह्नहरूमा जम्मा ४५३ मत उल्लेख भएको देखिन्छ । त्यस फारममा बदर मतको हरफमा कुनै अङ्क उल्लेख भएको छैन । गणना गरिएको ५०० मतमा नपुग मत ४७ के भएको भन्ने नखुलेको अदालतले जनाएको छ ।

वडा नम्बर १० को मतगणनामा जम्मा खसेको मत ३०४२ र उम्मेदवारहरूले २५६७ मत प्राप्त गरेको तथा ४७५ बदर मत भनी उल्लेख गरिएको छ । त्यस वडाको मतगणना फारममा गणना भइ जम्मा ११६ बदर मतलाई धर्का तानी गणना गरिएको देखिएको छ । बदर मत भनी उल्लेख भएको ४७५ मत पुष्टि हुन नसकेको अदालतले उल्लेख गरेको छ ।

६. स्थानीय तहको निर्वाचनमा एउटै मतपत्रमा नगरपालिकाका विभिन्न पदको निर्वाचनका लागि मत सङ्केत गर्ने व्यवस्था छ । पदका आधारमा मतगणना गर्दा कुनै पदको मत सदर हुने र कुनै पदको मत बदर हुन सक्ने व्यवस्था उल्लेख छ । तर व्यास नगरपालिकाको प्रमुख पदमा सम्पूर्ण वडाहरुबाट जम्मा ३० हजार १८३ मत खसेको देखिएकोमा मेयरका उम्मेदवारहरूले २५ हजार ५९५ मत प्राप्त गरेको र ४ हजार ५८८ मत बदर भएको उल्लेख छ । बदर मत मतगणना सम्बन्धी अनुसूची–५६ को फारममा उल्लेख भएको बदर मतसँग नमिलेको अदालतले जनाएको छ ।

यस्तै, उम्मेदवारले पाएको मत र बदर मतको संख्याले जम्मा खसेको मत भनी उल्लेख भएको ३० हजार १८३ मत पूरा भएको अवस्थामा पूर्ण बदर मत भनी ४ सय ४५ मत उल्लेख गरिएकाले सबै जोड्दा खसेकोभन्दा बढी मत आएको छ । त्यसैले मतगणनाको काम कानुन बमोजिम नभएको अदालतको ठहर छ ।

७. अदालतले व्यासको मतगणना प्रावधानको पालना नगरी भएको भनेको छ । मतगणना फारममा उल्लेख गर्नुपर्ने सम्पूर्ण व्यहोरालाई प्रस्ट रुपमा उल्लेख नगरेको, कति मत बदर र कति मत पूर्ण बदर भएका भन्ने हिसाब नराखेको, एकीकृत मतगणना फारम र सो फारममा समेत निवेदकले प्राप्त गरेको कुल मतसङ्ख्या जोड नगरेको भनेको छ । विभिन्न फेहरिस्त हेर्दै उच्च अदालतले मतगणना रितपूर्वक नभएको दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप