भिनिसियस चम्किँदा ब्राजिलको सहज जित
काठमाडौँ । भिनिसियस जुनियरको दुई गोलको मद्दतले ब्राजिलले पाराग्वेमाथि शानदार जित हासिल गरेको छ । शनिबार भएको खेलमा ब्राजिल ४–१ गोलले विजयी बनेको हो ।खेलमा ब्राजिलको सुरुवात भने राम्रो हुन सकेन । ३१ औँ मिनेटमा लुकास पाकेटा पेनाल्टीबाट गोल गर्न चुकेका थिए ।
तर, ४ मिनेटपछि नै भिनिसियसले पाकेटाकै पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफको ४३ औँ मिनेटमा साभियोले टोलीको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा भिनिसियसले टोलीका लागि तेस्रो गोल थपे ।
दोस्रो हाफको सुरुवातमा नै ओमार अल्डेर्टेले पाराग्वेका लागि गोल फर्काए । तर, ६५ औँ मिनेटमा पाकेटाले दोस्रो प्रयासमा पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए ।
खेलको ८१ औँ मिनेटमा आन्द्रेस कुबासले रातो कार्ड पाएपछि पाराग्वे १० खेलाडीमा सीमित बन्यो । त्यसपछि पनि कुनै गोल हुन नसकेपछि ब्राजिलले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
प्रतियोगितामा ब्राजिलको यो पहिलो जित हो । पहिलो खेलमा टोली बराबरीमा रोकिएको थियो । २ खेलपछि ब्राजिल ४ अङ्कसहित दोस्रो स्थानमा छ । ६ अङ्क बटुलेको कोलम्बिया शीर्ष स्थानमा रहेको छ । टोलीले शनिबार नै कोस्टारिकालाई हराएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण