बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

मानव बेचबिखन रोक्न स्थानीय तहदेखि नै काम गर्नुपर्छ : प्रहरी उपरीक्षक मिश्र

मङ्गलबार, १५ साउन २०८१, १० : १८
मङ्गलबार, १५ साउन २०८१

नेपालमा मानव बेचबिखन तथा ओसार प्रसारको अवस्था कस्तो छ ? विगतको तुलनामा घट्दो छ कि बढेको छ ?

व्यूराको अध्ययन अनुसार पछिल्लो समयको तथ्याङ्क अनुसार मुद्दा दर्ता, उद्धार, अपरेसन र कारबाही गरेको अवस्था हेर्ने हो भने मानव बेचबिखनको अपराधमा संलग्नलाई पक्राउ गरेको अवस्था हेर्दा वृद्धि भएको छ । प्रहरीको एक्सन बढेसँगै अपराध पनि धेरै दर्ता र पक्राउ भएको अवस्था छ । उद्धार पनि धेरै भएको देखिन्छ । नयाँ ट्रेन्ड हेर्दा आन्तरिक र बाह्य दुई तरिकाले बेचबिखन भएको पाइन्छ । आन्तरिक रूपमा हेर्ने हो भने मनोरञ्जनको क्षेत्रमा, होटेल र रेस्टुरेन्ट मसाज व्यूटिपार्लर जस्ता ठाउँहरूमा कामदारको रूपमा राखेर चेलीबेटीहरूमाथि मानव बेचबिखन भएको देखिन्छ । यसरी व्यवसायको आवरणमा मानव बेचबिखन भइरहेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा हेर्दाखेरि नयाँ ट्रेन्ड के देखिरहेको छ भने बेरोजगारीको अवस्था र देशको आर्थिक अवस्था प्रमुख कारण देखिएको छ । देशमै भएको रोजगारी पनि भरपर्दो देखिँदैन । खेतीपातीमा संलग्न भएकाहरू त्यसलाई छाड्ने, चाँडो र सजिलै कसरी पैसा कमाउन सकिन्छ भन्ने सोच राख्ने कारण वैदेशिक रोजगारीमा गएको देखिन्छ । समस्या के भयो भने अहिले वैदेशिक रोजगारीको नाममा विभिन्न ठगहरू देखा परे । ठग र तस्करीको सञ्जाल बनाउने भए । यिनीहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सञ्जाल बनाइसकेपछि फ्रि भिजा फ्रि टिकट भनेर हाम्रा चेलीहरूलाई विशेषगरी खाडी मुलुकमा लगेर घरेलु कामदारका रूपमा मानव बेचबिखन गर्ने गरिरहेका छन् । 

कामदार चाहिएकाले आएर बार्गेनिङ गरेर किनबेच गर्ने गरिरहेका छन्  । लिएर गएपछि घरभित्र नै उनीहरूलाई यौन शोषण गर्ने गरेको पाइन्छ । बन्धक बनाउने परिवारसँग सम्पर्कविहीन गराइदिने र वेश्यावृत्तिमा लगाइदिने जस्ता कामहरू गराइएको पाइन्छ । 

यतिमात्र होइन खाडी मुलुकको समस्या यस्ता छन् भने, थाइल्यान्ड, म्यानमार जस्ता देशहरूमा नेपालीहरू साइबर स्क्याइमिङको गर्ने जस्ता अपराधमा संलग्न भइरहेको देखिन्छ । तस्करहरूले एक हजारदेखि १५ सय डलरमा महिनाको कमाई हुन्छ भनेर लिएर गएर बन्धक बनाएर काम गराइरहेको अवस्था छ । अन्य विभिन्न बहानामा घुम्न जाने, सेमिनारमा जाने बहानामा सांस्कृतिक टोली लैजाने बहानामा पनि मानव बेचबिखन भइरहेको छन् । अहिले स्वरूप परिवर्तन भएता पनि अपराध बढेको जस्तो देखिन्छ । मानव बेचबिखनको मुद्दाहरू चलाउने कुरामा पनि प्रहरीहरूको एकदमै सक्रिय भूमिका छ । 

मुद्दाको अनुपात घटेर मानव बेचबिखनको मात्रा पो बढेको छ कि ?

ब्युरो स्थापना भएदेखि नै आजको दिनसम्म एक हजार सातवटा मुद्दा दर्ता भएका छन् । त्यसमा लगभग २१ सय जना अपराधी चाहिँ पक्राउ परेका छन् । कानुनको दायरामा ल्याइएका छन् । करिब २५ जना उद्धार भएका छन् । अझै पनि हाम्रो मानव बेचबिखनका सबै मुद्दाहरूलाई कानुनको ढोकासम्म ल्याइपुर्याउन सकेको अवस्था भने छैन । त्यो भनेर पीडित प्रेरित भएर प्रहरीको ढोकासम्म आएको अवस्था छैन । सामाजिक च्यानलहरूमा नै वार्ताबाट मुद्दाहरू मिलाउने पुलिसकहाँ आई नपुग्न सूचना नै आई नपुग्ने पनि हुन्छ । उद्धार भएर आइसकेपछि रिस मर्दै गएर पैसा लिएर प्रहरीलाई फोन नै नगर्ने, प्रहरी रिपोर्टमा आऊ भन्दा भाग्ने गरेको अवस्था पनि छ । तर मानव बेचबिखनको अवस्था विकराल नै छ । यसलाई सबै मिलेर नियन्त्रण गर्नुपर्छ । 

मानव बेचबिखन विरुद्धको यो मुद्दाहरूमा अथवा यसलाई न्यूनीकरण गर्नका लागि प्रहरीले के कस्तो काम गरिरहेको छ ? डाटा हेर्दा नेपालको कुन भागबाट धेरै मानव तस्करी भएको पाइएको छ ?

प्रहरीले यस विषयमा जनचेतनामूलक कार्यक्रमहरू पनि गरेको छ । जिल्ला प्रहरी कार्यालयहरू र चौकीसस्तरसम्म जनचेतनामूलक कार्यक्रमहरू गरेका छौं । समुदाय प्रहरी साझेदारी भन्ने कार्यक्रम पनि रहेको छ । साझेदारी कार्यक्रममार्फत मानव बेचबिखनको विषयलाई लिएर विद्यालयहरूमा पनि पुगेको अवस्था छ । पुलिस शिक्षकको नियुक्ति गरेर अगाडि बढेको छ । पालिका स्तरसम्म साझेदारी कार्यक्रमहरू सञ्चालन गरेको अवस्था छ । मानव बेचबिखन सम्बन्धी विभिन्न ठाउँमा डिजिटल बोर्डहरू राखेर सूचना प्रवाह गर्ने गरेका छौँ । 

देशको कुन भागमा धेरै मानव बेचबिखन हुन्छ भन्ने कुरामा सबैभन्दा बढी काठमाडौँ र काठमाडौँमा जोडिएका पहाडी जिल्लाहरूमा र मकवानपुर, धादिङ नुवाकोट, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र उदयपुर अलि बढी प्रभावित देखिन्छन् । युरोप अमेरिकाको हिसाबले हेर्दा सल्यान, रुकुम, रोल्पा,दाङमा बढी प्रभावित देखिन्छ ।

मानव बेचबिखन तथा ओसार पसारको मुद्दामा कति व्यक्तिहरूको तपाईँहरूको नियन्त्रणमा हुनहुन्छ ? कस्ता मुद्दा बढी छन् ?

पाँच वर्षमा जम्मा एक हजार चारवटा मुद्दा दर्ता भयो । त्यो मध्य २१ सय २२ जना पक्राउ परे । पीडितको सङ्ख्या १४ सय ४२ छ । अझै पनि सातसय ७९ जना अहिले पनि फरार सूचीमा छन् । तिनीहरू देश बाहिर भएको अवस्था छ । तिनीहरूलाई पनि विभिन्न माध्यमबाट समात्ने ल्याउने कोसिस भइरहेको छ । मुद्दाहरूको अवस्था हेर्दा सबैभन्दा बढी वैदेशिक रोजगारमा जाने र भिजिट भिसाको दुरुपयोग भएको पाइन्छ । श्रम स्वीकृति नपाइने ठाउँहरूमा त्यस्तो ठाउँमा भिजिट भिसाको आवरणमा पठाएर मानव बेचबिखनमा परेर फर्किएका महिलाहरू धेरै हुनुहुन्छ । 

पहिला खुल्ला सिमाना भएको कारण मानव तस्कर हुन्छ भन्ने गरिन्थ्यो अहिले त्यो सिफ्ट भएर वैदेशिक रोजगारसम्म पुगेको हो ?

पहिलेको कुरा गर्दा नेपालमा धेरै मानव तस्करी चाहिँ भएको हो । विदेशमा खासै मानव तस्करी भएको पाइँदैनथ्यो, अलि अलि बिहे गरेर लैजाने घटनाहरू थियो । तर अहिले लक्ष्य भारत त छँदै छ तर अरू देशहरू जस्तै खाडी मुलुकहरू र पूर्वीय देशहरू पनि टार्गेट भएका छन् । खुल्ला सीमा त अहिले पनि चुनौती नै छ ।खाडी पुर्‍याइएका मान्छेहरू पनि हाम्रो खुल्ला सिमानाबाट भारतका विभिन्न एरपोर्टहरुबाट उडेर त्यहाँ पुगेको देखिन्छ । खुल्ला सिमाना हाम्रो लागि चुनौती नै छ । मानव बेचबिखन ओसारको मुख्य पोइन्ट भनेको हाम्रो खुल्ला सिमाना नै हो । सिमानामा विभिन्न सुरक्षा निकाय भए पनि यतिले मात्र रोक्न सक्ने अवस्था छैन । किनभने हाम्रो सबै ठाउँमा सिमाना छ हिड्दा हिड्दैँ भारत पुगिन्छ । कहाँ नेपाल कहाँ भारत पिलर नभएको ठाउँमा त्यो पनि थाह नहुने अवस्था छ । त्यो कारणले खुल्ला सिमाना हाम्रोलागि चुनौती त छ । 

सबै काम गर्दागर्दै पनि यो घट्नुको सट्टा किन बढी रहेको छ ?

यसको जरासम्म जानुपर्छ । यसको जरा भनेको हाम्रो बेरोजगारी, अशिक्षा, गरिबी नै हो । किनभने हाम्रो आधुनिक कृषि प्रणाली लागू हुन सकिरहेको छैन । मान्छेहरू कृषि, पशुपालन व्यवसायतिर धेरै आकर्षित हुन सकेको अवस्था छैन । उद्योगधन्दा, कारखाना खोलेर यही रोजगारी सिर्जना गर्ने कामतर्फ पनि धेरै लागेका छैनन् । मान्छेहरूको लागि अहिले सजिलो के भने विदेश जाने, कमाउने, ल्याउने अथवा कोही उतै बस्ने हिसाबले जाने भए, यसको मुख्य कारण भनेको बेरोजगारी, अशिक्षा, गरिबी नै हो । रोक्न नसक्नुको मुख्य कारण पनि यही हो । 

जबसम्म नेपालमा बसेर केही गर्न सकिन्छ भन्ने भावना जागरित गराउन सकिदैँन, तबसम्म वैदेशिक रोजगारका नाममा हुने मानव बेचबिखनका अपराधहरू नियन्त्रण गर्न समस्या हुन्छ । तथापि यसमा एजेन्टहरुले छलेर, प्रलोभनमा पारेर लिएर जाने पनि हुन्छ । यो हाम्रो अशिक्षाको कारणले हुने घटना हो । यो पनि बढी रहेको छ । 

हामीले केही पनि गर्न सकेका छैनौ, भन्ने त होइन धेरैलाई कारबाहीको दायरामा ल्याएका छौ । धेरैलाई फिर्ता पनि गरिएको छ । फिर्ता गर्दागर्दै पनि प्रहरीको आँखा छलेर भाग्ने, यो राम्रो होइन, फर्किनु भनेर भन्दा पनि मेरो अधिकार हनन नगर्नु भन्ने खालको, फर्किएका मान्छे अर्को बाटोबाट जाने गरेको अवस्था छ । यसलाई रोक्नको लागि जरादेखि नै बलियो हिसाबले काम गर्नुपर्ने हुन्छ । यसमा स्थानीय सरकारदेखि केन्द्रीय सरकार सबैको समान दायित्व हुन्छ । 

सरकारले के गर्‍यो भने अथवा अनुसन्धान ब्युरोले के काम गर्दा मानव तस्करी घट्छ जस्तो लाग्छ ?

कसैले गरेको एकल प्रयासले यो रोक्न सकिँदैन। यसलाई रोक्नको लागि सबैको साझा प्रयास चाहिन्छ । नगरेको पनि होइन, सरकारले धेरै काम गरेको छ । ब्युरोले पनि गरेको छ । यसले सक्नेसम्म काम गरेको छ । यद्यपि ब्युरोको पनि ७७ जिल्ला, सात प्रदेश, प्रदेशमा विभिन्न प्रकारका समस्याहरू, अन्तर्राष्ट्रिय एयरपोर्ट पनि तीन वटा भइसकेको छ । त्रिभुवन एयरपोर्टमा नै ब्युरोको उपस्थिति छैन । काम भइरहेको भए पनि दुई तीन वटा कुरालाई सरकारले पनि ध्यान दिनुपर्छ । स्थानीय तहले पनि इन्ट्रिको व्यवस्था गर्नुपर्ने हुन्छ । आफ्नो नागरिक कहाँ छ भनेर सूचनाको एउटा अभिलेख राख्ने एउटा सिस्टम बनाउनु पर्‍यो । वडा तहदेखि विदेश जानुभन्दा अगाडि सोधपुछ गर्ने व्यवस्था गर्नुपर्ने, यसको साथै प्रदेश सरकारको समन्वयको कुराहरू हुन्छ । केन्द्रीय सरकारको नीतिगत कुराहरू छन् । मानव बेचबिखन तथा ओपारपोसार ऐनलाई संशोधन गर्नुपर्ने कुराहरू छन् ।यसमा विचार गर्नुपर्छ । 

उद्धार भएर आएका मान्छेलाई राख्नको लागि सरकारी तहको व्यवस्था गर्नुपर्छ । अहिले सङ्घ संस्थाले बनाएको ठाउँमा उद्धार भएर आएका पीडितहरू बस्नुपर्ने अवस्था छ । 

अपराधीलाई कानुनी दायरामा ल्याउनको लागि विभिन्न राष्ट्रहरूसँग एमओयू गर्नुपर्ने, कानुनी सहायताको सम्झौता गर्नुपर्ने छ । देशभित्रै राख्न सक्ने अवस्था, रोजगारी दिन सक्ने अवस्था हामीले सिर्जना गर्नुपर्छ । सबै कामहरू आफ्नो आफ्नो तहबाट गर्ने हो भने यसलाई नियन्त्रण गर्न सकिन्छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हजारौँको सङ्ख्यामा मानिस बाहिरिने गर्छन् । त्यही नै ब्युरोको पहुँच पुगेको छैन भन्नुभयो । यो त अलिक लज्जाको विषय भएन र ?

ब्युरोको टोली त्यहाँ नहुँदैमा सबै सकियो भन्ने होइन । त्यहाँ नेपाल प्रहरीको सुरक्षा युनिट छ । अध्यागमन विभाग छ । हाम्रो तत्कालका लागि त्यहाँ भूमिका छैन मात्र भन्न खोजेको हो । यसको मतलब त्यहाँ सुरक्षा निकाय छैन भन्ने होइन । हाम्रो ब्युरोको भूमिका पनि हुने हो भने उपयुक्त हुन्छ भन्ने मात्र हो । यी सबै ठाउँमा ब्युरोको विस्तार गर्नुपर्ने छ । 

मानव बेचबिखनमा परेका पीडितलाई पुरस्थापन गर्नको लागि प्रहरीले कस्तो भूमिका खेलेको छ ?

हामीले उद्धार भएर आएका जतिपनि बेचबिखनमा परेका पीडितहरू छन् उहाँहरूसँग आउने बित्तिकै परामर्श गर्छौ । गैर सरकारी क्षेत्रका संस्थाहरू छन् उनीहरुले बेचबिखनमा परेका पीडितलाई बस्नको लागि उपयुक्त ठाउँ दिने, कानुनी कामहरू गर्ने जस्ता कामहरू गर्नुहुन्छ पीडितहरू सुरक्षित महसुस नगरेसम्म अथवा बस्न चाहेसम्म त्यही राख्ने व्यवस्था गर्ने, पढाउने, सिप सिकाउने विभिन्न संस्थाहरू छन् । सबैजना मिलेर नै काम गरिरहेका छौ । सकेसम्म उहाँहरूलाई सहयोग गर्ने प्रयास गर्छौ । 

मानव बेचबिखनमा परेकाहरूको मुद्दा हेर्दा कुन केस तपाईँको लागि चुनौतीपूर्ण थियो ?

धेरै केशहरू छन् । हालैमात्र भारतमा लगेर बेच्न लागेको, हामीलाई सूचना आएको थियो । एउटा केटाले एक जना १६ वर्षकी नानीलाई बेच्न लिएर गइरहेको छ भन्ने सूचना आएको थियो । त्यसपछि हामीले प्राविधिक अनुसन्धान गर्दा चापागाँउ हुँदै हेटौडा निस्किएर जान लागेको भन्ने सूचना पाएपछि चापागाँउका प्रहरीसँग समन्वय गरेर केटालाई पक्राउ गर्न सफल भयौँ । र केटीलाई उद्धार गरेर ल्याएका थियौँ । लाने मान्छे एउटा, नेपालमा खोज्दिने एक जना र यो सँगै अर्को एक जना मान्छे पनि पत्ता लगाएका छौ । यस्ता धेरै केशहरू छन् । एकदम भावुक बनाउने केशहरू पनि छन् ।- नेपाल न्युज बैंक

प्रहरी उपरीक्षक गौतम मिश्र मानव बेचबिखन अनुसन्धान ब्युरोको प्रवक्ता समेत रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप