दुई तिहाइले थिचियो प्रदेश सभा, बैठक अझै अनिश्चित
विराटनगर । २०८१ असार ८ गते बसेर अर्को सूचना नआएसम्मका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक कहिले बस्छ भन्ने अझै अन्यौल छ । असार ८ गतेको बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट पारित भएको थियो ।
बजेट पारित भएको एक हप्तापछि केन्द्रीय समीकरणमा फेरबदल गर्दै कांग्रेस र एमाले मिलेका थिए । त्यसपछि एक्लिएको माओवादी केन्द्र प्रदेश सरकारबाट गत साउन ११ गते बाहिरिएको छ ।
सरकारबाट माओवादी बाहिरिए पनि कांग्रेस अझै सहभागी हुन सकेको छैन । सरकारमा कांग्रेस सहभागी भएपछि मात्रै प्रदेशसभा बैठक राख्ने टुङ्गो हुने प्रदेश सरकार बताउँछ ।
‘उहाँहरू (कांग्रेस)ले केही दिन प्रदेश सभाको बैठक रोकौँ भन्नुभएको छ । त्यही कारण रोकिएको हो । सम्भवतः भदौको पहिलो साता प्रदेश सभा बैठक बोलाउँछौँ,’ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार पत्रकारहरूसँग भने ।
कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजंग रायमाझीले पनि आफ्नो पार्टी सरकारमा सहभागी नभएसम्मका लागि प्रदेश सभा बैठक नबोलाएको हुनसक्ने बताए । ‘मुख्यमन्त्रीज्यूलाई पनि अप्ठ्यारो भएको होला । सरकारको मुख्य पाटर्नर दल नै सरकारमा नआइ महत्त्वपूर्ण निर्णय किन गर्नु भन्ने होला,’ उनले भने ।
कांग्रेसमा मन्त्री बन्नेहरूको नामावलीको टुङ्गो लागिसके पनि डाक्टर शेखर कोइराला पक्षबाट २ मन्त्रालय माग भएका कारण सरकारमा जान ढिलो भएको उनी बताउँछन् । ‘कांग्रेस सरकारमा गएपछि संसद बैठक पनि बोलाउने हुन्छ होला,’ उनले भने ।
उता, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले भने प्रदेश सभाको बैठक छिटो डाक्न माग गरिरहेको छ । कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कांग्रेस र एमालेको असक्षमताले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्ति, नीति कार्यक्रम र नयाँ बजेट कार्यावन्यन लगायतका विषयमा छलफल र सरकारको ध्यानाकर्षण गराउने जनप्रतिनिधिको मुख्य थलो प्रदेश सभा बन्धक भएको बताए ।
उनले प्रदेश निजामती ऐनलाई संशोधन गर्न बनेको विधेयक, तत्कालीन सरकारले केही प्रदेश ऐन संशोधन गर्न ल्याएको अध्यादेश अस्वीकृतसँगै निष्क्रिय रहेका ऐन पुनर्स्थापित गर्ने विधेयकलगायत अत्यावश्यक विधेयक प्रदेश सभामा अलपत्र परेको भन्दै तत्काल बैठक बोलाउन माग गरेका छन् ।
‘विना कुनै बहाना तत्काल प्रदेश सभा सुचारु गर्न मुख्यमन्त्री र सभामुखज्यूको गम्भीर ध्यानाकर्षण गराउँछु,’ उनले भने ।
यस्तै माओवादी केन्द्रका सांसद जीवन आचार्यले पनि दुई तिहाइ बहुमतको भारमा प्रदेश सभा थिचिएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘जनताको आवाज जनताद्वारा चुनिएका जनप्रतिनिधिद्वारा उठाउने थलो कोशी प्रदेश सभा (संसद) लामो समयदेखि बन्द छ । दुई तिहाइ बहुमतको भारमा थिचिएर रुमल्लिएको प्रदेश सरकार र सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण होस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रदेश सभामा नेकपा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रको १३, राप्रपाको (सभामुखसहित) ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद छन् । दुई पार्टीबिचको सहमति अनुसार कोशी प्रदेशमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय लिने सहमति भएको छ । तर, कांग्रेसकै आन्तरिक गुटबन्दीका कारण ४ मन्त्रालयमा नाम दिन सो पार्टीले सकेको छैन । भदौको १–२ गतेसम्ममा आफ्नो पार्टीले मन्त्रीको नाम दिइसक्ने रायमाझी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसीको अम्पायर्स प्यानलमा पर्ने पहिलो पाकिस्तानी महिला बनिन् सलिमा इम्तियाज
-
पोखरा उद्योग वाणिज्य संघ चुनाव : सदस्यको गणना सकियो (मतपरिणाम सहित)
-
मंसिर १६ गते उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव
-
आफ्नै चरित्रका कारण एमालेलाई अपूरणीय घाटा : सुदन किराती
-
एनआरएनएको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश
-
साइबर ब्युरोमा दुई महिनामा १३ सय ३५ ठगीको उजुरी