आइतबार, ३० भदौ २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्डको असन्तुष्टिपछि ‘हिंसात्मक द्वन्द्व’बाट ब्याक भए ओली

बुधबार, ३० साउन २०८१, १९ : ४४
बुधबार, ३० साउन २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले सञ्चालन गरेको जनयुद्धलाई ‘हिंसात्मक द्वन्द्व’ भनेर टिप्पणी गरेको विषयलाई सच्याएका छन् । 

बुधबार बसेको संसद् बैठकमा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीलाई लक्षित गर्दै संविधान सभाको व्याख्यात्मक टिप्पणी नभुल्न आग्रह गरेका थिए । उनले माओवादी जनयुद्धभन्दा जातै जाला जस्तो गर्ने नेताबाट प्रवृत्ति बढेको उल्लेख गरेका थिए ।

‘अहिले पनि नेताहरू बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ । माओवादी जनयुद्ध शब्द प्रयोग गर्‍यो भने जातै जाला जस्तै गर्नुहुन्छ । जबकि संविधान सभाबाट माओवादी जनयुद्ध भनेर लेखिएको छ,’ प्रचण्डको भनाइ थियो । 

साउन २३ मा ओलीले माओवादी जनयुद्धलाई ‘हिंसात्मक द्वन्द्व’को रूपमा चित्रित गरेका थिए । ‘हिंसात्मक द्वन्द्वलाई अन्त्य गरी बृहत् शान्ति सम्झौता भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा आज मुख्य दलहरूबिच सहमति भएको छ’, ओलीले सो दिन फेसबुकमा भनेका थिए, ‘संसद्को यसै अधिवेशनबाट विधेयक पारित भएपछि त्यस अनुरूपका आयोग बन्नेछन् र पीडादायी विगतलाई हामी शान्तिमा बदल्ने छौँ।’  ओलीले हिंसात्मक द्वन्द्व भनेको विषयमा त्यतिबेलै माओवादी पक्षधरले आलोचना गरेका थिए । 

यसप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले नै पनि बुधबार टीआरसी विधेयकबारेको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ र गराई फरक परेको भन्दै आशङ्का समेत व्यक्त गरेका थिए । 

प्रचण्डको उक्त असन्तुष्टि जनाएकै दिन ओलीले बुधबार उल्लेख गरेको आफ्नो नयाँ फेसबुक स्ट्याटसमा ‘सशस्त्र द्वन्द्व’ शब्दावली उल्लेख गरेका छन् । 

बुधबार नै टीआरसी विधेयक पारित भएसँगै ओलीले विधेयक करिब सर्वसम्मतिले पारित भएसँगै अब केही समयपछि द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी आयोग मार्फत हाम्रो शान्ति प्रक्रियाले निष्कर्ष पाउने बताउँदै भनेका छन्, ‘लामो समयसम्म हाम्रो समाजले सशस्त्र द्वन्द्व भोग्यो । त्यस दौरानमा कयौँको ज्यान गयो, कयौँ बेपत्ता भए, कयौँका अङ्गभङ्ग भए । त्यस द्वन्द्वलाई अन्तिम टुङ्गोमा पुर्याउने काम आज प्रतिनिधिसभाको बैठकले गरेको छ ।’

उनले  हेर्दा सामान्य लागे पनि मुलुकलाई शान्ति तर्फको बाटोमा हिँडाउन यो ठुलो फड्को भएको समेत बताएका छन् ।  यसलाई निष्कर्षमा पुर्याउन भूमिका खेल्ने राजनीतिक दल र प्रतिनिधिसभा सदस्यहरूलाई ओलीले धन्यवाद पनि दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप