बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

विश्वप्रसिद्ध नेपालका पदमार्ग जोगाउन पहल गर्छु : राजेन्द्र प्रसाद सापकोटा

शुक्रबार, १४ भदौ २०८१

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को नयाँ कार्यसमिति चयन गर्न भदौ १७ गते चुनाव हुँदैछ । पर्यटन व्यवसायी राजेन्द्र प्रसाद सापकोटा (टान) को अध्यक्ष पदका उम्मेदवार हुन् ।

‘व्यावसायिक आवाज, नीतिगत सुधार : सुरक्षित पदमार्ग पर्यटनको आधार’ नारा दिएर सापकोटा प्यानल चुनावमा होमिएको छ । पर्यटन क्षेत्रलाई सुधार्न, पर्यटन मजदुरका समस्यालाई सम्बोधन गर्न के छन् उनीसँग योजना ?

प्रस्तुत छ, यसै सेरोफेरोमा सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश -

  • यस पटक टानको चुनावमा अध्यक्षको प्रतिस्पर्धामा हुनुहुन्छ । तपाईंका चुनावी एजेन्डा के–के छन् ?

ट्रेकिङ व्यवसाय नेपालको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण मेरुदण्डका रूपमा छ । पछिल्लो समय यसको महत्त्व झन् बढ्दै गएको छ । नेपालीहरूमा पनि ट्रेकिङ जाने, होलिडे मनाउन जानुपर्छ भन्ने बानीको विकास हुँदै गएको छ ।

विकास निर्माणका नाममा विश्वप्रसिद्ध नेपालका पदमार्गहरू क्षति भए । जोगाउन सकिने पर्याप्त आधार हुँदाहुँदै पनि क्षति हुनु एकदम दुखद् हो । यसलाई बचाउन सकिएन भने पर्यटनको मुख्य हिस्सा गुम्छ । राज्यले अर्थतन्त्रको मुख्य आधार पर्यटनलाई मानेको छ ।

मैले नीतिगत कुरालाई बढी जोड दिएको छु । विकास निर्माण गर्दैैगर्दा पदमार्ग जोगाउनुपर्छ । अब नेपालका सबै पदमार्गलाई राष्ट्रिय पदमार्गका रूपमा घोषणा गराउँछौँ । र, अब यो एड्भेन्चर टुरिजम, त्यसमा पनि विशेषगरी पदमार्ग, पदयात्रा जस्ता कुरा माध्यमिक तहको पाठ्यक्रममा समेटेर जनस्तरमा बुझाउन आवश्यक छ । यो मेरो मुख्य एजेन्डा हो ।

दोस्रो नम्बरमा भ्याटको कुरा छ । हामी राज्यलाई भ्याट तिर्न चाहन्छौँ । हिमाल चढ्ने रोयल्टीमा पनि भ्याट लगाइएको छ । हाम्रो मुख्य हिस्सा हिमालमा खर्च हुन्छ । हिमालमा भएको खर्च हामीले पेस गर्न पाउँदैनौँ । यो विभेदकारी भ्याट छ । राज्यले यसलाई संशोधन गर्नुपर्छ । फिर्ता लिनुपर्छ । तेस्रो कुरा, यो व्यवसायमा गैर–कानुनी रूपमा सञ्चालन आएका कम्पनीहरूको छानबिन । अहिले २४ सय कम्पनी आवद्ध छन्, त्यसमा १८ सय सक्रिय छन् । त्यत्रो व्यवसायमा कतिपय गैर–कानुनी रूपमा सञ्चालनमा छन् । हामी लगानी गरेर काम गरिरहेका छौँ, गैर–कानुनी रूपमा भएका गतिविधि रोक्नुपर्छ भन्ने मेरो माग छ ।

मसँग अर्को योजना छ, एड्भेन्चर टुरिजमको प्रचारप्रसारका लागि हरेक वर्ष एड्भेन्चर ट्राभल मार्टको आयोजना गर्ने । जसमा विश्वका प्रसिद्ध मिडिया र विदेशमा बसेका सेलिब्रिटी आरोहीलाई बोलाउने । यसले पदयात्रा पर्यटनको प्रचार–प्रसारमा प्रबर्द्धनमा सहयोग पुग्छ ।

  • नयाँ पदमार्ग खोल्नका लागि योजनाहरू छन् ?

चलिआएको पदमार्गलाई सुरक्षित गर्नुपर्छ । र, नयाँ गन्तव्यहरूमा पदमार्ग खोल्नुपर्छ । म सबैभन्दा बढी सुदूरपश्चिमसँग प्रभावित छु । कैलालीको अत्तरिया पुग्दा नेदरल्याण्डबाट स्वीट्जरल्याण्ड गएजस्तो लाग्यो । सन् २०११ मा गाडी चढेर नेदरल्याण्डबाट स्वीट्जरल्याण्ड पुगेको थिएँ, त्यो बाटो यति सुन्दर, हरियाली, बाटोको स्तर एकदम गुणस्तरीय थियो । सुदूरपश्चिम राज्यले नदेखेको, ध्यान नपुगेको, त्यहाँका नेताहरूले पनि बेवास्ता गरेको ठाउँ हो । नेपाल पर्यटन बोर्डमा मैले केही वर्ष काम गर्ने मौका पाउँदा मैले सुदूरपश्चिम घुमेँ । मलाई लाग्छ, नेपालमा सुदूरपश्चिमलाई मात्र प्रचारप्रसार गर्ने हो भने अन्यत्र नगरे पुग्छ । त्यति अथाह सम्भावना देखेको छु । सम्भावना त सातै प्रदेशमा छ ।

  • पर्यटन क्षेत्रमा आवद्ध मजदुरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन केके योजना छन् ?

म आफैँ पनि मजदुरको प्रतिनिधि हो । म भारी बोकेर धेरै डाँडाकाँडा चहारेको छु । त्यसपछि गाइड गरेर व्यवसायमा आएको हो । डोको बोक्दा लागेको दाग अहिले पनि पिठ्युँमा छ । मजदुरविना व्यवसाय अपूरो हुन्छ । कुनै पनि मजदुर हिमालमा बिरामी पर्दा उसलाई तुरुन्तै रेस्क्यु गर्ने, बचाउने ग्यारेन्टी हुनुपर्छ । टिम्समार्फत १० प्रतिशत रकम मजदुर कल्याणकारी कोषमा राखिएको छ । म आफैँ नेपाल पर्यटन बोर्डमा रहँदा टानसँग गरेको सम्झौतामा उल्लेखित छ । अहिले १०, १२ करोड रुपैयाँ पैसा जम्मा भएर बसेको छ । मजदुर मरिरहेका छन् । तर, त्यो रकमको सदुपयोग भइरहेको छैन । मजदुरलाई खुसी बनाएर काँधमा काँध मिलाएर अघि बढ्न म तयार छु ।

  • पर्यटन क्षेत्रमा आवद्ध जनशक्ति विदेश पलायन हुने क्रम बढिरहेको छ । नयाँ पुस्तालाई पनि पर्यटन पेसामा उति आकर्षण देखिँदैन । कसरी धेरै युवालाई आकर्षित गर्ने ?

नेपालमा पर्यटनमा प्रचुर सम्भावना छ । हाइड्रो बनाउन १० वर्ष लाग्ला । तर, पर्यटनमा आज कम्पनी खोल्नुभयो भने तीन महिनामा व्यवसाय गर्न सकिन्छ । म शिक्षामा जोड दिनुपर्छ भन्छु । मैले टानका तर्फबाट त्यसको अगुवाइ गर्छु । युवा पुस्तालाई यस पेसामा भविष्य छ भन्ने आसा जगाउन जरुरी छ । त्यसका लागि हामी एउटा डेस्क स्थापना गर्छौं । जहाँ युवाहरू आएर केही सिकुन्, बुझुन् । देशमा गरी खाने वातावरण बनाउन हामी अधिकतम पहल गर्छौं ।

  • तपाईंलाई मतदाताले किन भोट हाल्ने ?

म भूइँबाट उठेर आएको मानिस हो । नेपालको पदयात्रा पर्यटनको शून्यदेखि टपसम्मका विषय, समस्याबारे जानकार छु । तलदेखि माथिसम्म म समन्वय गर्न सक्छु । यस क्षेत्रका समस्याहरू समाधानका लागि म पहल गर्न सक्छु । यो पेसालाई मर्यादित, सन्तुलित राख्न राख्न, पदयात्रा पर्यटन व्यवसायीहरूको दुःखमा टानले छाता ओढाउने काम गर्नेछ । टान सबैका साझा मञ्च बनाउने छौँ । त्यसका लागि मैले नेतृत्व गरेको दक्ष, अनुभवी टिमलाई जिताउन अनुरोध गर्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया