मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने

सोमबार, ०४ साउन २०८३, २१ : १४
सोमबार, ०४ साउन २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाभित्र यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरेमा अघिल्ला सबै वर्षहरूको व्यवसाय कर मिनाहा हुने भएको छ ।
  • नगर सभाको १९ औँ अधिवेशनबाट पारित आर्थिक ऐनमा १२ विधामा वर्गीकरण गरी दर्ता तथा नवीकरणको दर तोकिएको छ ।
  • ऐनले २०८३ असोज मसान्तभित्र अनिवार्य रूपमा व्यवसाय दर्ता गरिसक्नु पर्ने व्यवस्था गरेको छ, जसको पालना गरेमा १० प्रतिशत छुट पाइनेछ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र यस अघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरूको व्यवसाय कर मिनाहा हुने भएको छ ।

नगर सभा १९ औँ अधिवेशनबाट पारित आर्थिक ऐनमा यस सम्बन्धी व्यवस्था गरिएको हो। ऐनमा महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने सबै प्रकारका व्यापार व्यवसायलाई १२ विधामा वर्गीकरण गरेर दर्ता तथा नवीकरणको दर तोकिएको छ । करका विधा वर्गीकरण गर्दा व्यवसायको प्रकृति, पुँजीगत लगानी र कार्य क्षेत्रलाई आधार मानिएको छ । 

यस अघि आर्थिक वर्ष २०७२/०७३ लाई करको आधार वर्ष मानिएको थियो । यसलाई सामयिक संशोधन गर्दै ऐनमा करको आधार वर्षका रूपमा आर्थिक वर्ष २०७९/०८० बनाइएको छ । 

ऐनले २०८३ असोज मसान्तभित्र अनिवार्य रूपमा व्यवसाय दर्ता गरिसक्नु पर्ने व्यवस्था गरेको छ। यस अवधिमा दर्ता गरेमा १० प्रतिशत छुट प्रदान गरिनेछ । यो अवधिभन्दा ढिला भएमा १ हजार रुपियाँ अतिरिक्त जरिवाना लाग्ने महानगरपालिकाले जनाएको छ। 

ऐनमा व्यापारिक वस्तुहरूलाई विलासिता र आवश्यकताका आधारमा वर्गीकरण गरेको छ। विदेशी मदिरा आयातकर्ताले ३० हजार र विदेशी सुर्तीजन्य पदार्थ आयातकर्ताले २५ हजार रुपियाँ कर बुझाउनुपर्नेछ ।

सुनचाँदी र हिरा मोतीका थोक पसललाई ३० हजार तथा खुद्रा पसललाई ५ हजारदेखि १० हजार रुपियाँसम्म शुल्क तोकिएको छ। यस्तै, डिपार्टमेन्टल स्टोरलाई १ लाख २५ हजार रुपियाँ र बिजनेस मार्ट (कम्प्लेक्स) लाई १ लाख रुपियाँ कर लाग्नेछ । जुत्ताचप्पल, कपडा र किराना पसलका लागि खुद्रामा १ हजार ५ सयदेखि थोकमा १० हजार रुपियाँसम्म दर कायम गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप