मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु

सोमबार, ०४ साउन २०८३, २२ : ३५
सोमबार, ०४ साउन २०८३

सारांश

  • वीरगञ्जको घण्टाघर-अलखियामठ सडक खण्डमा बाँकी रहेका संरचना हटाएर सडक विस्तार अभियान पुनः सुरु गरिएको छ ।
  • सडक डिभिजन कार्यालय हेटौँडाले सडकको केन्द्ररेखाबाट दायाँ-बायाँ २५-२५ मिटर सीमाभित्र परेका पसल, घर र अन्य संरचना हटाउन सूचना जारी गरेको छ ।
  • होटल, लज र अतिथि गृहमा पाहुना नराख्न तथा भत्किएका घरका सरसामान १५ दिनभित्र हटाउन पनि अनुरोध गरिएको छ ।

वीरगञ्ज । वीरगञ्जस्थित घण्टाघरबाट अलखियामठ खण्डमा बाँकी रहेका संरचना हटाउने काम सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले वीरगञ्ज महानगरपालिकाका मुख्य सडक घण्टाघर-अलखियामठ खण्ड विस्तार अभियानलाई पुनःप्राथमिकताका साथ सञ्चालन गर्ने गरी काम सुरु गरेको हो ।

डिभिजन कार्यालयले सूचना जारी गरी भनेको छ, “यस डिभिजनअन्तर्गत त्रिभुवन राजपथको सिरसिया मितरी पुलबाट बहुअरी गण्डक चोकसम्मको खण्डमा सडकको केन्द्ररेखाबाट दायाँ-बायाँ २५-२५ मिटर सीमा संरक्षण कार्य सुरु भइरहेको छ । त्यसैले उक्त क्षेत्रभित्र रहेका पसल वा अन्य संरचना तत्काल खाली गर्न, घरभित्र कोही नबस्न, घरभित्र रहेका सामान हटाउन अनुरोध गर्दछौँ ।”

कार्यालयले सूचनामार्फत होटल, लज र अतिथि गृहमा पाहुना नराख्न पनि सम्बन्धित सबैमा जानकारी गराएको छ । साथै सडक सीमाभित्र भत्किएका घरहरूबाट १५ दिनभित्र आफ्ना सरसामान हटाइ सडक सीमा संरक्षण कार्यमा सहयोग गर्न पनि डिभिजन कार्यालयको अनुरोध छ ।

वीरगञ्जको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले गत वैशाख ६ गतेदेखि अभियानलाई सक्रिय रूपमा अघि बढाउँदै आएको थियो । पहिलो चरणमा मुख्य सडकको दायाँ-बायाँ २५-२५ मिटरभित्र पर्ने करिब एक हजार २०० संरचना अगाडिको भाग डोजर प्रयोग गरी हटाइएको थियो ।

अधिकांश घरधनीले संरचना नहटाएपछि सडक डिभिजन कार्यालयले गत असार २० गतेदेखि पुनः डोजर परिचालन गर्दै दोस्रो चरणको अभियान सुरु गरेको थियो । यस क्रममा गण्डकचोकबाट घण्टाघरसम्म तथा मितेरी पुलबाट अलखियामठसम्मका क्षेत्रमा सडक विस्तारको काम अघि बढाइएको कार्यालयले जनाएको छ । त्यसपछि गहवामाई चौथो रथयात्रालाई सहज रूपमा सम्पन्न गराउन अभियान केही दिनका लागि स्थगित गरिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप