चालीस वर्षदेखि सारङ्गी रेट्दै लालबहादुर
दाङ । टालेको झुत्रो झोला, हातमा सारङ्गी । त्यही सारङ्गी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँड्नुभएका सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुगेका छन् ।
“सारङ्गी रेटेर धुन बजाउँदै गीत गाउन थालेको ४० वर्षभन्दा धेरै भयो, सारङ्गी बजाउँदा आफू अझै जवान भएजस्तो लाग्छ, सारङ्गीको घुन निकालेपछि झन् जोशजाँगर बढेर आउँछ,” उनी भन्छन् । सल्यान, दाङ, रोल्पा, रुकुम र काठमाडौँ लगायतका सहर तथा बस्तीमा पुगेर सारङ्गी बजाएर गीत गाउने गरेको उनले बताए ।
घरमा सानै उमेरदेखि बाउबाजेबाट सारङ्गी रेट्ने सीप सिकेका लालबहादुरले १५ वर्षको उमेरदेखि यही पेसा अपनाए । “हिजोआज कसैले राम्रो मानेर गीत सुन्न खोज्छन् त कसैले बाहिरबाट पठाउँछन्,” उनले भने ।
जग्गा जमिन केही नभए पनि सारङ्गीको धुन र गीत गाएरै परिवारको जीविका चलाउँदै आएको उनको भनाइ छ । उनले सात वटी छोरीमध्ये पाँचको विवाह गरिसकेका छन् । दुई छोरी तुलसीपुर– १७ स्थित मावि दुधरासमा कक्षा आठ र ११ मा पढ्छन् । आफूले नपढे पनि छोरीलाई पढाउने सोचाइ रहेको उनले बताए । गीत गाएर दिनमा एक हजारदेखि तीन हजारसम्म कमाउने गर्छन् । समाजबाट लोप हुँदै गएको गन्धर्व जातिको पुरानो मौलिक संस्कृति धान्न गाउँगाउँमा पुग्ने गरेको उनी बताउँछन् ।
अहिलेसम्म घुमेको ठाउँमा रोल्पा सबै भन्दा राम्रो लागेको स्मरण गरे । रोल्पामा गाइने आयो भने चाडपर्व आए जस्तो हुन्छ भनेर सिदा (चामल, दाल) दिने गरेको बताए । सारङ्गी बजाउन युवा पुस्ताले चासो नदिँदा गन्धर्व पेसा लोप हुने चिन्ता उनलाई छ । “मेरा छोरीले बजाउँदैनन् म पछिको पुस्ताले सारङ्गी छुदैनन्,” उनले भने ।
गाइनेको रूपमा हिँड्दा एकातिर संस्कृति संरक्षण अर्कोतिर रमाइलो गरी जीवन चलिरहने र देशका विभिन्न ठाउँ हेर्ने अवसर मिल्ने उनको अनुभव छ । उनी गीतकै माध्यमबाट आफ्ना भावना पनि व्यक्त गर्छन् ।
पछिल्ला समय सारङ्गी रेटेर गाउँगाउँमा गीत गाउँदै हिँड्ने गन्धर्वको सङ्ख्या घट्दो छ । केही पाकापुस्ताले संस्कृति जेनतेन धान्दै आए पनि गन्धर्व समुदायका युवापुस्ताले चासो दिएको पाइँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः वाग्ले
-
दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण