सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः वाग्ले

लाइसेन्सका लागि शक्ति केन्द्रको पछाडि दौडिने दिन सकिए
सोमबार, २५ जेठ २०८३, १६ : १३
सोमबार, २५ जेठ २०८३

सारांश

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ सरकार अगाडि बढेको बताएका छन्।
  • उनले विगतमा जस्तो नीतिगत तहमा हुने ‘पोलिसी कब्जा’ र म्याक्रो सिन्डिकेटहरूको अन्त्य गर्ने गरी सरकार अघि बढेको र अबको अर्थतन्त्र ‘लेभल प्लेइङ फिल्ड’ र स्वस्थ प्रतिस्पर्धामा आधारित हुने बताए।
  • उनले नागरिक एपजस्ता डिजिटल माध्यमबाट सरकारी सेवाहरू प्रवाह गर्दा बिचौलियाको अन्त्य हुने र भ्रष्टाचार न्यूनीकरण हुने उल्लेख गरे।

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ सरकार अगाडि बढेको बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले विगतमा जस्तो नीतिगत तहमा हुने ‘पोलिसी कब्जा’ र म्याक्रो सिन्डिकेटहरूको अन्त्य गर्ने गरी सरकार अघि बढेको स्पष्ट पारेका हुन्।

पुराना अभ्यासहरू र सेटिङबाट फाइदा लिइरहेकाहरू अहिले अत्तालिएर भ्रम फैलाउन लागेको उल्लेख गर्दै उनले त्यसलाई ‘अन्तिम छटपटी’ को संज्ञा दिए। डा. वाग्लेले अबको अर्थतन्त्र ‘लेभल प्लेइङ फिल्ड’ र स्वस्थ प्रतिस्पर्धामा आधारित हुने बताउँदै स्वार्थ समूहहरूको छटपटी धेरै दिन नटिक्ने उल्लेख गरे। 

उनका अनुसार अब नियामक निकायहरूमा स्वच्छ, सफा र सक्षम मानिसहरू मात्रै आउनेछन्। राजनीतिक संयन्त्र, आर्थिक संरचना र नियामक निकायहरू कुनै व्यक्ति विशेष वा भ्रष्ट राजनीतिज्ञको कब्जामा रहने दिन अब सकिएको दाबी उनले गरे।

अब विचार र प्रतिभा भएका मानिसहरू लाइसेन्स लिनका लागि शक्ति केन्द्र र नेताहरूको पछि दौडनु पर्ने अवस्थाको अन्त्य हुने अर्थमन्त्री वाग्लेको भनाइ छ। अबको निजी क्षेत्र आफ्नो पुँजी र क्षमताको जगमा नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धी बन्न सक्ने वातावरण निर्माण भइरहेको उनले बताए। 

सुशासनलाई नागरिकको घरदैलोसम्म पुर्‍याउन बजेटमार्फत ‘माइक्रो डेलिभरी’ मा जोड दिइएको भन्दै उनले नागरिक एपजस्ता डिजिटल माध्यमबाट सरकारी सेवाहरू प्रवाह गर्दा बिचौलियाको अन्त्य हुने र भ्रष्टाचार न्यूनीकरण हुने उल्लेख गरे। सरकारी कार्यालय धाउन नपर्ने र कर्मचारी वा बिचौलियालाई अतिरिक्त पैसा खुवाउन नपर्ने गरी नागरिक एपमा सयौँ सेवाहरू आबद्ध गर्ने तयारी भइरहेको उनले बताए।

कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले भने, ‘बजेटमा सुशासनमा बिग हिट नै भनेका छौँ। त्यसैले यसमा म्याक्रो सिन्डिकेटहरू तोड्ने हो। पोलिसी कब्जाको जुन पुरानो अभ्यास थियो, त्योबाट हामी अब धेरै नै अगाडि आइसकेका छौँ। योबाट अत्तालिएकाहरूले अहिले चाहिँ केही भ्रमहरू छर्ने काम पनि गरिरहेका छन्, त्यो अन्तिम छटपटी हो जस्तो मलाई लाग्दछ। त्यसैले हामी अब लेभल प्लेइङ फिल्ड, कम्पिटिसन, यसलाई लले अन्डरगार्ड गर्छ। रेगुलेटरी निकायहरूमा स्वच्छ, क्लिन, सक्षम मान्छेहरू आउँछन्। अब हाम्रो राजनीतिक संयन्त्र, हाम्रो आर्थिक संरचनाहरू, नियामकीय निकायहरू कुनै व्यक्ति विशेषको कब्जामा जाने, राजनीतिक, भ्रष्ट राजनीतिज्ञहरूको चाहिँ अवाञ्छित प्रभावमा चल्ने दिनहरू चाहिँ अब सकिए।’ 

मन्त्री वाग्लेले आगामी बजेट पूर्ण रूपमा उद्यममैत्री रहेको दाबी गर्दै सुशासनलाई केवल नारामा मात्र सीमित नराखी यसलाई एउटा संस्थागत संस्कृतिका रूपमा विकास गरिने प्रतिबद्धता समेत व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप