सरिता तिवारीका तीन कविता
१) एउटा झोँक कविता देउता बन्न खोज्नेको नाममा
मूर्तिको विरोध गर्दागर्दै
देवत्वको भत्र्सना गर्दागर्दै
धर्म अफिम हो भन्दाभन्दै
जब बन्छन् लेनिन र स्टालिनका सालिक
निश्चित हो,
कालान्तरमा
ढालेको हो समयले
कुनै समयका जननायकको
‘देवतातुल्य’ शालिक पनि
तपाईंलाई आश्चर्य लाग्ला तर
ढल्ने छ अध्यक्ष माओको प्रतिमा पनि
यति सजिलोसँग कि
जसरी ढल्छ आँगन छेउमा उभिएको
जीर्ण बकैनोको रुख
सुप्रिमो !
जुन दिनदेखि यो भूमिमा
तपाईंले देउता बन्ने दुस्वप्न पाल्न थाल्नु’भो
त्यही दिनबाट थालिएको छ
तपाईंको समाप्तिको उल्टो गिन्ती
तर तपाईं सिद्धिँदैमा
सिद्धिनेछैन
विचारका स्वप्निल खेतहरूको हरियाली लहरिने कल्पना
याद राख्नुस्
होइन तपाईं कुनै देउता
होइन तपाईं यो धर्तीको
नियति लेख्ने विधाता ।
००
२) नलेखून् तिनले कुनै कविता
शासकहरू, प्रशासकहरू
हाकिमहरू
अधिकृतहरू
पुलिस अफिसरहरू
नलेखून् कुनै कविता
कविताको छाला काढ्ने शासकहरू
कविको हुर्मत लिने प्रशासकहरू
कविहरूको हत्या भइरहँदा महफिलमा मग्न पुलिस अफिसरहरू—
अमूक फाइलजसरी अड्काइरहन्छन् जो बारम्बार ‘सत्य’को घाँटी
र थिचिरहन्छन् मुखबाट फिँज ननिस्कुन्जेल
नलेखून् तिनले कुनै कविता
जो साधारण मान्छेको आत्मा डसेर
केवल मानिबस्छन् ‘माथिको आदेश’
या शक्तिशालीको ठाडो फर्मान
र दोहो¥याउँछन् सरकारी अन्यायका थाकका थाक नयाँ कथा—
सरकारी सिन्दूर रंगिएका
अधिकृतहरू, सुब्बा र खरिदारहरू
श्रेस्तेदार, रजिस्ट्रार र न्यायाधीशहरू समेत
भ्रष्ट सपनाको शीघ्र स्खलनले घरी मूच्र्छित हुँदै घरी बौरिँदै
नलेखून् तिनले कुनै कविता
नपालून् तिनले
निवृत्तिभरणजसरी बुढेस् वयभर
कवि बनिखाने अश्लील सपना
र बेलैमा बुझून्
तिनले लेख्न थालेपछि
ढल्छ एकाएक
कवितामा नैसर्गिक बाँच्ने सत्यको गजुर
बुझून्
कवितालाई पनि लाग्छ सरम
तिनीहरूका हातबाट लेखिन
सारा अन्यायको मौन साक्षी बसिरहेरै
समस्त विद्रूपताको कर्ता भएरै
जब लेख्छन् यी मानिसहरू कविता
गुमाउँछ कविताले मौलिक सुगन्ध
र बन्छ केवल एक थान कुरूप ठट्टा ।
००
- ३) व्यवस्था
के फरक पर्छ कुर्सीमा बसिरहेको अनुहार कसको हो ?
या कसको हातबाट लाग्छ सरकारी फर्मानमा मोहर ?
के फरक पर्छ मन्त्री परिषद्को निर्णय पुस्तिकामा कसले गर्छ हस्ताक्षर ?
वा कुन हातले बजार्छ न्यायालयको पोडियममाथि हथौडा ?
नयाँ युगको एक दशक किस्ता
संक्रमणकै नाममा बिताएपछि पनि
भर्खरै योनि उध्रिएका आतंकित जाँघहरू
अब सोध्छन् सम्माननीय राष्ट्रपतिको कुर्सीसँग
यो संक्रमणको फित्ता अझै कति लामो हुनेछ ?
भन्दिनुस्,
कति थान निरपराध, नृशंस मृत्यु चाहिन्छ
‘संक्रमण’को आयु सकिन ?
जब अड्किन्छ बोक्सी–आह्वानको मन्त्रले
गणतन्त्रको तर्कुलामा सास
अन्धविश्वासको तामदानी चढेर डुलिरहन्छ बेसरम हावा
र छोडिरहन्छ
नवनिर्वाचित प्रधानमन्त्रीको सम्बोधनकै अघिल्तिर अश्लील खित्का
प्रधानमन्त्रीज्यू,
भन्दिनुस्
गणतन्त्रकै मझेरी खाँबोमुनि
नाम अनाम मरनीदेवी, ढेगनीदेवी...
र अझै कुन कुन देवीहरूको चढ्नुपर्ने छ बलि ?
जब देखिनुहुन्छ टेलिभिजनका स्क्रिनभित्र
देशका गृहमन्त्री अस्पतालमा
बलात्कृत बालिकाको सिरानीछेउ उभिएर
संकल्पको शास्त्रीय श्लोक दोहो¥याइरहनुभएको
त्यो सरकारी आकृतिले सम्झाइदिन्छ एकाएक
कुनै बेला
न्यायमन्त्रीको नाममा एक मूर्छित किशोरीले
आफ्नै अस्मिताको आलो चिहानबाट लेखिपठाएको
मर्मान्त फिरादको मजबुन
मलाई लाग्दैन यो देशमा
लेख्लान् अब कुनै छोरीहरूले
न्यायको कुनै अमूर्त भरोसाका साथ
मन्त्रालयको ठेगानामा पुग्ने
त्यस्तै प्रकृतिको अर्को चिठी*
चुनावको खालमा आश्वासनको जुवा खेलेर
भगौडा प्रेमीझैँ उछिट्टी जाने विधायकज्यू !
तपाईंसँग बचेको छ अलिकति पनि इमान भने
हेर्नुस् यो पद्धतिको खुट्टा कहाँ छ, टाउको कहाँ ?
यसको गिदी कहाँ छ, मलद्वार कहाँ ?
पढ्नुस् एकपटक यसको पूरा एनाटोमी
र भन्नुस्,
‘सिस्टम’को सुरुङभित्र छिरेपछि
यति सरल प्रश्नको उत्तर खोज्न
किन सिद्धिन्छ तपाईंको एकबारको चोला ?
तर निस्कन्न तपाईंको मुखबाट कहिल्यै सही जवाफ !
सरकारी पाङ्ग्राले रवाफी धुलो उडाउँदै
ठाउँ–कुठाउँ कुदिरहने
जनप्रतिनिधि कम बिचौलिया बढी लाग्ने
काम कम कमाउको चिन्ताले अर्धचेत
ओ स्थानीय सरकार !
कसरी आउने होला हँ यसरी त
गाउँगाउँमा सिंहदरबार ?
कसरी आउने होला
गाउँगाउँमा न्यायालय ?
कसरी गर्ने एउटी स्वास्नीमान्छेले
यो व्यवस्थामाथि विश्वास ?
तपाईं आफैँ भन्नुस् !
०००
* नरहरि आचार्य कानुनमन्त्री रहेका बेला उनको नाउँमा एक किशोरीले न्यायको फिराद गर्दै पत्र प्रेषित गरेकी थिइन्, जुन निकै चर्चित बनेको थियो ।