आइतबार, २५ कात्तिक २०८१
ताजा लोकप्रिय
दसैँ रौनक

जहाँ सखिया नाचविना दसैँ फिक्का हुन्छ

बुधबार, २३ असोज २०८१, १९ : ००
बुधबार, २३ असोज २०८१

धनगढी । पश्चिम नेपालको थारु बस्तीमा यतिबेला सखिया नाचको रौनक छ । यो नाच विशेष गरी दसैँ–तिहारमा नाचिन्छ ।

कैलालीको कैलारी गाउँपालिका–६ बेनौली गाउँमा असोज १७ गतेदेखि नै सखिया नाचको तयारी थालियो । पञ्चमी अर्थात् असोज २२ गतेदेखि परम्परागत थारु पोसाकमै सजिएर सखिया नाच प्रदर्शन हुँदै आएको छ ।

बेनौलीका रामऔतार चौधरी भन्छन्, ‘सखिया नाच मनोरञ्जनको दृष्टिकोणका साथै लोक कला, संस्कृतिको दृष्टिकोणले पनि महत्त्वपूर्ण छ । यसको संरक्षण र प्रवर्द्धनका  लागि गाउँमा सखिया नाच गराइरहेका छौँ ।’

धनगढी उपमहानगरपालिका–१६, भादा गाउँमा एक महिना यता मादलले गुञ्जायमान छ । उसो त होमस्टे सञ्चालन हुँदै आएको भादामा बाह्रै महिना सखिया नाचिन्छ । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले गाउँघरको माहोल उल्लासमय भएको जानकारी दिए ।

बेनौली र भादा गाउँमा मात्रै होइन, दसैँको आगमनसँगै पश्चिम नेपालको थारु बस्ती नै आजभोलि सखिया नाचले गुञ्जायमान बनेको छ ।

सामूहिक लोक नृत्यको रूपमा लिइने सखिया नाचका प्रत्येका पात्रको विशेष भूमिका रहन्छ । विभिन्न थरीका मादलको तालसँगै गीतिलयमा नाचिने सखियामा मोरिन्या (गुरुमा) र पच्गुनिया (सहायक गुरुमा) मार्फत गीतिनृत्य नाचिन्छ । थारु संस्कृतिविद् अशोक थारुका अनुसार सखिया नाच्ने र गाउने विधि र प्रक्रिया आफ्नै प्रकृतिको छ ।

यद्यपि, अचेल समयको अनुकूलता र प्रतिकूलतालाई मध्यनजर गरी यसको समय छोट्ट्याएको पाइन्छ । सखिया नाचको अभ्यासपछि दसैँको टीकाको दिन विशेष रूपमा नाच्ने गरिन्छ । जुनकारण सखिया नाचलाई दसैँको अभिन्न अङ्ग मानिन्छ । सखिया नाचविना दसैँको माहोल नै फिक्का हुने थारु बुद्धिजीवी बताउँछन् ।

लोक संस्कृतिविद् थारुका अनुसार दसैँको अवधिमा सखिया र पैंयाँ नाच विशेष रूपमा नाचिन्छ । नाच्नका लागि युवतीहरूको समूहमा एक जना अगुवा (मोरिन्या) रहने र मादल बजाउने युवाहरूमा पनि एक जना अगुवा हुन्छन् । यो नाचमा भगवान् श्रीकृष्णको जन्मदेखि मृत्युसम्मको लीलामा आधारित गीत गाइन्छ ।

सखिया के हो ?

सखिया शब्द ‘सखींआ’ बाट बनेको हो । यसको अर्थ साथी वा सङ्गिनी हो । यो शब्द कान्हा (कृष्ण) र राधा अथवा राधा र उनका सङ्गिनीको सन्दर्भमा आएको हो । नेपाली लोकवार्ता तथा संस्कृति समाजबाट प्रकाशित थारु लोकवार्ता तथा लोकजीवन पुस्तकका अनुसार दसैँको खुसियालीमा सङ्गिनीहरू आउन्’ भन्ने अर्थमा ‘सखिया’को प्रयोग भएको हो ।

सखिया थारु लोकभागवत पुराण हो । दसैँमा थारु जातिका महिलाले सामूहिक रूपमा गाउने गीत काव्य कोटीमा पर्ने संस्कृतिविद् थारु बताउँछन् । जसको आरम्भ नै समरौटीबाट हुन्छ ।

डानु डाडा डानु री डाडा डानुु. डरिउना भली र

सखी र डानु री डाडा डरीउना री कहिले

टोही मैं सामिरौं सरस्वती मैयाँ

सखी र सरस्वती मैयाँ स्यावा री मोरी लेओ

पैंयाँमा कृष्ण र गोपिनीको प्रेम गाथा

सो पुस्तकमा उल्लेख भएअनुसार दसैँको अवधिमा तथा सखिया नाचको बिच–बिचमा पैंयाँ नाच पनि नाचिन्छ । थारु भाषामा पैंयाँलाई ‘पैंयाँ लग्ना’ अर्थात् पैंयाँको अर्थ समर्पित हुनु हो । खासमा गोपिनी रूपी बठिनियाहरू (युवतीहरू) र कृष्ण रूपी मड¥या (मादल बजाउने युवा) एक अर्काप्रति समर्पित हुनु भन्ने सन्दर्भमा आएको बताइन्छ ।

Sakhiya Naach (4)

सो पुस्तकका लेखकसमेत रहेका लोक संस्कृतिविद् थारु भन्छन्– ‘पैंयाँलाई कृष्ण र गोपिनीबिचको रासलीला झल्काउने चरणको रूपमा लिइन्छ । यो मूलतः गीतहीन सामूहिक नृत्य हो ।’

एनरी बाहाँस हो काटी कमवा सिटैबु

कमवा सिटैबु मै पिन्जला बनैबुँ

पिन्जला बनैबु मै सारी सुगा पलबु

वचनक बिनल पिन्जला कबु रे जिनी टुट

टुटीगिल पिन्जला रे मोर उरिगिल सुगिना

पुस्तकका अनुसार प्रस्तुत पैंयाँ गीतमा सारी–सुगा प्रेमपात्रका प्रतीकको रूपमा लिइएको छ । पिँजडा प्रेमको प्रतीक हो । गीतमा औँलो काटेर कलम बनाउने र रगतको मसीले प्रेमपत्र लेख्ने सन्दर्भ आएको छ ।

पछिल्लो समय पैँयाँलाई नाचलाई आधुनिकीकरण गरिएको छ । यसलाई आधुनिक सखियाको नामले पनि चिनिन्छ । यसमा गाइने गीतसमेत आधुनिक ढङ्गले रचना गरिएको थारु संस्कृतिका जानकार बताउँछन् ।

त्यस्तै पैंयाँ २२ प्रकारको हुने भए पनि हाल मडरियाहरुले आफैँ नयाँ सिर्जना गरेर पैंयाको तरिकामा परिवर्तन ल्याएका छन् । यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरू खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन् । यो नृत्य हेर्न थारु गाउँमा निकै भिड लाग्ने गर्छ ।

यतिमात्रै होइन, सखियालाई आजभोलि सदाबहार नृत्यको रूपमा समेत लिने गरिएको छ । दसैँमा मात्रै सीमित नभइ यो नृत्य बाह्रैमास विभिन्न सभा, समारोह, महोत्सवमा प्रमुख शोभाको रूपमा प्रस्तुत हुँदै आएको छ । सखिया नाच व्यावसायिक समेत भएको भादा होमस्टेका अध्यक्ष लक्ष्मीनारायण चौधरी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप