बोपराको अर्धशतकसँगै चितवन राइनोजले कर्णाली याक्सलाई दियो १३१ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार सम्पन्न पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई जितका लागि एक सय ३१ रनको लक्ष्य दिएको छ । टस हारी ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३० रन बनाएको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी उक्त खेलमा चितवन राइनोजका लागि रवि बोपराले अर्धशतकीय पाली खेले । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले अविजित ५९ रन बनाए । यसक्रममा उनले ४० बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काए ।
बोपराले ३५ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । बोपराले जारी एनपीएलमा ब्यक्तिगत रुपमा बनाएको यो दोस्रो अर्धशतक हो । उनी जारी एनपीएलमा हालसम्म दुईवटा अर्धशतक बनाउने एकमात्र खेलाडी पनि हुन् । जारी एनपीएलमा बनेको यो नवौँ अर्धशतक पनि हो ।
यसअघि, सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमलेन, विराटनगर बोल्ट्सका लोकेश बम, कर्णाली याक्सका शिखर धवन, चितवन राइनोजका रवि बोपरा, सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका थिए ।
कर्णाली याक्सविरुद्धको खेलमा चितवन राइनोजले माथिल्लो तीन विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर ब्याट्सम्यान लुक मार्टिन बेनकेनस्टाइन शून्य रनमै पेभेलियन फर्किएका थिए । अर्का ओपनर दीपक बोहरा पनि आठ रनभन्दा अगाडि बढ्न सकेनन् ।
चितवन राइनोजको तेस्रो विकेटका रुपमा विकेटकिपर ब्याट्सम्यान विपिन रावल ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी आउट हुँदा टोलीको स्कोर केवल २२ रन थियो । त्यसपछि बोपरा र कप्तान कुशल मल्लले टोलीको स्कोरलाई ८२ रनको स्थितिसम्म पुर्याएका थिए ।
कप्तान कुशलले पनि टोलीका लागि २३ रनको योगदान गरे । उनले २७ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । जन निकोल लफ्टी एटन नौ रन बनाउँदै आउट भए । सोहेल तनवीरले भने खाता खोल्न सकेनन् ।
अमर रौतेला पनि नौ रनभन्दा अगाडि बढ्न सकेनन् । अनुभवी ब्याट्सम्यान शरद भेषावकर ६ रनमा अविजित रहे । चितवन राइनोजले अतिरिक्त रुपमा केवल पाँच रन पायो । कर्णाली याक्सका बलर विपिन शर्माले तीन विकेट लिए । विपिनले चार ओभरमा २१ रन खर्चिए । जिसन मक्सुदले पनि दुई विकेट हात पारे । कप्तान सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए ।
चितवन राइनोज र कर्णाली याक्स दुबैले आफ्नो तेस्रो खेल खेलिरहेका हुन् । यसअघि खेलिएको आफ्नो दुबै खेलमा चितवन राइनोज विजयी भएको थियो । चितवन राइनोजले आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो ।
कर्णाली याक्स भने यसअघि खेलिएको आफ्नो दुबै खेलमा पराजित भएको थियो । कर्णाली याक्स आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो ।
तीन खेल खेलेको जनकपुर बोल्ट्स ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । दुई खेल खेलेको सुदूरपश्चिम रोयल्स चार अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दुई खेल खेलेको चितवन राइनोज चार अंकसहित तेस्रो स्थानमा छ । तीन खेल खेलेको काठमाडौँ गुर्खाज दुई अंकसहित चौथो स्थानमा छ ।
यसैगरी, तीन खेल खेलेको विराटनगर किङ्स दुई अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । एक खेल खेलेको लुम्बिनी यालन्स, दुई खेल खेलेको कर्णाली याक्स र दुई खेल खेलेको पोखरा एभेन्जर्सले भने अंक बटुल्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधी प्रभावित क्षेत्र पुगेर ट्रम्पले दिए संघीय आपतकालीन एजेन्सी भङ्ग गर्ने चेतावनी
-
शनिबार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढ्यो
-
स्पेनिस ला लिगा ओसासुना र लस पल्मसले अंक बाँडे
-
शिक्षालाई १ नम्बरमा राखेर लगानी गर्न सरकार तयार : मन्त्री भट्टराई
-
यी हुन् हमासले दोस्रो चरणमा रिहा गर्न लागेका चार इजरायली बन्धक