इच्छाकामनाका सुन्तला बोटबाटै बिक्री
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको माथिल्लो भेगका सुन्तला बगान अहिले पहेँलपुर छन् । सुन्तला खरिद गर्न व्यापारी बगानमै आइपुगेका छन् ।
सुन्तलाखेती गर्दै आएका इच्छाकामना गाउँपालिका–५ तामिनका किसान रामप्रसाद बोहोराका अनुसार बोटमै व्यापारीले प्रतिकिलो रु एक सयका दरले सुन्तला खरिद गरिरहेका छन् । उनले भने, “सुन्तला बिक्रीका लागि बजारको समस्या छैन । बोटमै बिक्री भइरहेको छ ।”
सोही गाउँका अर्का किसान हरिबहादुर नेपालले पनि सुन्तला बिक्रीका लागि बजारको समस्या नरहेको बताए । बगानमै आएर व्यापारीले सुन्तला खरिद गरिरहेको उनले बताए । सुन्तलाले मूल्य पाए पनि पछिल्लो केही वर्षयता बोट मर्ने क्रम बढेकाले उत्पादनमा कमी आएको उनको भनाइ छ ।
इच्छाकामना गाउँपालिका कृषि शाखाका प्राविधिक आशिष त्रिपाठीले यहाँका सुन्तला स्वादिष्ट हुने हुँदा बजारको समस्या नरहेको बताए । उनका अनुसार इच्छाकामना–१ को भाराङ, वडा नं २ को तल्लो काउले, वडा नं ३ को तोक्दाङ ढाप, माझगाउँ, सिरानगाउँ, तल्लो डुडे, माथिल्लो डुडे, वडा नं ५ को तामिन, ठङरङ, नेपेडाँडा, र वडा नं ६ को ढालामा सुन्तलाखेती हुँदै आएको छ ।
यहाँ उत्पादित सुन्तला मुग्लिन, कुरिनटार, फिस्लिङ लगायतका बजारमा बिक्रीका लागि लगिन्छ । फिस्लिङको तरकारी तथा फलफूल बिक्री केन्द्रबाट होलसेल मूल्यमा नारायणगढ, काठमाडौँ, पोखरालगायत विभिन्न सहरमा सुन्तला लैजाने गरिन्छ ।
गाउँपालिकाको कृषि शाखाका अनुसार इच्छाकामना गाउँपालिकाको ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ । आगामी आर्थिक वर्षमा १५ देखि २० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तार गर्ने गाउँपालिकाको योजना छ । किसानलाई गाउँपालिकाले अनुदानमा बेर्ना उपलब्ध गराउने योजना रहेको कृषि प्राविधिक त्रिपाठीले जानकारी दिए ।
गत वर्ष इच्छाकामनाका किसानले सुन्तलाबाट रु आठ करोड भित्र्याएका थिए । चालु आर्थिक वर्षमा पनि सोही हाराहारीमा आम्दानी हुने अनुमान गरिएको छ ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार गाउँपालिकाले माटो परीक्षण तथा चुना वितरण, सुन्तलाको बेर्ना तथा कृषि सामग्री अनुदानमा वितरण, किसानस्तरीय बगैँचा व्यवस्थापन तालिम, सिँचाइका लागि सहयोग, प्राविधिक सेवाहरु उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले गत वर्ष सुन्तला पकेट क्षेत्र वडा नं ३ स्थित माझ गाउँमा सुन्तला महोत्सव समेत आयोजना गरेको थियो ।
अध्यक्ष गुरुङले भने, “यहाँका सुन्तला राजमार्गका पसल र विभिन्न सहरमा पुग्ने गरेको भए पनि इच्छाकामनाको हो भन्ने थाहा थिएन, अहिले इच्छाकामनाको सुन्तला खोजी हुन थालेको छ ।”
किसानको उत्पादनलाई बजारीकरणमा सहयोग पुर्याउन गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र र भण्डारणका लागि चिस्यान केन्द्रसमेत निर्माण गरेको अध्यक्ष गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण