व्यक्तिगत सम्पर्कबाट वैदेशिक रोजगारीमा जाने प्रवृत्ति डरलाग्दो: जिफन्ट

काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले श्रमिकहरु वैदेशिक रोजगारीको लागि व्यक्तिगत सम्पर्कको माध्यमबाट बिदेसिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गरेको छ ।
मंगलवार काठमाडौँमा अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलन गर्दै यस्तो चिन्ता व्यक्त गरेको हो । महासंघले वैदेशिक रोजगारीको लागि श्रमिकहरू एजेन्सीमार्फत जानुको सट्टा व्यक्तिगत सम्पर्कको माध्यमबाट बिदेसिने प्रवृत्ति बढ्नु डरलाग्दो संकेत भएको बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष विनोद श्रेष्ठले विगतमा काम गर्दा खाडी मुलुकमा मात्रै श्रमिकहरू जान्छ भन्ने मान्यता रहेपनि अहिले युरोपदेखि अमेरिकासम्म काम गर्नका लागि श्रमिकहरू बिदेसिने गरेको बताए । उनले जिएजि (जिफन्ट सपोर्ट ग्रुप) बनाएर श्रमीकहरुको अधिकार संरक्षण गर्ने पक्षमा जिफन्टले काम गरिरहेको बताए ।
अध्यक्ष श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियाको लागि इ–७ भिसा प्रोसेस गर्ने भनेर दक्ष कामदार पठाउन निजी क्षेत्रलाई अघि सार्ने कुराको जिफन्टले बिरोध गरेको बताए । जापान, स्पेन, पोर्चुगल, रोमानिया, जर्मनी लगायतका मुलुकहरूमा समेत म्यानपावर कम्पनीमार्फत श्रमिक पठाउने विषयमा जिफन्टको ध्यानाकर्षण भएको र यसमा सरकारले नै जिटुजीमार्फत गर्नुपर्ने बताए ।