विश्व ध्यान दिवसको घोषणा नेपाल लागि नयाँ अवसर

संयुक्त राष्ट्र संघको महासभाले डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेपछि हिमालयको देश नेपाल विश्वका साधकका लागि तपोभूमिका रूपमा आकर्षक गन्तव्य बन्ने देखिन्छ । नेपाल लगायत भारत, श्रीलंका, मेक्सिको र आन्दोरा समर्थक रहेको लिकस्तेन्स्तिनको प्रस्तावलाई विश्वका १९३ देशको समर्थनमा युएन कंग्र्रेसले पारित गर्नुलाई ध्यानको महत्त्व अझ बढेको रूपमा यस क्षेत्रका विज्ञले लिएका छन् ।
आदियोगी भगवान् शिवको ध्यानस्थल हिमालय पर्वतको देश नेपाल; हरेक क्रिया साधनाका आयाम हुन् भनेर ध्यानलाई सीमान्तकृत जनसम्म पु¥याउने गुरु गोरखनाथको गोरखा राज्य नेपाल अनि विश्वलाई शान्ति, प्रेम र करुणाको सन्देश दिएका भगवान् गौतम बुद्धको जन्मभूमि नेपाललाई ध्यानको केन्द्र बनाउन नेपाल सरकारले नयाँ नीति ल्याउन ढिला गर्न हुँदैन । ज्ञान, ध्यान, शिक्षा, समाज र सम्बन्ध लगायत कुरालाई अर्थसँग नजोडी नहुने वैश्य युगमा हामी बाँचिरहेका छौँ ।
नेपाललाई प्राप्त यो अवसरको सदुपयोग गरेर पर्यटन प्रवद्र्धन, नेपाली कला संस्कृति र सभ्यताको प्रचार–प्रसार गर्न सकिन्छ । विश्व बजारमा ध्यान योग अभ्यासको सेवामा करिब १५० अरब डलरको व्यवसाय हुने गरेको र वैश्विक तापक्रमको वृद्धि, विविध प्रकारका पोलुसन लगायत तीव्र गतिको कार्य संस्कृति (वर्क कल्चर) ले प्रत्येक वर्ष १० प्रतिशतले यो व्यवसायको वृद्धि भइरहेको छ ।
हालसालै भएका अनुसन्धानले देखाए अनुसार दौडधुप र कोलहलपूर्ण आधुनिक जीवनशैलीले विश्वको एक चौथाइ जनसंख्याले सुत्नका लागि निद्राको गोली लिनैपर्ने अवस्थामा छन् । विकसित राष्ट्रहरूको यसको औसत अझ बढी छ । असाध्य रोगको उपचार सम्भव नभएपछि आधुनिक चिकित्सा विज्ञान पढेका डाक्टरहरूले योग र ध्यानको सहारा लिन सुझाउन थालेका छन् ।
मानिस पारिवारिक र सामाजिक संरचनाबाट अलग भएको छ र आफैँसँग टाढिँदै गएको छ । इन्टरनेट र सामाजिक सञ्जालका कारण मानिसको मस्तिष्क सूक्ष्म हुँदै गएको छ । सोच संकुचित बन्दै गएको छ । जीवनको विशाल महासागरमा प्रवेश गर्ने मार्ग भर्चुअल भएको छ । मानव देहलाई जीवन्तता दिने प्राकृतिक बहावमा पौडिन नसक्दा रोग र चिन्ताले सताइरहेको छ ।
ब्रह्माण्डको व्यवस्थित सञ्चालनका लागि हरेक प्राणीले सिर्जनशील कर्म गर्नुपर्ने दायित्व प्रकृतिले तोकिदिएको छ तर मानिस भौतिक सुविधाभोगी भएर संवेदनहीन भएको छ र सिर्जना मर्दै गएको छ । मानवीय स्वभावका कमजोरीलाई आर्थिक लाभका लागि प्रयोग गर्ने व्यापारीबाट वैज्ञानिक आविष्कारको दुरुपयोग हुने गरेको छ । विद्युतीय पर्दामा देखिने विज्ञापनले मानिसलाई गुलाम बनाएको छ । आजको अर्थ राजनीतिक संस्कारले गाउँमा सहज जीवन बाँचिरहेको व्यक्तिलाई आइफोन किन्न किड्नी बेच्नेसम्मको सोच आउने बनाएको छ ।
सहअस्तित्वभन्दा आफ्नो मात्र अस्तित्व र सुविधाका लागि छिनाझपटीका गरेर अर्काको खुसी छिन्न उद्यत मानिस सोही कारण आफैँ अशान्त र दुःखी छ । नैतिक र सदाचारी समाज बनाउने भनेका विभिन्न धर्मका नाममा भएका र भइरहेका युद्धले मानिसलाई असहाय बनाएको छ । समग्रमा भन्दा मानवीय मूल्यको यो स्तरको गिरावट र दयनीय अवस्था पहिला थिएन । जीवन र जगत्को भलाइका लागि मानिसको अन्तरात्माभित्र रहेको प्रेम र करुणाको बिजलाई फलाउन फुलाउन सकिएन भने विश्वले योभन्दा भयानक अवस्थाको सामना गर्नुपर्नेछ । प्रेमपूर्ण मानिस नै जीव र जगत्को कल्याणका लागि एक मात्र विकल्प हो, ध्यान साधनाले मात्र मानिसलाई प्रेमपूर्ण र करुणामय बनाउन सक्छ ।
प्रेमपूर्ण व्यक्ति भएको देश र समाजलाई कुनै पनि मूर्ख राजनीतिज्ञले वा नेताले युद्धमा होम्न सक्दैन । युद्ध, हिंसा, घृणा रोक्नका लागि ध्यान र योगको अभियान चलाउनुपर्छ । प्रेमपूर्ण बन भनेर हुँदैन, योग र ध्यानको साधनाले मानिसको जीवनमा प्रेमको आभिर्भाव हुन्छ । विश्व शान्तिका लागि नेपालका ऋषिमुनिहरूले प्रतिपादन गरेका योग र ध्यानका अनेकौँ विधि संसारभरि अभ्यास भइरहेका छन् । जमाना अनुसार ती विधिका प्याटेन्ट राइटका लागि पनि नेपालले सरकार स्तरबाट पहल थाल्नुपर्छ ।
संसारमा नेपाललाई चिनाउनका लागि हामी गर्वका साथ भन्न सक्छौँ— गौतम बुद्धको जन्मभूमि र सगरमाथाको देश । बुद्धका बारेमा सुनेको व्यक्तिले स्वतः ध्यानका बारेमा सुनेको छ र केही बुझेको छ । ओशो तपोवनका प्राचार्य स्वामी आनन्द अरुणले बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसका रूपमा मनाउन निरन्तर प्रयास गर्नुभएको थियो । नेपालले त्यसको नेतृत्व गरेको भए त्यो सम्भव पनि थियो । बुद्ध पूर्णिमाकै दिन ध्यान दिवस हुँदा बुद्ध पूर्णिमाको महत्त्व कम हुने केही बौद्धमार्गीको मत रहेको छ । नेपालले कूटनीतिक लबिङ राम्रो गर्न नसकेकाले सोही मिति नभए पनि उत्तरी गोलाद्र्धमा वर्षको सबैभन्दा लामो रात हुने दिन डिसेम्बर २१ लाई संयुक्त राष्ट्र संघले ध्यान दिवसको रूपमा चुनेको छ ।
वर्षको लामो दिन २१ जुनलाई योग दिवसका रूपमा मनाउन यसअघि नै राष्ट्र संघले सुर गरिसकेको छ । जसरी भए पनि नेपालको सम्पदालाई मानव जातिको कल्याण हेतु विश्वको सर्वोच्च संस्थाले मान्यता दिनु नेपालका लागि गर्वको कुरा हो । योग र ध्यानले जात धर्म, सम्प्रदाय र भूगोलको घेराभन्दा माथिको मान्यता पाएर सर्वस्वीकार्य भएको छ । हाम्रा उपनिषद्का ऋषिले कल्पना गरेको ‘वसुदैव कुटुम्बकम’ भावनाले आजको नेपालले योग र ध्यानको प्रसाद विश्वलाई गौरवका साथ बाँड्नुपर्छ ।
(शर्माले युरोपका देशमा योग–ध्यान सिकाउने गर्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड
-
शनिबारदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’, प्रदेशका दुई सय छोरीहरू सहभागी हुँदै
-
वन्यजन्तुपीडितले पाएनन् राहत रकम
-
गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीन घाइते
-
पहलगाम आतङ्कवादी हमलाको जसपा नेपालद्वारा निन्दा, क्षेत्रीय शान्तिका लागि संवादको आग्रह
-
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री