विमान दुर्घटना
एक साथ यात्रुवाहक विमान र सेनाको हेलिकोप्टर ठोक्किएर दुर्घटना भएपछि विमानस्थल बन्द
बिहीबार, १७ माघ २०८१, ११ : ३६

वासिंगटन । अमेरिकन एयरलाइन्सको विमान र सेनाको हेलिकोप्टर आकाशमै ठोक्किएर दुर्घटना भएपछि अमेरिकाको रिगन नेशनल एयरपोर्ट शुक्रबार बिहानसम्मका लागि बन्द गरिएको छ ।
विमानस्थल प्रशासनले विमानस्थलमा उडान र अवतरण बन्द गरिएको जनाएको छ । सोही विमानस्थल नजिकै स्थानीय समय अनुसार बुधबार राति ९ बजेतिर यात्रुवाहक विमान र सेनाको हेलिकोप्टर आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
विमानको टुक्रा विमानस्थल नजिकै भएर बग्ने पोटोम्याक नदीमा फेला परेको छ । हेलिकोप्टर पनि सोही नदीमा खसेको अवस्थामा फेला परेको छ ।
उद्धार टोलीले १८ वटा शव फेला पारेका छन् । नदीमा डुंगामार्फत उद्धार टोलीलाई परिचालन गरिएको छ । हेलिकोप्टरबाट पनि खोजतलास जारी रहेको जनाइएको छ ।