नेविसंघ नेता दाहालको मर्ने र मार्ने धम्की
विराटनगर । मोरङ विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा कांग्रेस निकट नेपाल विद्यार्थी संघकै दुई पक्षको विवादले उग्र रूप लिँदैजाँदा ‘मर्ने र मार्ने’ सम्मका धाकधम्की सार्वजनिक भएका छन् । यही चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । उक्त निर्वाचन भए आत्मदाह गर्ने, मर्ने र मार्नेसम्मका धम्की नेविसंघकै एक पक्षबाट आएको हो ।
नेविसंघ डा. शेखर कोइराला पक्षबाट महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिको उम्मेदवारी दिएका योगराज दाहाल (वाइडी)ले अहिलेकै अवस्थामा निर्वाचन गरिए ज्यान जाने धम्की दिएका हुन् ।
विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेविसंघका केन्द्रीय सदस्यसमेत रहेका दाहालले स्ववियु निर्वाचन जबर्जस्ती गरे आफूहरू जे पनि गर्न तयार रहेको बताए । ‘जबर्जस्ती गरिए हामी जे पनि गर्न तयार छौँ । भोलि क्याम्पस जल्न सक्छ, हामी जल्न सक्छौँ । उहाँहरू जल्न सक्नुहुन्छ । उहाँहरूको घर जल्न सक्छ । अर्काको घर जल्न सक्छ,’ दाहालले धम्कीपूर्ण भाषामा भने, ‘यो विषयमा गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी, एसपी, डीआईजीसावले बुझ्नु पर्छ ।’
दाहालले पेलेर जाने हो भने क्याम्पसमा कोही पनि रहन नसक्ने चेतावनीसमेत दिए । ‘स्ववियु निर्वाचन निष्पक्ष हुने वातावरण नभएसम्म निर्वाचन हुन सक्दैन । यदि गरिए कोही कसैको आत्मदाह हुनसक्छ । कोही मर्न सक्छ, कोही मार्न सक्छ । यो चेतावनी दिन चाहन्छु ।’
उनले निर्वाचन हुनलाई निष्पक्षता हुनुपर्ने बताउँदै आफूहरूलाई स्वतन्त्र हैसियत प्रदान गरेर सुरुवातमै धाँधली र षड्यन्त्र भएको दाबी गरे ।
‘धाँधलीसहितको निर्वाचन कसरी हुन्छ ?,’ उनले प्रश्न गर्दै भने, ‘न्यायको लागि मार्नुपर्छ । मर्न पनि तयार हो । हामी ग्रुप बनेर नेविसंघ तयार छौँ । हामी पेट्रोल जिउमा हालेर ५० जना लडिदिन सक्छौँ, सुतिदिन्छौँ । के गर्नुहुन्छ तपाईं ? हामीलाई थुनोस्, कुटोस् । कति जना थुन्नुहुन्छ ?’
संस्थापन पक्षका ‘केही गुण्डा नाइके’हरूले आफूलाई मार्नेसम्मका धम्की दिएको दाहालले बताए । उनले मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरिया गजक्क भएर बसेको भन्दै उनलाई पनि पद जानसक्ने धम्की दिए ।
‘उहाँ पनि काजमा आउनु भएको छ । कुनै दिन मुद्दा पर्यो भने पद जान सक्छ,’ उनले भने । दाहालले गत फागुन १५ गते क्याम्पसको हाताभित्र बञ्चरो चलाउने, मानिसलाई आक्रमण गर्नेलाई कारबाही नभएको, कांग्रेसकै नेताहरू नागेश कोइराला र सांसद अमृत अर्यालले नेविसंघका जिल्ला सभापति सरोज पोखरेलमाथि भएको आक्रमणमा सहानुभूति समेत नजनाएको आरोप लगाए ।
उनले अर्याल र कोइरालालाई क्याम्पसमा ज्यालादारीमा कर्मचारी राख्नेमात्रै ध्यान रहेको आरोप पनि लगाए । दाहालले स्ववियु सभापति जसवन्त पौडेल आएपछि नै दुई वटा सरकारी गाडी जलेको, स्ववियुको नाममा क्याम्पसबाट २५ लाख अनियमितता भएको, क्याम्पसमा अशान्त, असुरक्षित वातावरण बनाइएको पनि बताए । यस्तो अवस्थामा स्ववियु निर्वाचन हुन नहुने उनको भनाइ छ ।
‘विद्यार्थीलाई भन्दा बढी स्थानीय प्रशासनलाई स्ववियु चाहिएजस्तो गरिएको छ । स्ववियु निर्वाचन समितिका संयोजक डाक्टर सुशील अधिकारीले नेविसंघको संस्थापन पक्षको खेताला जस्तो काम गरिरहनु भएको छ,’ दाहालले भने ।
नेविसंघबाटै प्रज्वल विष्टले दिएको उम्मेदवारीलाई निर्वाचन समितिले आधिकारिक मानेको छ । दाहालले उम्मेदवारी दर्ता गराए पनि निर्वाचन समितिले उनलाई स्वतन्त्र उम्मेदवारको हैसियत प्रदान गरेको छ । निर्वाचनको तयारी भने अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन् । महेन्द्र मोरङ क्याम्पसमा दुई हजार ८९० जना छात्रा र ३ हजार ९४ जना छात्र मतदाता छन् ।
यसअघि दाहालसहितका नेताहरूले स्ववियु निर्वाचन समितिको कार्यालयमा आगो लगाएर निर्वाचन अधिकृत डा. सुशीलकुमार अधिकारीलाई कोठामै थुनेका थिए ।
अधिकारीलाई कोठामा थुनेर विद्यार्थीहरूले बाहिरबाट तालाबन्दी गरे । त्यसको केही समयपछि प्रहरीको टोली पुगेर ताला फोडेर अधिकारीको उद्धार गरेको थियो भने घटनामा संलग्न दाहालसहितलाई प्रहरीले पक्राउ गरेर सोही दिन छोडेको थियो ।
यस्तै तीन दिन अगाडि महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेलसहित ६ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो । नेविसंघको दाहाल पक्षले निर्वाचन समितिको कार्यकक्षमा लगाएको तालाबन्दी तोड्न भन्दै पुगेको टोलीले टेबुलकुर्सीमा आगजनी गर्न थालेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । जसमा नेविसंघबाट स्ववियु सभापतिका उम्मेदवारसमेत रहेका प्रज्वल विष्टसहित ६ जना थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
-
एआईले बदल्ला क्यान्सरका बिरामीको जीवन ?
-
रास्वपाको आर्थिक नीति : उदार बजार अर्थतन्त्र, सामाजिक न्याय
-
राजनीतिक व्यक्तिलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्वतर्फ जान्छ : झलनाथ खनाल
-
गृहमन्त्रीको खाजामा माछाको काँडा प्रकरण : ‘चाडपर्व र भीआईपीका बेला मात्र होइन, वर्षभरि अनुगमन गर’
-
फ्रान्समा इबोलाको पहिलो सङ्क्रमण पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण