सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट

मङ्गलबार, ०२ वैशाख २०८२, २१ : ४०
मङ्गलबार, ०२ वैशाख २०८२

पर्सा । पर्साका सुरक्षा निकायले यहाँको ग्रामीण क्षेत्रमा लगाइएको ३७ बिघा चार कट्ठामा लगाइएको गाँजाखेती फँडानी गरेर नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चालु आवको चैत २५ गतेसम्मको अवधिमा एक लाख ३३ हजार चार सय ७७ वटा गाँजाको बोट फँडानी गरेर नष्ट गरिएको हो । 

पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पर्साको ग्रामीण क्षेत्रमा सामुदायिक वन तथा साझेदारी वन अतिक्रमण गरेर गाँजाखेती हुने सूचनाको आधारमा निरन्तर रूपमा गाँजाको बोटको फँडानी गरेर नष्ट गर्दै आइरहेको बताए । 

“नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैको सहकार्यमा गाँजाको फँडानी गर्दै आइरहेका छौँ”, उनले भने ।

पर्सा प्रहरीका अनुसार विगत तीन वर्षको अवधिमा गाँजाको बरामद हुने क्रममा पनि वृद्धि भएको जनाएको छ । 

पर्सा प्रहरीले आव २०७९/८० मा एक हजार एक सय २३ किलोग्राम गाँजा बरामद गरेको थियो । त्यस्तै आव २०८०/८१ मा चार सय ६७ किलोग्राम र आव २०८१/८२ को फागुन मसान्तसम्मको अवधिमा भने एक हजार ५३१ किलोग्राम गाँजा बरामद गरेको छ । 

मकवानपुर तथा तराईका अन्य जिल्लाबाट ल्याएको गाँजा पर्साको ग्रामीण क्षेत्र हुँदै सीमावर्ती भारतीय बजारमा तस्करी हुने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप