आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय
वीरगन्ज घटना

यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो

शुक्रबार, ०५ वैशाख २०८२, १८ : ००
शुक्रबार, ०५ वैशाख २०८२

वीरगञ्ज । केही दिन यता अशान्त रहँदै आएको वीरगञ्जमा शुक्रवार बिहानदेखि पूर्णरुपमा निषेधाज्ञा हटेको छ । वीरगञ्जमा उत्पन्न दुई समुदायबिचको विवाद मत्थर भएपछि जिल्ला प्रशासन कार्यालय पर्साको निर्णयले शुक्रवार बिहानदेखि निषेधाज्ञा हटाइएको छ ।

चैत ३० गते हनुमान जयन्तीको अवसरमा शोभायात्रा निकालेपछि अचानक साम्प्रदायिक विवाद बढेको थियो । अवस्था नियन्त्रणमा लिन भन्दै स्थानीय प्रशासनले सुरक्षा समितिको बैठकका आधारमा कर्फ्यु लगाएको थियो ।

कर्फ्युका कारण साम्प्रदायिक प्रदर्शनमा क्रमिक सुधार हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाएर निषेधाज्ञा जारी राखेको थियो । निषेधाज्ञा जारी राख्नुपर्ने अवस्था नरहेको सुरक्षा विश्लेषणपछि शुक्रबारदेखि हटाइएको छ ।

जिल्ला प्रशासनले विभिन्न राजनीतिक दल, समूह, हिन्दुवादी सङ्गठनसहित अन्य सरोकारवाला पक्षसँग पटकपटक छलफल गरेको थियो । यस क्रममा विवाद सुल्झाएर अवस्था साम्य गर्ने प्रतिबद्धता आएपछि सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाउने निधो गरेको हो ।

निषेधाज्ञा हटेपछि वीरगञ्ज पुरानो लयमा फर्किंदै गएको छ । बजार पूर्णरूपमा चलायमान बनेको छ ।

  • विवाद सुल्झाउन २८ घन्टा लाग्यो

चैत ३० गते दिउँसो तीन बजेदेखि एकाएक वीरगञ्जको अवस्था तनावग्रस्त बन्यो । शोभायात्रा छपकैयामा पुग्दा दुवै समुदायबिच विवाद सिर्जना भएको थियो ।

सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूको उपस्थितिमा शोभायात्रा निकाल्दा तीन बजेपछि विवाद चर्किएपछिको अवस्थालाई मध्यनजर गरेर तुरुन्त सुरक्षा समितिको बैठक डाकियो । झडपलाई नियन्त्रणमा लिन एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरियो ।

तथापि अवस्था झन् बिग्रिने आकलन गर्दै सुरक्षा समितिले त्यही दिन साँझ साढे ६ बजेदेखि वीरगञ्ज महानगरमा कर्फ्यु आदेश जारी गर्‍यो ।

बजारमा कर्फ्यु लागिसकेपछि ३१ गते बिहानसम्ममा मुठभेडको अवस्था रोकियो, तर प्रशासन यतिमै सीमित रहेन । ३१ गते विभिन्न चरणमा ६ पटक छलफल चलायो ।

जिल्ला प्रशासन कार्यालय पर्साले ३१ गते १४ घन्टासम्म तारन्तार छलफल चलायो । बिहान ७ बजे राजनीतिक दलहरूसँग बैठक राखेको प्रशासनले ९ बजे हिन्दुवादी सङ्गठनहरूको बैठक बोलायो । त्यसलगत्तै १० बजे सबै दल र हिन्दुवादी सङ्गठनहरूसँगको अर्को बैठक भयो । यो बैठक सकेलगत्तै ११ बजे मुस्लिम समुदायका अगुवाहरूसँग बैठक भयो ।

यी सबै बैठक पश्चात पुनः दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालयमै सर्वदलीय बैठक बस्यो । सर्वदलीय बैठक पश्चात ३ बजे सर्वपक्षीय बैठक बस्यो । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल भन्छन्, ‘यसरी सबैसँग विभिन्न चरणमा बैठक गरिसकेपछि ५ बुँदे सहमति भयो, जुन सहमति अनुसार सबैको सुझाव बमोजिम हामीले त्यो दिन राति १२ बजेदेखि कर्फ्यु हटायौँ ।’

कर्फ्यु हटाए पनि निषेधाज्ञा भने जारी नै राखिएको थियो । ३१ गते भएको पाँच बुँदे सहमति कार्यान्वयनका क्रममा प्रहरीले घटनामा संलग्नहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लियो ।

प्रहरीले उच्छृङ्खल गतिविधि गर्ने दुवै समुदायबाट २÷२ जनालाई नियन्त्रणमा लिएपछि त्यही साँझ हिन्दुवादी सङ्गठनहरूले विरोधमा प्रदर्शन गरे ।

यो प्रदर्शन २ गतेमात्रै सीमित रहेन । ३ गते पनि उनीहरूले प्रदर्शन जारी राखे । बजारको अवस्था पुनः संवेदनशील बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी अर्यालले फेरि हिन्दुवादी सङ्गठन, सबै राजनीतिक दल, मुस्लिम अगुवा, सञ्चारकर्मी, उद्योग वाणिज्य संघ र महानगरका सबै वडाका वाडध्यक्षसँग छुट्टाछुट्टै बैठक गरे ।

यसरी चैत ३१ र वैशाख २ गते चलेको २८ घन्टे एक पक्षीय, दुई पक्षीय, त्रिपक्षीय र सर्वपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी अर्यालले कानुन कार्यान्वयनमा कुनै कसर बाँकी नराख्ने चेतावनी दिँदै तनावको अवस्था कम गर्न आग्रह गरे ।

अन्ततः ३ गते सबै राजनीतिक दल र जिल्लाबाट मन्त्री भएकाहरूले विज्ञप्ति निकालेर विवाद समाधान गर्न आग्रह गरे । ‘यही कारणले वीरगञ्जको विवाद अहिले साम्य भएको छ तर समाप्त भएको छैन,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने ।

मूलतः सुरक्षा संयन्त्रको पहलले नै ९६ घन्टासम्मको साम्प्रदायिक घटना र विवाद साम्य भएर वीरगञ्जको अवस्था सामान्यतिर फर्किएको स्थानीय सुधिर पटेलको बुझाइ छ ।

  • के चलिरहेको छ कानुनी कारबाही ?

दुई समुदायबिच हिंसा भड्काउने गतिविधि गरेको आरोपमा ५ जना हिरासतमा छन् । ३१ गते भएको सहमति अनुसार पर्सा प्रहरीले सुक्ष्म अनुसन्धान गरेर ५ जनालाई नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरी प्रमुख गौतम मिश्र भन्छन्, ‘हामीले त्यो दिनको सीसीटीभी फुटेज, ड्रोन र सामाजिक सञ्जालमा आएका सबै सबुत–प्रमाणहरूको अध्ययन ग¥यौँ, त्यही अनुसार घटनामा संलग्नहरूलाई हामीले नियन्त्रणमा लियौँ ।’

अहिले ती सबैलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट म्यादसमेत थप भइसकेको उनको भनाइ छ ।

घटना कहाँबाट सुरुवात भयो ? कुन समुदायले पहिला उच्छृङ्खल गतिविधि ग¥यो ? यी सब सवालमा अनुसन्धान भइरहेको उनी बताउँछन् । त्यसकारण अहिले को दोषी ? को निर्दोष भन्ने अवस्था नरहेको उनको भनाइ छ ।

प्रहरी प्रमुख मिश्रका अनुसार घटनामा जोसुकै दोषी भए पनि कानुन कार्यान्वयनको पाटोमा प्रहरी एक इन्च पनि चुक्ने छैन । पक्राउ परेकाहरूमाथि राज्यविरुद्ध अपराधको मुद्दा र आपराधिक उपद्रवको मुद्दा चलाइएको पर्सा प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप