एक खेलको नतिजामा अल्झिएको लिभरपुलको २०औँ उपाधि यात्रा

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय व्यावसायिक फुटबल लिगमध्येको एक इङ्लिस प्रिमियर लिग रोमाञ्चक मोडमा छ । प्रिमियर लिगको यो सिजन उत्तरार्धतिर लम्किरहँदा लिभरपुल उपाधिको अत्यन्तै नजिक पुगेको छ ।
जारी सिजनमा सहभागी २० वटै टोलीले पाँच–पाँच खेल खेल्न बाँकी रहँदा लिभरपुलले आफ्नो निकेटम प्रतिद्वन्द्वी आर्सनलसँग १३ अंकको अग्रता हासिल गरिसकेको छ । यसको अर्थ, यो सिजन लिभरपुलको मुखबाट उपाधि खोस्नु ‘चमत्कार’ भन्दा कम हुनेछैन ।
हालको स्थितिमा प्रिमियर लिगको उपाधि केवल एक खेलको नतिजामा अल्झिएको छ । अर्थात्, आफ्नो आगामी खेलमा जित हात पारे लिभरपुलले चार खेल अगावै उपाधि आफ्नो पोल्टामा पार्नेछ । लिभरपुलले आफ्नो अर्को खेल आइतबार तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी टोट्टनहामसँग खेल्दैछ ।
प्रिमियर लिगमा सबै टोलीले ३३–३३ खेल खेलिसक्दा ७९ अंकसहित लिभरपुल तालिकाको पहिलो स्थानमा आसीन छ । ६६ अंक जोडेको आर्सनल तालिकाको दोस्रो स्थानमा छ । नटिङ्घम फरेष्ट ६० अंकसहित तेस्रो, न्युक्यासल युनाइटेड ५९ अंकसहित चौथो र म्यानचेस्टर सिटी ५८ अंकसहित पाँचौँ स्थानमा छन् ।
यसैगरी, ५७ अंकसहित चेल्सी छैटौँ, समन अंक जोडेको एस्टन भिल्ला सातौँ, ४९ अंकसहित बर्नमाउथ आठौँ, ४८ अंकसहित फुलहाम नवौँ र समान अंक हात पारेको ब्राइटन दशौँ स्थानमा आसीन छन् । साउथएम्पटन र लेस्टर सिटी भने यसअघि नै रेलिगेसनमा परिसकेका छन् ।
साउथएम्पटन ११ अंकसहित २०औँ र लेस्टर सिटी १८ अंकसहित १९औँ स्थानमा छन् । इप्सविच टाउन पनि रेलिगेसनको सँघारमा छ । इप्सविच टाउन २१ अंकसहित तालिकाको १८औँ स्थानमा छ । ३६ अंकसहित वेस्ट हाम तालिकाको १७औँ स्थानमा छ । हालको स्थितिमा प्राविधिक रूपमा मात्र इप्सविच टाउन रेलिगेसनमा परेको घोषणा हुन बाँकी छ ।
अब फर्कौँ, उपाधिकै प्रसङ्गमा । लिभरपुलले आइतबार हुने खेलमा टोट्टनहामलाई हराए चार खेल अगावै उपाधि हात पार्ने पक्का छ । यस्तो स्थितिमा लिभरपुलको अंक ८२ पुग्नेछ । त्यसपछि लिभरपुल बाँकी चारवटै खेलमा पराजित र आर्सनल बाँकी सबै खेलमा विजयी भए पनि कुनै फरक पर्नेछैन । बाँकी पाँचवटै खेलमा विजयी भए पनि आर्सनलको अंक ८१ मात्र पुग्नेछ ।
तर, लिभरपुलले टोट्टनहामसँग भिडन्त गर्नुअघि नै आर्सनलले आफ्नो ३४औँ खेल खेल्नेछ । आर्सनलले आफ्नो आगामी खेल बिहीबार क्रिस्टल प्यालेससँग खेल्नेछ । उक्त खेलमा आर्सनल पराजित भए लिभरपुलले पाँच खेल अगावै उपाधि जित्नेछ ।
क्रिस्टल प्यालेससँग पराजित भएमा आर्सनलसँग चार खेलमात्र बाँकी रहनेछ । त्यसपछि चारवटै खेलमा विजयी भए पनि आर्सनलको कुल अंक ७८ मात्र पुग्नेछ । जबकी अहिले नै लिग लिडर लिभरपुलसँग ७९ अंक रहेको छ ।
जारी सिजनको लिगमा लिभरपुलले अब्बल प्रदर्शन गरेको छ । लिभपुलले हालसम्म खेलेको ३३ मध्ये २४ खेलमा जित, सात खेलमा बराबरी र केवल दुई खेलमा हारको नतिजा निकालेको छ । लिभरपुलले विपक्षीको पोस्टमा ७५ गोल गरेको छ भने आफूले केवल ३१ गोल खाएको छ ।
लिभरपुलको टोली यो सिजन नटिङ्घम फरेष्टसँग ०–१ गोलले र फुलहामसँग २–३ गोलले पराजित भएको छ । अब लिभरपुलले टोट्टनहामका अतिरिक्त चेल्सी, आर्सनल, ब्राइटन र क्रिस्टल प्यालेससँग खेल्न बाँकी छ ।
तालिकाको दोस्रो स्थानमा आसीन आर्सनलले भने क्रिस्टल प्यालेसका अतिरिक्त बर्नमाउथ, लिभरपुल, न्युक्यासल र साउथएम्पटनसँग खेल्न बाँकी छ । जारी सिजनको प्रिमियरको अन्तिम चरणको खेल मे २५ तारिखमा खेलिने छ ।
सबैभन्दा बढी प्रिमियर लिगको उपाधि जित्ने क्लबको सूचिमा लिभरपुल दोस्रो स्थानमा आसीन छ । लिभरपुलले हालसम्म १९ पटक प्रिमियर लिगको उपाधि जितेको छ । यो सिजन उपाधि चुमेसँगै लिभरपुल सबैभन्दा बढी उपाधि जित्ने क्लबको सूचिमा पहिलो स्थानमा उक्लने छ ।
म्यानचेस्टर सिटीले सबैभन्दा बढी २० पटक प्रिमियर लिगको उपाधि जितेको छ । म्यानचेस्टर सिटी १७ पटक र लिभरपुल १५ पटक उपविजेता बनेका छन् । तेस्रो स्थानमा आसीन आर्सनलले हालसम्म १३ पटक उपाधि जितेको छ भने ११ पटक उपविजेता बनेको छ ।
लिभरपुलले पछिल्लो पटक सन् २०१९–२० सिजनमा प्रिमियर लिगको उपाधि चुमेको थियो । त्यतिबेला म्यानचेस्टर सिटी दोस्रो र म्यानचेस्टर युनाइटेड तेस्रो भएका थिए । सन् २०२०–२१ सिजनदेखि हालसम्म म्यानचेस्टर सिटीले लगातार उपाधि कुम्ल्याउँदै आएको छ ।
यसबिचमा म्यानचेस्टर सिटीले चारपटक प्रिमियर लिगको उपाधि जितिसकेको छ । आर्सनलले भने पछिल्लो पटक सन् २००३–०४ सिजनमा प्रिमियर लिगको उपाधि जितेको थियो । सन् २०२२–२३ र सन् २०२३–२४ सिजनमा भने आर्सनल उपविजेता बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान
-
घरेलु मदिरा ब्राण्डिङ कार्यक्रमलाई संघीय सरकारको जम्मा चार हजार बजेट !
-
अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
-
संसद् भवनभित्र भुईँमा बसेर रास्वपाको विरोध (तस्बिरहरू)
-
कामना सेवा विकास बैंकद्वारा दृष्टीविहीनलाई वित्तीय साक्षरतामूलक कार्यक्रम
-
निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ : प्रधानमन्त्री