बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

लोकतन्त्रको आन्दोलनमा माधव कमरेडको भूमिका

बिहीबार, ११ वैशाख २०८२, १२ : २५
बिहीबार, ११ वैशाख २०८२

नेपालमा राजतन्त्रको पतन र गणतन्त्रको संस्थागत हुने विश्वास विश्व जगत्ले परिकल्पना गरेको थिएन । किनभने जननेता बीपी कोइरालाले देशको आन्तरिक मामलामा विदेशीको गन्ध पाएपछि देशका आन्तरिक शक्तिसँग मिलेर शक्ति सन्तुलन गर्नुपर्छ भन्ने पद्धतिको विकास गर्नुभएको थियो । त्यसैले बीपीले मेलमिलापको नीति अंगीकार गर्नुभयो । बरु देशभित्र अन्तरसंघर्ष गर्ने तर विदेशीको हस्तक्षेप स्वीकार नगर्ने नीतिले राजा र दलहरूबिच पटकपटक सम्झौता भएका थिए ।

तसर्थ नेपालमा राजनीतिक दल र राजतन्त्रका बिचमा नङ र मासुजस्तै सम्बन्ध छ भन्ने विदेशीलाई लागेको हुन सक्छ । जस्तोसुकै परिस्थितिमा पनि दलहरू र राजा मिलेर अगाडि बढ्छन् ।

दोस्रो जनआन्दोलन २०६२/६३ बाट राजतन्त्रले बिदा लिने विश्वास विदेशी राजदूतहरूले नगरेको पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताउनुभएको छ । उतिबेलाको घटनाक्रम स्मरण गर्दै नेपालले भन्नुभयो— तत्कालीन फ्रान्सका राजदूतले आन्दोलनमार्फत राजतन्त्र धपाउने सपना नदेख्न भनेका थिए । राजदूतले मलाई चुनौती नै दिएका थिए । राजदूतले भनेका थिए— राजालाई नचलाउनु, उनी शक्तिशाली छन् । दलहरूले सकेसम्म राजासँग मिलेर जानुपर्छ । यति पुरानो इतिहास बोकेको राजतन्त्र सितिमिती अन्त्य हुनेवाला छैन । उसको आफ्नो शक्ति र इतिहास कायम छ । राजाले त्यसै दरबार छोड्छन् र ? 

राजदूतको यो कुरालाई उल्टै चुनौती दिँदै नेपालले भन्नुभयो, ‘हामी दलहरू मिलेको खण्डमा राजतन्त्रलाई नेपाली जनताले सुनामीजस्तै आँधी ल्याएर पार लगाइदिनेछन् ।’ 
हुन त त्यतिबेला आन्दोलनको समयमा राजधानीका सडकमा खासै मान्छे देखिँदैनथे । कांग्रेस र एमालेका विद्यार्थी संगठनले नारा लगाउँथे, दुई–चार दिनमा सेलाउँथे । अन्य साना दलको खासै संगठन थिएन, प्रभाव पनि थिएन । माओवादी जंगलमै थियो । त्यसकारण विदेशीले राजतन्त्र बढारिन्छ भनी कसरी विश्वास गरुन् र ! फेरि परिवर्तनको सम्भावित वातावरण पनि त्यस्तो देखिँदैनथ्यो । 

उनीहरूलाई लागेको थियो कि दलहरू नै आपसमा मिल्न सक्दैनन् । राजासँग मिल्नुको विकल्प छैन । २०४७ सालमा संवैधानिक राजतन्त्र काँधमा बोकेका दलले कसरी राजासँग विमति राख्न सक्लान् र ? अन्ततः एउटा न एउटा शक्ति राजाको पछाडि लागेर जान्छन् र नेपालमा गणतन्त्र सम्भावना देखिँदैन । तर राजा चुप लागेर बस्नुको सट्टामा उल्टो बाटो हिँड्ने काम गरे । राजा ज्ञानेन्द्रले बुबा महेन्द्रको पञ्चायती शासनकाल नजिकबाट नियालेका थिए । उनी धेरै महत्त्वकांक्षी भए । विश्वमा प्रजातन्त्र र लोकतन्त्रको लहर चलिरहेको बिर्सिएका हुन सक्छन् । उतिबेला राजाले दलहरूलाई मिलाउनुपर्ने थियो । त्यो जिम्मेवारीबाट पन्छिनु उनकै निम्ति र शाहवंशीय शासनलाई नै घातक साबित भयो । उनले दलका नेताहरूप्रति निरंकुश, तानाशाही शैली प्रदर्शन गर्दै गए । त्यो घाटा राजाले बेहोर्नुपरेको हो ।

उतिबेलाको घटना क्रम थप्दै नेपाल भन्नुहुन्छ— राजाको व्यवहार र राजदूतले गरेका हरेक तर्कले मलाई व्यक्तिगत रूपमा झन् धेरै चुनौती महसुस भएको थियो । अब के गर्ने भनेर सल्लाह गर्न गिरिजाप्रसाद कोइरालाले बोलाउनुहुन्थ्यो । आन्दोलनको विकल्प नभएको मेरो धारणा रहन्थ्यो । कसरी सम्भव छ भन्ने उहाँको प्रश्नले मलाई झस्काउनु स्वाभाविक हो, तर म विचलित भइनँ । किनभने २० वर्ष प्रजातन्त्रको अभ्यास गरिसकेका दलहरूले राजाको निरंकुशता स्विकार्नु पहाडमा कुहुनो ठोक्नु बराबर हो । फेरि ज्ञानेन्द्रको कदमलाई विदेशीले पनि वक्र दृष्टिले हेरेका थिए । 

साठीको दशकतिर पूर्वी एसियामा प्रजातन्त्रका खातिर ठुल्ठुला आन्दोलन भइरहेका थिए । पाकिस्तानमा सैनिक ‘कु’विरुद्ध दलहरू सडकमा उत्रिएका छन् भन्ने कुरा राजाले ध्यान दिएनन् । म्यानमारमा आङ सान सुकी २० वर्षको नजरबन्दबाट मुक्त भएकी थिइन् । यो एसियामा प्रजातन्त्रको उदयको नयाँ संकेत थियो । सद्दाम हुसेन, मुअम्मर गद्दाफीजस्ता निरंकुश शासकले सत्ताबाट बहिर्गमित हुनुपरेका परिघटनाले शुभ संकेत गरिरहेको थियो । 

विश्व राजनीतिमा सुनौला किरणहरू छरिने क्रम बढिरहेको दशकमा राजाशासन गर्न सफल हुन नसक्ने अध्यक्ष नेपालको ठम्याइ थियो । खाडीका देशहरू हुँदै पूर्वतिर लम्किएको आन्दोलनको आगो नेपालमा सल्किनेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ— राजाले दलहरूसँग सहकार्य नगर्ने र दमनकारी नीति लिएर धरपकड मच्चाउने हर्कत देखाउन थाले । दलका नेतालाई नजरबन्दमा राख्ने, विभिन्न मुद्दा लगाउने र पक्राउ गर्न थालेपछि दलहरू मिल्नुको विकल्प थिएन । दलहरूप्रति फुटाउ र राज गर भन्ने नीति राजाले अंगीकार गरे, त्यसपछि दलहरू एक हुन बाध्य भए । 

हुन त त्यतिबेला आन्दोलनको समयमा राजधानीका सडकमा खासै मान्छे देखिँदैनथे । कांग्रेस र एमालेका विद्यार्थी संगठनले नारा लगाउँथे, दुई–चार दिनमा सेलाउँथे । अन्य साना दलको खासै संगठन थिएन, प्रभाव पनि थिएन । माओवादी जंगलमै थियो । त्यसकारण विदेशीले राजतन्त्र बढारिन्छ भनी कसरी विश्वास गरुन् र ! फेरि परिवर्तनको सम्भावित वातावरण पनि त्यस्तो देखिँदैनथ्यो ।

आन्दोलनको उभार बुटवलबाट सुरु भयो । त्यो समयमा अहिले एमालेमा रहनु भएका साथीहरूले सहयोग गर्नुभयो । अहिले हामी विद्रोह गरेर एकीकृत समाजवादीमा छौँ । साथीहरू ओलीलाई छाड्न मान्नुभएन, तर उनीहरुको योगदान महत्त्वपूर्ण छ । नेपाल भन्नुहुन्छ— राम्रोलाई राम्रो भन्न सक्नुपर्छ, फरक दल र विचार भयो भनेर गुण बिर्सनु हुँदैन । उनीहरूको सहयोगले बुटवलमा विशाल जनसभा भयो । 

त्यसले केही न केही प्रभाव पारेको थियो । अन्यत्र पनि जनसभाहरू हुन थाले । बुटवलको जनसभा गर्ने बेला आफूले साथीहरूलाई उत्साह थप्दै सम्पन्न गराएको उहाँ सम्झनुहुन्छ । उहाँ काठमाडौंमा हुनुहुन्थ्यो । कति मान्छे भेला गर्न सकिन्छ भनेर सोध्दा २०/५० जना हुन्छन् कि  भन्ने खबर आउँथ्यो । तर एक–दुई हप्ता कुरेर उहाँले तयारी कस्तो छ भन्दा सय जना जम्मा गर्ने सकिन्छ भन्थे साथीहरू । ठिक छ, प्रयास गर्नुस्, दुई सय पुर्‍याउनुपर्छ भनेर उहाँले साथीहरूलाई ढाडस दिनुहुन्थ्यो । एक महिनापछि फोन गर्दा पाँच सय मान्छे जम्मा गर्न सकिन्छ, सभा गरौँ भनेर हामीले बुटवलमा सभा गर्‍यौँ, तर आमसभामा हजारौँ सङ्ख्यामा जनलहर उपस्थित भयो । राजाको शासनलाई चुनौती दिने सो सभाले एक खालको उभार ल्यायो । देशका ठुला सहरहरूमा आन्दोलन र सभा सम्भव छ भन्ने सन्देश दिएको हो । 

त्यसपछि नेपाली कांग्रेसले पनि सभाहरू गर्न थाल्यो । कति सभाहरू त हामीले संयुक्त रूपमा गरेका थियौँ । यसै बेला माओवादी शान्तिपूर्ण राजनीतिमा आउन चाहेको थियो । हामीले विभिन्न चरणमा माओवादीसँग वार्ता गर्‍यौँ र उसलाई जंगलबाट घर ल्याउन पायौँ । यो पनि धेरै ठुलो उपलब्धि थियो । राजा एक व्यक्तिले सत्ता छोड्दा केही फरक परेन, माओवादी वार्तामा आएर हजारौँ नेपालीको धन र जनविनाश हुनबाट जोगाउन सकिएकामा नेपाललाई गर्व महसुस भएको छ ।

वास्तवमा राजासँग लडाइँ गर्नु चुनौतीपूर्ण भएको उहाँको स्वीकारोक्ति छ । परिवर्तन र विकासका निम्ति एउटा पुस्ताले त्याग र बलिदान दिनैपर्छ । लोकतन्त्रको सुनौलो बिहानी ल्याउने यो नै अवसर हो भन्ने नेपाललाई लागेको थियो रे । परिवर्तनको खातिर सडममा गीत गुञ्जन थाल्छ । कविता लेख्न सुरु हुन्छ । सडक नाटक र प्रहसन गरिन्छ अनि जनतामा जागरण ल्याउन सजिलो हुने भन्दै त्यतिबेला दलहरूलाई सम्पूर्ण संयन्त्रले सहयोग गरेकामा खुसी हुनुभएको छ । माओवादीले पनि आन्दोलनमा सहभागिता हुने भएपछि सात राजनीतिक दलको एकता बलियो बन्दै गयो । 

सात राजनीतिक दलले संयुक्त रूपमा आन्दोलन गर्ने निर्णय गरेकाले राजा एकल भए । उनको सत्ता कमजोर हुन थाल्यो । फेरि राजाका भजन गाउनेहरू पनि स्वार्थमा लिप्त थिए । सडकमा दलहरूको आन्दोलन चर्कन थाल्यो । नेपाललाई एक दिनको घटनाले आन्दोलन चर्किएको भन्ने लाग्छ । विद्यार्थी संगठनले बागबजारमा गरेको प्रदर्शनमा गिरिजाप्रसाद कोइराला सहभागी हुनुहुन्थ्यो । त्यो प्रदर्शनमा प्रहरीले दमन गर्‍यो । कोइरालालाई प्रहरीले लाठीले टाउकोमा चोट लाग्यो । त्यसपछि उनलाई अस्पतालमा भर्ना गर्नुपरेको थियो । पार्टी सभापति घाइते भएका कारण कांग्र्रेसहरू राजाका विरुद्ध सडकमा आएका हुन् । 

दुई दशकअघि (२०६० सालमा) राजाविरुद्ध आन्दोलन चर्कन थाले । हामीले कहिल्यै हतोत्साही भएनौ । निरन्तर आन्दोलनका कार्यक्रम गर्दै गयौँ । सबै दल र साथीहरू जोडिँदै गए । ०६२/६३ को परिवर्तन सफल भयो, लोकतन्त्र आयो । एक कार्यक्रममा कार्यकर्ता माझ नेपालले भन्नुभएको थियोे, ‘राजनीतिमा कहिलेकाहीँ तलमाथि हुन्छ, स्वाभाविक हो । यहाँ पुष्पलाल, मनमोहन र मदन भण्डारीहरूले धेरै दुःख गर्नुभएको छ । उहाँहरूको निरन्तरता र संघर्षका दिनहरू सम्झेर लाग्ने हो भने लक्ष्यमा पुग्न सकिन्छ । मान्छेका सबै राम्रो गुण मात्रै हुँदैन । अवगुण पनि पचाउने क्षमता जसमा छ, उनै राजनीतिमा टिक्न सक्छ । पार्टीको जिम्मेवारी पाएका साथीहरूलाई चुनौती छ । अब यो चुनौतीको सामना गर्नुहोस् ।’

सत्यको सुरुवात हुन समय लाग्ने भएकाले हाम्रो पार्टीका कार्यकर्ताले विचलित नहुन गाउँगाउँमा सन्देश लिएर जानुहोला । उहाँले निर्देशनात्मक रूपमा दलका नेतालाई आग्रह गर्नुभएको छ । जिम्मेवारी पाइन भनेर बसेकाहरूले वडा, पालिका, जिल्लामा संगठन बनाउने र सदस्यता वृद्धिका निम्ति लागे हुन्छ, कसले छेकेको छ र ? आफ्नो ठाउँमा आफैँले चुनावमा जित्न सक्ने गरी काम गर्नुहोस्, अनि मसँग भेट्नुस् । 

काम नगर्ने पदको मात्रै दाबी गर्ने नेताहरूको प्रवृत्ति भएको भन्दै म समाजवादी हुँ भन्न किन डराएको ? हामीले भ्रष्टाचार गरेका छैनौँ, विदेशमा पैसा लुकाएको छैनौँ, देशविरुद्ध गलत सन्धि र सम्झौता गरेका छैनौँ । मैले प्रधानमन्त्री भएर केही राम्रो काम गरेको छु, थिति बसालेको छु, त्यसको प्रचार–प्रसार गरेको भरमा पनि पार्टी बनाउन मद्दत हुन्छ । खै यस्ता कुरा बुझेको ? अब युवा, विद्यार्थी, महिला, दलित, सबै एकजुट हुने समय आएको नेपालको स्वीकारोक्ति छ ।
(खरेल समाजवादी प्रेस सङ्गठन काभ्रेका कावा अध्यक्ष हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिनेश खरेल
दिनेश खरेल
लेखकबाट थप