शनिबारदेखि माइतीघरको ढल निकास खुलाउने र अतिक्रमण हटाउने अभियान सुरु हुने
सारांश
- माइतीघर क्षेत्रको डुबान र ढल निकासको समस्या प्राविधिक त्रुटि, अव्यवस्थित सहरीकरण तथा संरचनागत अतिक्रमणको संयुक्त परिणाम भएको निष्कर्ष निकालिएको छ।
- प्राकृतिक जलाशयमाथि भवन निर्माण, ढलको आकारमा असन्तुलन र टुकुचा खोलाको जलस्तर वृद्धिले डुबानलाई थप भयावह बनाएको छ।
- समस्या समाधानका लागि अतिक्रमण हटाउने, ढल सफा गर्ने र दीर्घकालीन उपायहरू अवलम्बन गरिनेछ।
काठमाडौँ । काठमाडौँको माइतीघर क्षेत्रमा वर्षेनि दोहोरिने भीषण डुबान र ढल निकासको समस्या प्राविधिक त्रुटि, अव्यवस्थित सहरीकरण तथा संरचनागत अतिक्रमणको संयुक्त परिणाम भएको निष्कर्ष निकालिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा गठित चार सदस्यीय संयुक्त प्राविधिक टोलीले साउन ६ गते गरेको स्थलगत निरीक्षणपछि बुझाएको प्रतिवेदनले यस्तो देखाएको हो।
प्रतिवेदन अनुसार विगतमा माइतीघर चोकसँगै जोडिएको होचो र खाली जग्गाले प्राकृतिक जलाशयको रूपमा काम गर्ने गर्दथ्यो। थापाथली हाइट, सिंहदरबार र बबरमहलजस्ता अग्ला भू-भागबाट बगेर आउने भेलपानी सोही खाली जग्गामा जम्मा हुने गर्दथ्यो। यसले गर्दा वर्षाको उच्च बहाव केही समय रोकिन्थ्यो र पानी जमिनमुनि सोसिने अवसर पाउँथ्यो।
पछि सोही खाली जग्गामा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका बहुतले भवनहरू निर्माण गरिएपछि प्राकृतिक जलाशय पूर्ण रूपमा नासियो। कङ्क्रीट संरचनाले होचो भाग ढाकिएपछि अवशोषण क्षमता शून्य भई वर्षा हुनासाथ सम्पूर्ण पानी सिधै माइतीघर चोकमा थुप्रिन थालेको छ।
प्रतिवेदनले ढलको आकार र क्षमतामा रहेको गम्भीर असन्तुलनलाई दोस्रो ठूलो कारण मानेको छ। माइतीघरको मुख्य ढलको माथिल्लो भाग र निकासमा ९०० मिमि रहे पनि बीचको केही भागमा घटेर ६०० मिमि मात्रै छ। ९० सेन्टिमिटर व्यास भएको निकासको पाइप अन्तिम बिन्दुमा पुग्दा ६० सेन्टिमिटरमा खुम्चिएका कारण बोटलनेक सिर्जना भई पानी जम्ने गरेको सडक डिभिजन काठमाडौँका प्रमुख सुवोध देवकोटाले बताए।

नयाँ बनेका भवनहरूबाट निस्कने घरायसी फोहोर र परिसरको भेलपानी दुवै पुरानै ढलमा जोडिएकाले ढलले पानीको परिमाण धान्न सकेको छैन। यसले ढलभित्र ऋणात्मक जलचापीय प्रवणता सिर्जना भई पानीको निकास अवरुद्ध हुने गरेको छ।
टुकुचा खोलाको जलस्तर वृद्धि र उल्टो चापले डुबानलाई थप भयावह बनाएको छ। माइतीघरको मुख्य ढल र थापाथली क्याम्पसले निर्माण गरेको नयाँ स्टर्म ड्रेन आपसमा जोडिएर टुकुचा खोलामा गएर मिसिन्छन्। अत्यधिक वर्षा हुँदा टुकुचा खोलाको पानीको सतह निकै माथि उठ्ने र खोलाको जलचापीय स्तर बढेर निकास थुनिने गर्दछ। जसका कारण माइतीघरको मुख्य ढलभित्र उल्टो चाप पैदा भई सबैभन्दा होचो भागमा रहेका म्यानहोल र ढलहरूबाट उल्टो पानी उछिट्टिएर सडक डुबानमा पर्ने गरेको छ।
अध्ययनका क्रममा ढल जाने मार्गमाथि व्यापक अतिक्रमण भएको भेटिएको छ। थापाथली क्याम्पस, राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय तथ्याङ्क कार्यालयका भौतिक संरचनाहरू ढल निकासकै बाटोमा निर्माण गरिएका छन्। कतिपय स्थानमा ढल छोपेर पसल तथा शौचालयहरूसमेत बनाइएका छन्। नेपाली सेनाको ब्यारेक क्षेत्रभित्र ढल निकासका लागि राखिएको पाइपलाई छोपिएको पाइएको छ।
ढलभित्र प्लास्टिकजन्य वस्तु, लत्ताकपडा, बोतल र ठोस फोहोर थुप्रिँदा सामान्य वर्षामा पनि निकास बन्द हुने गरेको छ। विद्युत प्राधिकरण, नेपाल टेलिकम र सडक विभागजस्ता निकायहरूले बिना समन्वय खन्ने-पुर्ने गर्दा ढल प्रणाली थप क्षतिग्रस्त भएको छ।
माइतीघरको प्राकृतिक निकासमा विभिन्न निकायका संरचना र प्राविधिक त्रुटिका कारण अवरोध सिर्जना भएको पाइएको देवकोटाले जानकारी दिए।
समस्या समाधानका लागि प्राविधिक समितिले ६ वटा तात्कालिक र ४ वटा दीर्घकालीन सिफारिसहरू पेस गरेको छ।
तत्कालका लागि अतिक्रमण गरी बनाइएका संरचना हटाउने, भित्री ढल र टुकुचाको पिँध सफा गरी किनार फराकिलो बनाउने, छोपिएका म्यानहोल उठाउने र समन्वय संयन्त्रलाई सक्रिय बनाउन भनिएको छ। दीर्घकालीन रूपमा सम्पूर्ण ढल सञ्जालको जिआइएस म्यापिङ गर्ने, पूर्ववत् प्राकृतिक जलाशयको शोधभर्ना गर्न माइतीघरमुनि भूमिगत जल अवधारण ट्याङ्की बनाउने, टुकुचाको एकतर्फी जाँच भल्भ तथा फ्ल्याप गेटहरू जडान गर्ने र जलाधार क्षेत्रको अध्ययन गरी नयाँ पुनरागमन अवधि अनुसार ढलको क्षमता पुनः डिजाइन गर्न सिफारिस गरिएको छ।
डुबानको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सरोकारवाला निकायहरूबिच बिहीबार समन्वयकारी बैठक सम्पन्न भएको छ। बैठकमा नेपाली सेना, राष्ट्रिय वाणिज्य बैंक, थापाथली क्याम्पस र राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकको निर्णय अनुसार आगामी शनिबारदेखि सडक डिभिजन र काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले ढलको अवरोध हटाउने र अतिक्रमण गरिएका संरचना हटाउने कार्य सुरु गर्नेछ।
सेनाको मुख्यालय जाने बाटोमा रहेको कल्भर्टलाई असर नपर्ने गरी त्यसअगाडिको प्राकृतिक निकासलाई पूर्ण रूपमा खुला गरिने देवकोटाले बताए। तत्कालका लागि अवरुद्ध ढल सफा गरी पानीको निकास दिने र त्यसपछि दीर्घकालीन समाधानका उपायहरू अवलम्बन गरिने सडक डिभिजनले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
-
ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण