मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मजदुर उत्पादन गर्ने शिक्षा प्रणाली बदल्ने कि !

बिहीबार, १८ वैशाख २०८२, १६ : २३
बिहीबार, १८ वैशाख २०८२

आज (मे १) श्रमिकहरूको योगदानको सम्मानस्वरूप संसारभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै छ । यस सन्दर्भमा हामीकहाँ विकराल समस्याको रुपमा देखिएको एक यथार्थमाथि चर्चा गर्नु सान्दर्भिक होला । दशकौँदेखि नेपालको शिक्षा प्रणालीले दक्ष, सीपयुक्त नागरिकभन्दा बढी मजदुर उत्पादन गर्दै आएको देखिन्छ । यसले देशको उत्पादनशीलतामा ठुलो क्षति पुर्‍याएको छ । देशमा उत्पादन बढ्न नसक्नु शिक्षा प्रणालीको विफलताको एक उदाहरण हो । 

तथ्याङ्कहरूलाई हेर्ने हो भने वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या डरलाग्दो छ । नेपाल सरकारको २०८०/८१ को तथ्यांक अनुसार प्रतिवर्ष ६ लाखभन्दा बढी युवाले विदेशी रोजगारीको अनुमतिपत्र (वर्क परमिट) लिएका छन् । यसको अर्थ प्रतिदिन १६ सय भन्दा बढी युवाले देश छाड्छन् । विदेशबाट पठाइने रकम (रेमिटेन्स) नेपालको कुल जीडीपीको २३ प्रतिशत छ, जुन देशको अर्थतन्त्रको ‘लाइफलाइन’ बनेको छ ।

आजको मितिमा भारत, खाडी मुलुक, मलेसिया, कोरिया, जापानदेखि युरोप–अमेरिकासम्म नेपाली युवा मजदुरका रूपमा कार्यरत छन् । उनीहरूले त्यहाँ गर्ने अधिकांश काम शारीरिक श्रममा आधारित छन् । तीमध्ये धेरैजसो १२ कक्षा वा स्नातक तहसम्मको शिक्षा लिएका छन् । तर शिक्षाले उनीहरूलाई उद्यमी वा सिर्जनशील पेसामा लाग्न सक्षम बनाउनुको सट्टा, विदेशी भूमिमा पसिना बेच्ने बनाइदिएको छ । किन हाम्रा युवा आफ्नो देशमा पर्याप्त अवसर नपाएर विदेशमा जोखिमपूर्ण काम गर्न बाध्य छन् ? यसको मुख्य कारण हाम्रो शिक्षा प्रणालीमा खोज्नुपर्छ । 

कक्षा १२ पास गरेर कोरिया गएका, स्नातक सकेर दुबईमा वेटर भएका, इन्जिनियरिङ पढेर मलेसियामा सेक्युरिटी गार्ड बनेका हजारौँ नेपालीको कथा एउटै छ— व्यावहारिक शिक्षा भएन ।

हाम्रो शिक्षा व्यावहारिक नहुनु र स्वदेशमा पढाइ अनुसारको रोजगारी नभएकै कारण कतिपय शिक्षित नेपाली विदेशमा मजदुर हुन बाध्य छन् । हाम्रो शिक्षा प्रणाली सैद्धान्तिक ज्ञानमा बढी केन्द्रित छ । विद्यार्थीलाई घोक्न र परीक्षा पास गर्न सिकाइन्छ, तर उनीहरूमा जीवनोपयोगी सीप, व्यावहारिक ज्ञान र उद्यमशीलताको विकास गर्न पर्याप्त ध्यान दिइँदैन । विद्यालय र विश्वविद्यालयले सिर्जनशीलता, समस्या समाधान, उद्यमशीलता, व्यावहारिक ज्ञानजस्ता सीपभन्दा पनि किताबी ज्ञानमा मात्र जोड दिँदै आएका छन् ।

प्राविधिक शिक्षालाई हेपिएको छ, व्यावसायिक मार्गदर्शनको अभाव छ र करिअर विकल्पबारे स्पष्ट जानकारी विद्यार्थीलाई दिइँदैन । छोरो विदेशमा हुँदा समाजले गौरव महसुस गर्छ । शिक्षक, अभिभावक र समाजले पनि ‘नोकरी माग्ने मानसिकता’लाई बढावा दिन्छन् । यसरी उच्च शिक्षा हासिल गरेका धेरै युवा विदेशमा गएर अदक्ष श्रमिकका रूपमा काम गर्न बाध्य छन् । अरु देशले स्नातक र स्नातकोत्तर तहका जनशक्तिलाई वैज्ञानिक, प्राविधिक, अनुसन्धानकर्ता बनाउँछन् तर नेपालले उनीहरूलाई ड्राइभर, मिस्त्री, गोदाम मजदुर, सेक्युरिटी गार्ड बनाउँछ ।

जब देशका अधिकांश युवा जनशक्ति विदेशमा श्रम बेच्न जान्छ, त्यसले देशको अर्थतन्त्रमा नकारात्मक असर पार्छ । पहिलो त, हामीले आफ्नो युवा र ऊर्जाशील जनशक्ति गुमाउँछौँ । दोस्रो, उनीहरूले पठाएको रेमिट्यान्सले तत्काललाई विदेशी मुद्रा सञ्चितिमा केही टेवा पुर्‍याए पनि यसले दीर्घकालीन रूपमा देशको उत्पादन क्षमता र आत्मनिर्भरतालाई कमजोर बनाउँछ ।

हाम्रो शिक्षा प्रणाली सैद्धान्तिक ज्ञानमा बढी केन्द्रित छ । विद्यार्थीलाई घोक्न र परीक्षा पास गर्न सिकाइन्छ, तर उनीहरूमा जीवनोपयोगी सीप, व्यावहारिक ज्ञान र उद्यमशीलताको विकास गर्न पर्याप्त ध्यान दिइँदैन ।

रेमिट्यान्समा आधारित अर्थतन्त्र कहिल्यै पनि दिगो हुन सक्दैन । आफ्नै देशमा उत्पादन नबढ्दा हामी उपभोग्य वस्तुका लागि परनिर्भर रहनुपर्छ, जसले व्यापार घाटा बढाउँछ र अन्ततः गार्हस्थ्य उत्पादनमा नकारात्मक प्रभाव पार्छ । जब शिक्षित व्यक्ति पनि श्रमिक बन्न पुग्छ, तब श्रम र शिक्षा दुवैको मूल्य घट्छ । 

  • अबको शिक्षा 

अब हाम्रो हाम्रो शिक्षा प्रणालीमा आमूल परिवर्तन अपरिहार्य छ । शिक्षा नीतिमा क्रान्तिको खाँचो छ । हामीलाई यस्तो शिक्षा नीति चाहिएको छ जसले विद्यार्थीलाई केवल जागिर खोज्ने नभई, आफैँ रोजगारी सिर्जना गर्न सक्ने उद्यमी बनाओस् । शिक्षाले खेलाडी, कलाकार, साहित्यकार र विभिन्न क्षेत्रका विज्ञ उत्पादन गर्न सक्नुपर्छ । विद्यार्थीलाई सानैदेखि सिर्जनात्मकता, आलोचनात्मक सोच, समस्या समाधान गर्ने क्षमता र सहकार्यको भावना विकास गर्ने वातावरण दिनुपर्छ ।

प्राविधिक शिक्षा र व्यावसायिक तालिमलाई गुणस्तरीय र समयसापेक्ष बनाउनुपर्छ, पाठ्यक्रम सिर्जनशील बनाउनुपर्छ । क्रियटिभ राइटिङ, इनोभेसन ल्याब, स्टार्टअप इन्क्युबेटर जस्ता विषय थप्नुपर्छ । 

स्थानीय स्तरमा उपलब्ध स्रोत–साधन र बजारको माग अनुसारको सीप विकास गर्ने पाठ्यक्रम ल्याउनुपर्छ । विद्यालय र विश्वविद्यालयले उद्योगधन्दासँग सहकार्य गरेर विद्यार्थीलाई व्यावहारिक अनुभव दिने व्यवस्था गर्नुपर्छ । सरकारले पनि उद्यमशीलतालाई प्रोत्साहन गर्न विभिन्न नीति तथा कार्यक्रम ल्याउनुपर्छ । युवालाई सहुलियतपूर्ण ऋण, व्यवसाय सुरु गर्न आवश्यक तालिम र पूर्वाधार उपलब्ध गराउनुपर्छ । स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न लगानीमैत्री वातावरण बनाउनुपर्छ ।

नेपालको शिक्षा प्रणालीलाई ‘मजदुर उत्पादन गर्ने कारखाना’का रूपमा रहिरहन दिनु हुँदैन । हामीले यस्तो शिक्षा प्रणाली विकास गर्नुपर्छ जसले सक्षम, सिर्जनशील, उद्यमी र देशभक्त नागरिकहरू उत्पादन गरोस् । जब हाम्रो युवा जनशक्तिले आफ्नै देशमा अवसर पाउँछ, तब मात्र नेपालले सही अर्थमा विकासको बाटोमा लम्कन सक्छ र आत्मनिर्भर बन्न सक्छ । यो मे १ को सन्दर्भमा हामी सबैले मनन गर्नुपर्ने गम्भीर विषय हो ।

शिक्षा नीतिले युवाका सपना, क्षमता र सिर्जनशीलतालाई समेट्न सक्यो भने देशको उत्पादन बढाउने उद्यमीका साथै कलाकार, नेता उत्पादन हुन्छन् । मजदुर दिवसको यो अवसरमा हामीले शिक्षाको नयाँ युग सुरु गर्नैपर्छ । अब विदेश जाने होइन, देश बनाउनेको सपना हुर्काउने शिक्षा दिइयोस् । अबको शिक्षाले क्याम्पसको गेटबाटै स्टार्टअप खोल्ने आँट दियोस् । अबको शिक्षाले देशलाई हर क्षेत्रमा आत्मनिर्भर बनायोस् र नागरिकलाई जहाँ गए पनि आफ्नो शिक्षा अनुरुपको जागिर गर्न सक्ने बनायोस् ।

निष्कर्ष  

मजदुर हुनु अपमानजनक होइन, तर सिर्जनशील शिक्षाले मानिसलाई छनोटको स्वतन्त्रता दिनुपर्छ— ऊ चाहेर खेलाडी बन्न सक्छ, लेखक बन्न सक्छ, व्यवसायी बन्न सक्छ । बाध्य भएर बिदेसिनुपर्ने अवस्था हुनु हुँदैन । शिक्षा प्रणालीले व्यक्तिको क्षमता उजागर नगरी उसलाई दोस्रो दर्जाको श्रमिक बनाउँछ भने त्यो राष्ट्रका लागि गम्भीर संकट हो । हामीले अब पढेर बिदेसिने होइन, पढेर स्वदेश बनाउने शिक्षा प्रणाली बनाउनुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तुम्सिङ तारा मगर
तुम्सिङ तारा मगर
लेखकबाट थप