सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय
किताबका कुरा

‘पुस्तक चोर्ने आफ्नै घरमा आउने नजिकका मान्छे हुन्छन्’

शनिबार, २० वैशाख २०८२, १६ : ३०
शनिबार, २० वैशाख २०८२

आख्यानकार उमा सुवेदीका पाँच कृति प्रकाशित छन्— उपन्यास ‘तोदा’ (२०७०) र ‘इति’ (२०७३), कथासंग्रह ‘सयौँ पुतली’ (२०७५), गजलसंग्रह ‘तप्किएर अञ्जुलीमा’ र गीतिसंग्रह ‘तिर्सनाका छालहरू’ । 

यतिखेर उनी नयाँ उपन्यासको सम्पादनमा व्यस्त छन् । यसपालि रातोपाटीको ‘किताबका कुरा’ स्तम्भमा हामीले उनैलाई निम्त्यायौँ ।  

  • अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ? 

म मेरै नयाँ उपन्यासको अन्तिम चरणको सम्पादनमा छु । त्यसैले अरूको कम पढिरहेको छु । आफ्नै कृतिलाई धेरै समय दिइरहेकी छु । केही दिन अघि भने जीवा लामिछानेको ‘अक्षत अन्टार्कटिका’ र रमेश भुसालको ‘छालबाटो’ पढेकी थिएँ । पृथ्वीको सबैभन्दा रहस्यमय र सबैको चासो रहेको स्थान अन्टार्कटिकाको रोमाञ्चक वर्णन छ, अक्षत अन्टार्कटिकामा । त्यहाँको भौगोलिक अवस्था, विभिन्न समयमा त्यो भूगोलको अन्वेषण गर्दा पाइएका कुराहरू, विभिन्न वैज्ञानिकका प्रयासहरू समेतको ज्ञान दिन्छ । मेरो पहुँचभन्दा बाहिरको स्थान र त्यहाँ के होला भन्ने कुतूहल समेत भएको ठाउँमा लेखक स्वयं पुगेर आफ्नो अनुभव लेख्नुभएको भएर पनि यो कृति निकै आकर्षक लाग्यो । 

कैलाशदेखि गंगासम्म कर्णाली नदीको तीरैतीर गरेको लामो यात्रा समेटिएको छ छालबाटोमा । कर्णालीको उद्गम बिन्दु कैलाशदेखि कतै गुडेर कहिले हिँडेर अनि कहिले डुंगामा चढेर गरिएको यात्रा वृत्तान्त निकै रोचक लाग्यो । दुवै किताबमा पर्यावरणप्रति चिन्ता र चासो व्यक्त गरिएकाले पनि दुवै किताबबाट प्रभावित भएँ ।

  • यहाँलाई मन परेका नेपाली लेखक र पुस्तक ? 

मन परेका पुस्तकहरू त धेरै छन् । तीमध्ये अहिले झट्ट स्मरणमा आएको जगदीश घिमिरेको लघु आकारको उपन्यास लिलाम हो । यस कृतिमा रामेछापका माझी समुदायभित्रको कथा–व्यथालाई उजागर गरिएको छ । मलाई यसको सबैभन्दा मनपर्ने कुरा भनेकै यस उपन्यासभित्रको विद्रोही चेतना हो । ग्राम्य जीवनका पात्रलाई विश्वासिलो र स्मरणीय ढङ्गले प्रस्तुत गरिएको लिलाम उपन्यास सधैँ मेरो मानसपटलमा रहिरहेको छ । 

अर्काे पनि सम्झेँ— कारागार । लेखक वानिरा गिरिलाई अमर बनाउने उपन्यास हो यो । यसले नारी अस्मिताको बहसलाई सतहमा ल्याउँछ । जुन बेला नेपालमा नारीवादको बहसले खासै ठाउँ पाएको थिएन, त्यस्तो बेलामा सचेत रूपमा यस उपन्यासले यस प्रकारको बहसलाई साहित्यको केन्द्रमा ल्याएको थियो । यस्ता थुप्रै छन् । 

हरेक असल किताबले पाठकको बुझाइलाई प्रभावित गर्छन् । सोचमा हस्तक्षेप गर्छन् । मैले पढेका र रुचाएका सबै किताबले मेरो सोचलाई कुनै न कुनै किसिमले प्रभावित गरेकै छन् ।
  1. तपाईंले कुनै पुस्तक कतैबाट चोर्नुभएको छ कि ?

चोरेकै त याद छैन । चोर्न मन लागेर नचोरेको याद आयो । त्यति बेला कक्षा ८ मा पढ्थेँ । प्रकाश कोविदको कभर च्यातिएको उपन्यास, सायद समिरा हुनुपर्छ, साथीले किताबको चेपमा लुकाएर आएकी थिई । उपन्यास भनेको के हो भन्ने पनि राम्ररी थाहा थिएन । साथीले ब्रेकमा पानी खान पनि नगई ध्यान दिएर पढेको र त्यसमा भएका प्रेम प्रसंगहरू अद्भुत शैलीमा आफूले बुझे अनुसार व्याख्या गरेपछि त्यो किताबप्रति लोभिएँ । उसले आफ्नो दाजुबाट चोरेरै ल्याएर स्कुलमा खाली समयमा खाजा–पानी नखाई पढ्नुपरेको र लगेर दाजुले राखेकै ठाउँमा हरेक दिन राखिदिनुपर्ने कुरा सुनाइसकेकी थिई । त्यो किताब चोर्न निकै प्रयत्न गरेँ, तर उसको निगरानी कडा थियो या मेरो चोर्ने कला कमजोर भएर होला चोर्न सकिनँ । 

  • पुस्तक हराएका वा चोरी भएका घटना छन् कि ? 

हराएका भन्दा पनि गायब हुन्छन् बेला बेलामा । पुस्तक चोर्ने आफ्नै घरमा आउने नजिकका मान्छेहरू हुन्छन् । लाइब्रेरी रुमबाटै गायब भएका छन् कतिपय त । कति चैँ पढ्न लाने र लानेलाई आफैँले किनेको भन्ने भ्रम भएर मैले दिएर पढ्नु भएको हो भन्दा पनि नफर्काएका घटनाहरू पनि प्रशस्तै छन् । 

  • आफूले खोजेको तर नभेटेको वा मुस्किलले भेटेको कुनै पुस्तक छन् ? 

अहिलेको समयमा पढ्ने चाहना हुँदा खोजेर नभेटिने पुस्तक के नै होला र ! मेरो त्यस्तो अनुभव छैन । बजारमा नभेटेर साथीभाइसित सोधपुछ गरेर या सामाजिक सञ्जालमै सोधेर पनि किताब भेटेकी छु ।

उसले आफ्नो दाजुबाट चोरेरै ल्याएर स्कुलमा खाली समयमा खाजा–पानी नखाई पढ्नुपरेको र लगेर दाजुले राखेकै ठाउँमा हरेक दिन राखिदिनुपर्ने कुरा सुनाइसकेकी थिई । त्यो किताब चोर्न निकै प्रयत्न गरेँ, तर उसको निगरानी कडा थियो या मेरो चोर्ने कला कमजोर भएर होला चोर्न सकिनँ ।

यहाँले पहिलोपटक पढेको ठुलो आकारको पुस्तक कुन थियो ? त्यसबाट के पाउनुभयो ? 

सायद स्वस्थानी हुनुपर्छ । सानैमा पनि मेरो बोली प्रस्ट थियो । किताब छिटो पढ्न सक्थेँ । हाम्रो घरमा स्वस्थानीको किताब थियो । स्वस्थानीको किताब घरमा भएपछि पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म वर्षमा एक महिना स्वस्थानी कथावाचन गर्नैपर्छ भन्ने आमाबुबाको मान्यता थियो । वाचन गर्न बुबाले मलाई नै लगाउनुहुन्थ्यो । बाल्यकालमा पढेको उक्त पुस्तकको महिमा त्यो बेला व्यापक थियो । त्यो बाल्यकालीन समय थियो । राम्रो र छिटो पढ्छे भनेर सुन्नेजत्तिले गरेको प्रशंसा पाएँ ।

साहित्यको हिसाबमा भन्नुपर्दा मैले पढेको पहिलो ठुलो आकारको कृति चाहिँ मदनमणि दीक्षितको माधवी उपन्यास नै हुनुपर्छ । वैदिककालीन समाजको चित्रण जस्तै करिब तीन हजार वर्षअघिको उत्तरवैदिक समाजको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक अवस्था साथै दासप्रथाको अन्त्यको कथा, पितृसत्तात्मक समाजमा नारीको असहायता, शोषण र संघर्षका कथाहरू, पुरुष अहंकारले नारीमाथि गरेको अत्याचार र समाजको मनोविज्ञान आदि यस कृतिमा बुझ्न सकिन्छ । 

  • तपाईंको सोचलाई नै बदलेको कुनै पुस्तक छ कि ? 

प्रिय लागेका या रुचाइएका किताबले चेतनामा कुनै न कुनै किसिमले प्रभाव त पारेकै हुन्छन् । हरेक असल किताबले पाठकको बुझाइलाई प्रभावित गर्छन् । सोचमा हस्तक्षेप गर्छन् । मैले पढेका र रुचाएका सबै किताबले मेरो सोचलाई कुनै न कुनै किसिमले प्रभावित गरेकै छन् । एउटै कृतिले मेरो पूरै सोच परिवर्तन गरिदिएको भन्ने चैँ मलाई लाग्दैन ।

  • आख्यान र गैरआख्यानमध्ये कुन विधाका पुस्तक बढी पढ्न रुचाउनुहुन्छ ? 

आख्यान लेखनमा रुचि भएकाले स्वभावतः अरू लेखकले कस्तो आख्यान लेखे भनेर जिज्ञासा हुँदोरहेछ । त्यसैले पनि आख्यान बढी पढिने रहेछ । केही समययता वैचारिक विमर्शले पाठकलाई अझ बढी सचेत बनाउँछ भन्ने लागेर मेरो गैरआख्यान पढ्ने क्रम बढेकोे छ । 

  • यहाँलाई कुन कुराले लेख्न प्रेरित गर्छ ? 

लेख्न प्रेरित गर्ने धेरै कुरा हुन्छन् । पछिल्लो समयमा जातीय विभेदले समाजमा पारेको नकारात्मक असर, लैंगिक विभेदले महिलाहरूलाई पारेको सामाजिक, सांस्कृतिक, आर्थिक असर आदि समस्याले मलाई बिथोलिरहेको छ । खराब राजनीतिका कारण देशमा भएका भ्रष्टाचार, बेथिति जस्ता मुद्दाका विरुद्धमा आवाज उठाउन मन लाग्छ । आवाजविहीनहरूको आवाज बन्नुपर्छ भन्ने लाग्छ । विशेष गरेर महिलाहरू माथि परिवारले, समाजले र राज्यले गरेका विभेदले मेरो लेखक व्यक्तित्वलाई छुन्छ । 

  • आजका पाठकलाई के सुझाव दिन चाहनुहुन्छ ?

जिज्ञासु भएर निरन्तर पढ्नुहोस् । लेखकलाई होइन, लेखनलाई प्राथमिकता दिएर पढ्नुहोस् । सबैको पढे पनि धारणा चाहिँ आफ्नै निजी बनाउनुहोस् । अहिलेको डिजिटल युगमा पढ्ने सामग्रीको भीड छ । समय र समाजसँग सान्दर्भिक कृति छानेर पढ्नु । 

  • आगामी दिनका लागि के छ तपाईंको योजना ?

मैले नयाँ उपन्यास लेखिसकेँ । अब यसैको प्रकाशन पूर्वका प्रक्रियागत कामहरूमा व्यस्त छु । यसलाई चाँडै प्रकाशनमा ल्याउने तयारीमा छु ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप