बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय
फिचर

‘अब नेपालमै सबैथोक छ भन्ने भाष्य स्थापित गर्न चाहन्छु’ (भिडियोसहित)

मङ्गलबार, २३ वैशाख २०८२

काठमाडौँ । सन् २००० तिर हो । त्रिभुवन विश्वविद्यालय रसायनशास्त्रकाका विद्यार्थी लोक कुमार श्रेष्ठलाई जापान जाने अवसर मिल्यो । 

मास्टर्समा उनी प्रोफेसर राजाराम प्रधानाङ्गको रिसर्च विद्यार्थी थिए । प्रधानाङ्गको रोहबरमा उनी रिसर्च गर्थे । 

त्यही वेला उनलाई जापानमा एक सम्मेलनमा जाने अवसर मिल्यो । नेपाल केमिकल सोसाइटीमार्फत उनी जापान गए । त्यहाँ उनको पहिलो ध्यान नै ‘कुनै देश कसरी यति सफा हुन्छ’ भन्नेमा गयो । 

पहिलो पटक पुगेका उनले त्यहाँ निकै सफा देखे । सबै मानिस अनुशासित । जे पनि सिस्टममा चलेको । उनी चकित परे । यस्तो देखेपछि उनलाई जापानप्रति मोहनी लाग्यो । 

उनी नेपाल फर्किए । त्यसपछि उनले जापानको त्यो व्यवस्थित सहर नै आफ्नो करिअर देखे । 

र पीएचडीका लागि जापानलाई नै रोजे । तीन वर्षको प्रयासपछि उनी जापानको शिक्षा मन्त्रालयले प्रदान गर्ने छात्रवृत्ति पाउन सफल भए । 

‘सबै सफा, मानिसहरू पनि एकदमै हेल्पफुल । यी सबै कुराबाट म प्रभावित भएँ,’ श्रेष्ठ त्यो वेलाको अनुभव सुनाउँछन् । 

तर, उनलाई त्यहाँ सुरुमै भाषाको समस्या आइलाग्यो । प्रोफेसरले जापानी भाषा सिक्न भने । अंग्रेजीले काम नगर्ने भएपछि जापानी भाषा सिक्न थाले । 

अध्ययनका क्रममा नेपाली ल्याबमा काम गरेका उनी जापानको ल्याब देखेर भने निकै उत्साहित बने । ‘अत्याधुनिक पर्याप्त सेवा सुविधा भएका आधुनिक ल्याब देखेर म एकदमै एक्साइटेड भएँ,’ श्रेष्ठ सुनाउँछन्, ‘त्यहाँको सुविधा देखेर यति धेरै काम गर्थे कि, बिहानै हिँडिहाल्थेँ ।’ 

rajaram-pradhananga-2

त्यसो त नेपालमा पनि कामप्रति लगनशील नभएका होइनन् उनी । तर उनलाई त्यहाँको ल्याबले जति तान्थ्यो, यहाँ भने त्यस्तो महसुस नगरेको बताउँछन् । 

उनले त्यहाँ कामको सिलसिलामा जापानी साथीहरू मात्रै भेटेनन्, अन्य देशका प्रोफेसर तथा रिसर्चरहरूसँग समेत काम गर्ने मौका पाए । जसले गर्दा उनी प्रतिदिन निखारिन पाए । 

त्यहाँ रहँदा आफूले एउटा कुरा भने नेपालको जस्तै पाए । सानालाई माया गर्ने, ठुलाको आदर गर्ने । र, आफन्तकहाँ कोसेली लिएर जाने चलन त्यहाँ पनि देखेपछि पनि उनी उत्साहित भए । 

उनको बसाइ लम्बिँदै गयो । श्रीमतीलाई समेत पनि लगे । र जापानमै छोरी जन्मिए । अहिले उनकी छोरी जापानकै युनिभर्सिटीमा अध्ययनरत छिन् । 

झापामा जन्मिएका श्रेष्ठले एसएलसी कन्काई मावि सुरुङ्गाबाट पास गरे । त्यसपछि सेन्ट्रल क्याम्पस अफ टेक्नोलोजी धरानबाट उनले आईएस्सी गरे । र महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगरबाट कलेजसम्मको अध्ययन । 

नेपालमै समेत उनले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूलाई पीएचडी गराउँदै आएका छन् । 

सन् २००१ मा भने उनले त्रिवि रसायनशास्त्र केन्द्रीय विभागबाट एमएस्सी गरे । त्यसपछि उनी पीएचडी गर्न जापान लागेका थिए । जापानमा सन् २००८ मा योकोहामा नेसनल युनिभर्सिटी, जापानबाट सिस्टम मटेरियल्स विषयमा पीएचडी हुन् उनी । 

लामो समयदेखि जापानमा बसेर मटेरियल साइन्सबारे खोज अनुसन्धान गर्दै आएका उनी आफू मात्रै अध्ययन अनुसन्धान गर्दैनन्, नेपाल तथा अन्य देशबाट समेत रिसर्चरहरूलाई बोलाएर अध्ययन गर्दै आएका छन् । 

नेपालमै समेत उनले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूलाई पीएचडी गराउँदै आएका छन् । 

हालसम्म थुप्रैलाई खोज अनुसन्धानमा सहयोग गर्दै आएका उनी पुल्चोक क्याम्पस र त्रिभुवन विश्वविद्यालयमा भिजिटर प्रोफेसरका रूपमा वेला–वेला नेपाल आउने गरेका छन् । 

साथै उनी धेरै नेपाली वैज्ञानिक तथा रिसर्चरहरूका प्रेरणाका स्रोत बनिरहेका छन् । 

  • नेपाली र जापानी अनुसन्धानकर्ताको सोच  

हाल श्रेष्ठ नेसनल इन्स्टिच्युट फर मटेरियल्स साइन्स (निम्स) को चिफ रिसर्चरका रूपमा छन् । उनीकहाँ धेरै देशका वैज्ञानिक आउजाउ गरिरहन्छन् । 

उनीहरूको सोचाइ तथा काम गर्ने शैलीबारे उनी जानकार छन् । भन्छन्, ‘जापानमा काम गर्दा व्यक्तिवाद हाबी हुँदैन । जे कुरा पनि समाजका लागि भन्ने हुन्छ ।’ 

नेपाल प्राकृतिक रूपमा निकै धनी छ । मटेरियल साइन्सको रिसर्चका लागि त्यही प्राकृतिक स्रोतहरू आवश्यक पर्छन् । जहाँ प्राकृतिक स्रोतहरू खेर गइरहेका छन् ।

नेपालमा व्यक्तिवादी हुने देखेका उनी भन्छन्, ‘जापानमा सोसाइटी वा देश भन्ने हुन्छ । सोसाइटीका लागि रिसर्च गरेको भन्छन् । नेपालमा त जे पनि मैले गरेको हुँ, म थिइनँ भने यो हुँदैन थियो भन्ने खालको हुन्छ । म नै पहिलो हो भन्ने हुन्छ,’ उनले भने । 

नेपालमा पछिल्लो समय विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालय पढेर आएका बढे पनि काम गर्ने तौरतरिका भने उनी खासै फरक देख्दैनन् । नेपाली रिसर्चरहरूले विश्वसँग प्रतिस्पर्धा गर्न नसक्नुको मुख्य कारण भौतिक संरचना र सुविधाको कमी देख्छन् । 

‘मटेरियल साइन्सका लागि अध्ययन गर्दा चाहिने बेसिक निडहरूसमेत भएन । एक्सपेरिमेन्टल गर्नका लागि धेरै उपकरण चाहिन्छन् । ल्याबका धेरै सामानहरू निकै महँगा हुन्छन । यो सबै नेपालमा छैनन् । जसले गर्दा यहाँ काम गर्न गाह्रो छ’, यद्यपि पहिलाभन्दा सुधार भइरहेको उनी बताउँछन् । 

  • नेपालमा मटेरियल साइन्सको सम्भावना 

नेपाल प्राकृतिक रूपमा निकै धनी छ । मटेरियल साइन्सको रिसर्चका लागि त्यही प्राकृतिक स्रोतहरू आवश्यक पर्छन् । जहाँ प्राकृतिक स्रोतहरू खेर गइरहेका छन् । त्यसैले नेपालमा मटेरियल साइन्सको सम्भावना निकै बलियो देख्छन् श्रेष्ठ । 

‘जस्तो: उखु । उखुको जुस खान्छौँ । उखु पेलेपछि त्यसको पोथ्रा हुन्छ । त्यसलाई विभिन्न खालका रसायनहरू प्रयोग गरेर पानी शुद्धीकरणमा प्रयोग गर्न सकिन्छ, कार्बनाइज गरेर कार्बन बनाएर वाटर फिल्टर, वाटर प्युरिफाई मटेरियल्स बनाउन पनि सकिन्छ,’ उनी सुनाउँछन् । 

स–साना कुरामै पनि निकै सम्भावना देख्छन् उनी । 

त्यस्तै प्लास्टिकबाट पनि सहजै कार्बन बनाउन सकिने उनी बताउँछन् । ‘यसको लागि प्रविधि चाहिन्छ । त्यस्तै ग्रिन हाइड्रोजन, मेडिकल, इनर्जीको सेक्टरमा समेत धेरै सम्भावना छ,’ उनी बताउँछन् । 

  • त्यसो भए समस्या कहाँ छ ? 

नेपालमा धेरै सम्भावना भए पनि समाजको समाजले हेर्ने दृष्टिकोण पहिलो समस्या ठान्छन् उनी । ‘नेपालमा केही गर्न लाग्यो भने समाजले नराम्रो दृष्टिकोणले हेर्छ, खिसी गर्ने चलन छ,’ श्रेष्ठ भन्छन्, ‘यहाँ आम मानिसलाई तुरुन्तै परिणाम चाहिएको हुन्छ । तर, वैज्ञानिक खोज अनुसन्धानले अहिलेको अहिल्यै त नतिजा दिँदैन नि ।’ 

रिसर्च भएका विषय जनमानसमा पुर्‍याउन नसक्नु दुःखद भएको उनी बताउँछन् । ‘जापानमा उद्योगधन्दा बढी छन् । वैज्ञानिकहरूले गरेका रिसर्चअनुसार उद्योगधन्दाहरूले व्यावसायिक रूपमा उत्पादन थाल्छन् । तर, नेपालमा त्यस्तो हुन सकेन,’ उनी दुःख पोख्छन् । 

जापानमा कुनै वैज्ञानिकसम्बन्धी कार्यक्रम हुँदा नेपालीले आफ्नो रिसर्च पेपर पेस गर्छन् र उक्त पेपर स्वीकृत भए जान पाउँछन् । त्यसरी जानेहरूलाई सम्बन्धित संस्थाले नै सहयोग गर्छन् । 

जापानमा वैज्ञानिकका रिसर्च उद्योगधन्दामा प्रयोग हुन्छन् । रिसर्च आर्टिकलहरू उद्योग तथा व्यावसायिक प्रयोजनले हेरिन्छ । त्यसैअनुसार उद्योगले व्यावसायिक उत्पादन थाल्छ । र जनमानसमा जान्छ । तर नेपालमा भने उद्योग नै कम भएकाले आम जनमानसमा पुग्न नसकेको उनी देख्छन् । 

यसमा उनले बागमतीको पानी शुद्धीकरणको विषय उदाहरणस्वरूप प्रस्तुत गरे । ‘बागमतीको पानी प्युरिफाई गर्ने ज्ञान नभएको पनि होइन । सबै थोक छ । तर, त्यो उच्च तहमा गर्न उद्योग आउनुपर्‍यो । अनुसन्धानकर्ताहरू तथा वैज्ञानिकहरूले त फर्मुला दिने हो । त्यो मास रूपमा काम गर्ने भनेको त उद्योग व्यवसायले हो,’ उनी सुझाउँछन् ।  

  • नेपालीलाई कसरी लैजान्छन् ? 

उनले हालसम्म धेरै नेपालीलाई जापानमा आफूमातहत रिसर्चको काम लागि लगिसके । नेपालीबाहेक अन्य विभिन्न देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू उनीमातहत छन् । 

जापानमा कुनै वैज्ञानिकसम्बन्धी कार्यक्रम हुँदा नेपालीले आफ्नो रिसर्च पेपर पेस गर्छन् र उक्त पेपर स्वीकृत भए जान पाउँछन् । त्यसरी जानेहरूलाई सम्बन्धित संस्थाले नै सहयोग गर्छन् । 

अर्को विकल्प भनेको सम्बन्धित अनुसन्धान केन्द्रका प्रमुख तथा अधिकारीहरूले बोलाउन सक्छन् । 

‘म वर्षमा १/२ जना रिसर्चर बोलाउँछु । त्यसका लागि खर्च मैले नै व्यवस्थापन गर्छु । विद्यार्थीहरूलाई इन्टनसिपमा बोलाउँछौँ,’ मास्टर वा पीचएडी फेलोसिप पनि हुने उनी बताउँछन् । 

जापानमा व्यक्तिगत खर्चमा रिसर्च गर्न जान निकै छ । धेरै खर्चिलो हुन्छ । त्यसैले नेपाल तथा अन्य देशहरूबाट अध्ययन गर्न जाने केही न केही विकल्प खोजेर जाने गरेका छन् । 

प्राडा श्रेष्ठले अहिलेसम्म दर्जनौँ नेपाली रिसर्चरलाई जापान बोलाएर काममा सहयोग गर्दै आएका छन् । उनीसँग नेपाली विद्यार्थी मात्र नभई संसारका विभिन्न देशका रिसर्चरहरू समेत जोडिएका छन् । 

पीएचडी सकेर नेपाल फर्किन आउने योजना बनाएका उनले जापान जानुअघि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकका लागि आवेदन दिएर लिखित परीक्षासमेत दिइसकेका थिए । तर त्यसबिचमा उनी जापान पुगे । यता लिखित परीक्षाको नतिजा आयो । उनी पास भए । त्यसपछि अन्तर्वार्ताका लागि बोलाइयो । र उनी जापान पुगेको ६ महिनामै नेपाल फर्किए । 

तर उक्त विज्ञापनविरुद्ध अदालतमा मुद्दा पर्‍यो । अन्तर्वार्ताको एक दिन अगाडि स्थगित भयो । त्यसपछि उनी पुनः जापान फर्किए । 

केही समयपछि पुनः अन्तर्वार्ताको मिति तोकियो तर उनी आएनन् । उनका जापानी प्रोफेसरले पनि उनलाई नफर्कन सुझाव दिए । 

पछि उनले पीएचडी सके । रिसर्चहरूमा रमाउन थाले । अनि उतै जमे । 

त्यसपछि उनले अर्को पोजिसनका लागि अप्लाई गरे । इन्टरनेसल सेन्टर फर योङ्ग साइन्टिस भन्ने एकदमै राम्रो रिसर्च सेन्टर थियो । त्यहाँ उनले आवेदन दिए । र त्यसका लागि उनी छानिए । त्यहीँ काम गर्दै अध्ययन गरे । र उनी जापानमै स्थापित हुन खोजे । 

पछि उनले पर्मानेन्टका लागि अप्लाइ गरे । त्यहाँ पनि म सेलेक्ट भए । त्यसपछि विश्वविद्यालयको प्रोफेसर भए । जसले गर्दा उनलाई नेपाल फर्किने वातावरण मिलेन । 

‘तिमीहरू गएर फर्किनुपर्छ भन्छु । कहिलेकाहीँ म आफूलाई नै भगौडा भन्छु । तिमीहरू मजस्तो भगौडा हुनुहुँदैन भनेर सम्झाउँछु,’ उनले वास्तविकता सुनाए । 

आफू नेपाल फर्किन नपाएपछि उनले पढाउने विद्यार्थीहरूलाई भने नेपाल फर्किने प्रतिबद्धता गराउँछन् । 

‘मेरा विद्यार्थीहरूलाई पढाइ सकेपछि अवश्य पनि नेपाल फर्किन भन्छु । तिमीहरूले जब पाइ हाल्छौं । पहिलोका जस्तो लिमिटेड इन्स्टिच्युट छैनन्,’ श्रेष्ठ भन्छन्, ‘अहिले धेरै विश्वविद्यालयहरू खुलेका छन् । अवसरहरू पनि धेरै छन् । 

आफ्ना देशका नागरिकलाई बोलाएर दक्ष बनाएर फर्काउने योजनामा छन् उनी । ‘तिमीहरू गएर फर्किनुपर्छ भन्छु । कहिलेकाहीँ म आफूलाई नै भगौडा भन्छु । तिमीहरू मजस्तो भगौडा हुनुहुँदैन भनेर सम्झाउँछु,’ उनले वास्तविकता सुनाए । 

तर नेपालमा नियमित आइरहन्छन् । वैज्ञानिक अनुसन्धानमा सहयोग गरिरहन्छन् । ‘तर पनि एक तरिकाले यहाँका मान्छेले भागेको भन्छन् । म आफूलाई समेत त्यस्तै लाग्छ । तर मेरो विद्यार्थीहरूलाई रिसर्च सकेपछि नेपाल फर्किनुपर्छ भन्छु,’ उनी सुनाउँछन् । 

नेपालमा समेत उनका दुई जना पीएचडी विद्यार्थी छन् । त्यसका लागि भए पनि उनी वेला–वेला नेपाल आउँछन् । उनीहरूले पढ्दै गर्दा आफ्नो भविष्यबारे चिन्ता व्यक्त गरेको देख्छन् । आफ्नो पनि भविष्य अन्योल भएको उनलाई लाग्छ । 

‘जापानमा कुन दिन पीएचडी सक्छन्, कुन दिन ग्रेजुएसन हुन्छ, त्यो अहिल्यै भन्न सकिन्छ । तर, नेपालमा त्यस्तो नहुँदा विद्यार्थीहरू निराश हुने गरेका छन्,’ उनी अवस्था बताउँछन् । 

  • नेपाल कहिले फर्किने ? 

चाँडै नेपाल फर्किने सोचमा रहेका श्रेष्ठ आफ्नो ऊर्जाशील समय जापानमै बिताउँदा सिकेको ज्ञान, सीप नेपालका लागि खर्चन चाहन्छन् । आफूले सिकेको सीप तथा ज्ञान नयाँ पिँढीलाई साट्न चाहन्छन् । त्यसका लागि उनी उपयुक्त समयको पखाइमा छन् । 

नेपाल फर्किएपछि आफूलाई सहज बनाउने प्रयासमा पनि छन् उनी । त्यसका लागि अहिल्यैदेखि मानसिक रूपमा तयार भइसकेका छन् । नेपालमा केही हुँदैन भन्ने भाष्य बदल्न चाहन्छन् । त्यसका लागि उनी जसरी भए पनि नेपाल आउने चाहनामा छन् । 

‘आफ्नो देश भए, आफ्नो माटो भएकाले सहज नभए पनि सहज बनाउनुपर्छ । अलि अलि गाह्रो भयो भने पनि गर्नुपर्छ,’ उनको बुझाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया