हेटौँडा गाडी भासिएको घटनाः ५ स्थानको ६० बढी नमुना बोकेर फर्कियो टोली

हेटौँडा । उपमहानगरपालिका–१६ मा जमिन भासिएर हराएको गाडी खोजीमा संलग्न भूगर्भविद्को टोली प्रारम्भिक अनुसन्धानपछि काठमाडौँ फर्किएको छ । घटनास्थलमा भूगर्भीय जोखिम रहेकाले तत्काल थप अध्ययन गर्न कठिन भएपछि टोली बुधबार काठमाडौँ फर्किएको हो ।
घटनास्थलको जमिन र त्यस वरपर अत्यधिक कमजोरी देखिएकाले थप अध्ययन तत्काल सम्भव नभएको भूगर्वविद् कृष्ण पाण्डेले बताए ।
बुधबार बिहानबाट सुरु गरिएको अध्ययनका क्रममा खाल्डोभित्र पावर अगर प्रयोग गर्ने क्रममा जमिन थप भासिने र पानीको तह बढ्दै गएपछि अध्ययन कार्य स्थगित गरिएको उनले बताए । उक्त अवस्थामा जमिन कम्पन वा धक्काको कारण तरल बन्ने भएकाले अध्ययन जोखिम देखिएकाले टर्मिनेट गरिएको उनले बताए ।
उक्त स्थानमा गत शुक्रबार ना४ च ४८३३ नम्बरको डीआई पिकअप गाडी कच्ची सडकमा जमिन भासिएर हराएको थियो ।
२ दिनसम्म अप्रत्यक्ष प्रविधिको प्रयोग गरेर अध्ययन गरिएको थियो । जमिनमाथि माटो देखिए पनि सतहमुनि फाइन स्यान्ड (मसिनो बालुवा) र दलदल परेको माटो रहेको उनले बताए । म्याग्नेटो मिटरको प्रयोगका आधारमा गाडी ६ मिटर गहिराइमा पुरिएको अनुमान गरिएको र त्यहाँ भूमिगत जलको मिश्रणले जमिनको सतह कमजोर रहेको अध्ययनको प्रारम्भिक रिपोर्ट रहेको उनले बताए ।
‘घटनास्थलमा जमिन चिरा पर्ने र पाटिने क्रम बढ्यो । हामीले खाल्डोभित्र केही स्थानमा पावर अगर प्रयोग गरिरहरेका थियौँ,' भूगर्भविद् पाण्डेले भने,'केही स्थानको काम नै पूरा गर्न सक्ने अवस्था बनेन ।’
उनका अनुसार बुधबारको अध्ययनमा गाडीको लनेकेसन पत्ता लगाउने विषय प्राथमिकतामा थियो । 'हामीले म्याग्नेटबाट उक्त लोकेसनलाई मार्किङ पनि गरेका थियौँ । नतिजा सकारात्मक पनि थियो । बुधबारको अध्ययनमा सो आसपासको जमिनको अवस्था प्राथमिकतामा थियो,' उनले भने, 'सोहीअनुसार काम गर्दै जाँदा थप जोखिम हुने देखियो र अध्ययन कार्य स्थगित गरिएको हो ।’
उनका अनुसार सम्भावित जोखिम मध्यनजर गर्दै हेटौंडा उपमहामनगरपालिकाले वरपर ५० मिटर क्षेत्रलाई सिल गर्न सुझाव दिएको छ । सुरक्षा सतर्कतासहित बढी भारवहन भएका सवारीसाधन आवतजावतमा पनि रोक लगाउन आग्रह गरिएको उनको भनाइ छ । २ दिनको अध्ययनको रिपोर्टपश्चात थप प्रक्रिया अघि बढाउने गरी समन्वय गर्नेगरी टोली काठमाडौँ फर्किएको उनले बताए ।
उनका अनुसार सो स्थानबाट तत्काल गाडी निकाल्ने वा सो प्रकृतिको काम नगर्न आग्रह गरिएको छ । सो क्षेत्रमा निर्माण कार्य गर्नुअघि भूगर्भीय परीक्षणको आवश्यकता देखाएको उनले बताए । विशेषगरी माछापोखरी, कुलो, सिँचाइ प्रणाली र बोरिङजस्ता संरचनाहरूका कारण जमिन थप कमजोर हुने भएकाले भूगर्भको अध्ययन अनिवार्य रहेको उनको भनाइ छ ।
६० बढी नमुना संकलन
उक्त स्थानको जोखिमयुक्त क्षेत्र पहिचानका लागि घटनास्थलका स्थानसहित वरपरका विभिन्न स्थानबाट नमुना संकलन गरिएको छ । घटनास्थल र आसपासका ५ स्थानबाट ६० बढी नमुना लिएर परीक्षणका लागि काठमाडौँ फर्किएको भूगर्भविद् पाण्डेले बताए ।
उनका अनुसार गाडी भासिएको खाल्डोबाट पावर अगरको सहायता र सो क्षेत्रबाट ४० बढी नमुना संकलन गरिएको उनले बताए । मंगलबार र बुधबार गरेर खाल्डोबाट ७ स्थानमा पावर अगर प्रयोग गरेर ४० बढी नमुना संकलन गरिएको उनले बताए । खाल्डोबाहेक सो आसपास क्षेत्रका ४ स्थानबाट प्रतिस्थान ७ वटा नमुना संकलन गरिएको पनि उनले बताए ।
उक्त नमुना परीक्षणपछि थप अध्ययनको काम अघि बढाउन उपयुक्त हुन उनको भनाइ छ । उक्त स्थानको भौगोलिक अवस्थितिको तथ्याङ्कीय रिपोर्टका आधारमा दोस्रो चरणको अनुसन्धान थालिने पाण्डेले जानकारी दिए ।
उनका अनुसार रिपोर्टका आधरमा विभागले थप प्रविधि र जनशक्ति पठाउन सक्नेछ । हाल उक्त स्थान अध्ययनका लागि भौगर्भिक नक्सांकन, प्रोटोन म्याग्नेटो मिटर र पावर अगरको प्रयोग गरिएको उनले बताए । विभागमार्फत उक्त स्थान अध्ययनका लागि विद्युतीय तरंगमार्फत अध्ययन गर्ने, स्टान्डर पेनिट्रेसन टेस्टलगायत विधिबाट अध्ययन गर्न सकिने उनको भनाइ छ ।
उनका अनुसार २०६२ सालमा हेटौंडाको भौगर्भिक अध्ययनका क्रममा प्रकाशित नक्सामा उक्त क्षेत्रमा संरचनाहरू निर्माण नगर्न सुझाव दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली नोटसहित हेटौँडाबाट एक जना पक्राउ
-
मुम्बई र पञ्जाबको आईपीएल खेल धर्मशालाबाट अहमदाबाद सारियो
-
मकवानपुर महिला गोल्डकपको उपाधि एपीएफले जित्यो
-
एक सातादेखि पूर्वराजा ज्ञानेन्द्र नगरकोटमा, राजावादीसँग तारन्तार भेट
-
१२ कक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा एक प्रिन्सिपल सहित ६ जना पक्राउ
-
वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू