शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

मकवानपुर महिला गोल्डकपको उपाधि एपीएफले जित्यो

बिहीबार, २५ वैशाख २०८२, २१ : १७
बिहीबार, २५ वैशाख २०८२

मकवानपुर । विभागीय टोली नेपाल प्रहरीलाई हराउँदै सशस्त्र प्रहरी बल (एपीएफ)ले मकवानपुर महिला गोल्डकपको उपाधि उचालेको छ । बिहीबार सम्पन्न स्थानीय तह सहिद स्मृति मकवानपुर महिला गोल्डकपको फाइनल खेलमा एपीएफले ३–१ गोल अन्तरले पुलिसलाई हराएको हो । 

प्रतिस्पर्धात्मक खेलको निर्धारित समय ९० मिनेट र थप गरिएको ६ मिनेट समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेलको नतिजा पोनाल्टि सुटआउटबाट लिइएको थियो । 

हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा भएको फाइनल खेलमा पुलिसलाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै गोल्डकपको उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलको सुरुवात देखि नै एपीएफ पुलिस माथि हाबी देखिएको थियो । 

आक्रामक रूपमा अघि बढेको एपीएफलाई पुलिसका खेलाडीले गोल गर्नबाट रोकेका थिए । अधिकांश समय पुलिसलाई दबाबमा रोक्ने प्रयास एपीएफका खेलाडीले गरे पनि गोल गर्न नसक्दा निर्धारित समयको खेल बराबरीमा रोकिएको थियो ।

एपीएफका तर्फबाट प्रहार भएको सटलाई पुलिसकी गोलरक्षक उषा नाथले रोकेकी थिइन् । केही उत्कृष्ट प्रहार एपीएफका खेलाडीबाट भए पनि बललाई गोलको दिशा भने दिन सकेनन् । रक्षात्मक खेल प्रदर्शन गरेको पुलिसले भने खेल अवधि भर गोलको अवसर भने बनाउन सकेन ।

ट्राइबे्रकरमा दुवै टोलीले ट्राइब्रेकरमा ५/५ बल प्रहार गरेका थिए । जसमा पुलिसका तर्फबाट प्रहार भएको २ बल मैदान बाहिरिएको थियो भने एक बल एपीएफकी गोलरक्षक अञ्जना राना मगरले रोक्न सफल भएकी थिइन् ।

एपीएफका लागि टाइब्रेकरमा गीता राना मगर, कप्तान अनिता बस्नेत र निशा थोकरले गोल गरिन् । एपीएफकी रश्मि घिसिङको प्रहार पुलिसकी गोलरक्षक उषा नाथले रोक्न सफल भइन् ।

पुलिसका लागि गोलरक्षक उषाले मात्रै गोल गरिन् । पुलिसकी कप्तान निरु थापाकी प्रहार एपीएफकी गोलरक्षक अञ्जना राना मगरले रोकेकी थिइन् भने पुलिसकी रेविका पाण्डेको प्रहार गोल्डपोष्टमा ठोकिएर फर्किएको थियो । सुस्मा तामाङको प्रहार गोलपोष्ट माथिबाट मैदान बाहिरिएपछि खेलको नतिजा एपीएफको पक्षमा पुगेको थियो । 

खेलको म्यान अफ द म्याच एपीएफकी गोलरक्षक अञ्जना घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । जीतसँगै एपीएफले ७ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । 

मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजना वैशाख १९ गतेबाट सुरु भएको प्रतियोगितामा पुलिस रौतहटको महिला टिमलाई ४–२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा चितवनको महिला टिमलाई ७–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । 

यस्तै एपीएफले वीरगन्जलाई १२–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा सङ्कटालाई २–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । 

सर्वोत्कृष्ट खेलाडी रश्मिलाई स्कुटर 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी रश्मि घिसिङ घोषित भइन् । सर्वोत्कृष्ट खेलाडी रश्मिले स्कुटर प्राप्त गरिन् । उनले प्रतियोगिता अन्तर्गत सुरुवाती खेलदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएकी थिइन् । 

उनले वीरगन्ज विरुद्धको खेलमा ५ गोल र सेमिफाइनल समीकरणको सङ्कटा विरुद्धको एक खेलमा गोल गरेकी थिइन् । उत्कृष्ट खेल प्रदर्शन गरेकी उनलाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभाका सदस्य इन्द्रबहादुर पुलामीको प्रयोजनमा स्कुटर प्रदान गरिएको थियो । 

प्रतियोगिता अन्तर्गत विधागत उपाधिहरूमा पनि एपीएफका खेलाडी अग्र स्थानमा रहेका छन् । एपीएफका खेलाडीले क्रमशः उत्कृष्ट गोलरक्षक अञ्जना राना मगर, उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी र प्रशिक्षक जिवेश कुमार पाण्डे घोषित भए । 

पुलिसकी मिना देउवा उत्कृष्ट फरवार्ड र डिफेन्डर समीक्षा घिमिरे घोषित भइन् । उनीहरुले विधागत तर्फको उपाधि बापत २५/२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप