नीति तथा कार्यक्रममा परिणाम न दृष्टिकोण, केबल भाषण : सांसद शाही

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा परिणाम र दृष्टिकोण नभएको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शाहीले देश अहिले आर्थिक र विकासको हिसाबले गम्भीर सङ्कटको मोडमा रहेको बताउँदै प्रमुख सूचकाङ्कहरू डामाडोल अवस्थामा रहेको बताएका हुन् ।
उनले रोजगारी नहुँदा बेरोजगार युवाहरू बिदेसिन बाध्य रहेको अवस्थामा सरकारले ल्याएको नीति तथा कार्यक्रमले आम नागरिकको पीडामा मलहम लगाउन नसक्ने जिकिर गरे । उनले सरकारको नीति तथा कार्यक्रम सुख्खा भाषण जस्तै सुनिएको टिप्पणी गरे ।
उनले भने, अघिल्लो पटक राखिएका जनमुखी कार्यक्रमहरू कटौती गरेर यथार्थमा नीतिलाई भाषण जस्तो बनाएको छ । विगतका वर्षका नीति तथा कार्यक्रमलाई विश्लेषण नगरी आज भन्दा सात वर्ष अगाडीको नीति तथा कार्यक्रमको कपी पेस्ट भेटिन्छ । त्यो समयमा ल्याइएको नीति तथा कार्यक्रमको तुलनात्मक जवाफ यो नीति तथा कार्यक्रमले दिन सकेको छैन ।”
उनले सरकारको नीति तथा कार्यक्रमले जनताको उत्साह जगाउनुको साटो निराशा थपेको बताए ।