हिरासत

भोजपुर हिरासतको बसाइ अठार दिन भइसकेको थियो । हिरासतमा नुहाउने र लुगा धुने छुट थिएन । दिसा–पिसाब जाँदा पनि निगरानीका साथ लगिन्थ्यो । जिउ गन्हाउने र चिलाउने समस्याले सताइरहेको थियो । नुहाउन र लुगा धुन दिएकै भए पनि मसँग फेर्ने लुगै थिएन । माघको अन्तिम हप्ता मधुरो घाम लागे पनि जाडो भइरहेको थियो । शरीरमा बाक्लो लुगा थिएन । घाम ताप्न बाहिर निकाल्दा पनि हतकडी लगाइन्थो । प्रहरीका तुच्छ गाली–गलौज सुन्दासुन्दा कान थोत्रिसकेका थिए ।
म महेन्द्र मोरङ कलेज विराटनगरमा प्रमाणपत्र तहमा अध्ययन गर्थें । पूर्वी क्षेत्रको चर्चित कलेजमा विद्यार्थीको चाप बढी नै थियो । पढाइको स्तर राम्रो भएका कारण कलेज विद्यार्थीको रोजाइमा पथ्र्यो । कलेजमा विज्ञान वाणिज्य र मानविकी संकायको पढाइ हुने गथ्र्यो । म वाणिज्य शास्त्रको विद्यार्थी थिएँ ।
म अरुण मावि दिंला पढ्दा पनि अनेरास्ववियु पाँचौँमा आबद्ध थिएँ । स्वभावैले म कलेज पढ्दा पनि अनेरास्यवियु पाँचौँमै आबद्ध थिएँ । म अनेरास्यवियुको प्रारम्भिक कमिटीको सचिवको जिम्मेवारीमा रही विद्यार्थी राजनीतिमा सक्रिय थिएँ ।
पञ्चायतकाल थियो । पार्टी र पार्टी नेताहरू भूमिगत थिए । कैयौँ नेता जेलमा थिए, कैयौँ मारिएका थिए भने कैयौँ नजरबन्दमा थिए । पार्टीहरूको राजनीति पनि विद्यार्थी संगठनहरूले गर्नुपथ्र्यो । पार्टीका सर्कुलर, दस्ताबेज र पर्चाहरू ओसारपसार गर्ने काम चुनौती पूर्ण भए पनि चतुर्याइँका साथ उक्त काम सम्पन्न गर्नुपथ्र्यो । कुन बेला पक्राउ परिने हो भन्ने टुङ्गै हुँदैनथ्यो । पञ्चहरू गुप्तचरको भूमिका निर्वाह गरिरहेका हुन्थे । पञ्चको आँखा छलेर काम फत्ते गर्नुपथ्र्यो । वडाध्यक्षकै हैकम पनि ठुलै थियो । प्रधानपञ्च र उपप्रधान पञ्च त आफूलाई गाउँका राजा नै ठान्थे । हामी कम्युनिस्टहरू उनीहरूको आँखाको तारो थियौँ । हामीलाई अत (अराष्ट्रिय तत्त्व) को पगरी गुथाइएको थियो ।
०४४ माघको अन्तिम साता सांगठनिक कामको सिलसिलामा म धनकुटा गइरहेको थिएँ । भेडेटारमा चेक जाँच हुँदै छ भन्ने पत्तो नपाएर म गिरफ्तार भएँ । मेरा साथमा भएका दस्ताबेज, कथा, कविता, पर्चा रेडबुक र अन्य प्रगतिशील पुस्तक जफत गरियो । मलाई हतकडी लगाएर धनकुटा हुँदै अड्डा सार गरी तेस्रो दिन भोजपुर पुर्याइयो ।
अहिलेजस्तो सञ्चारको सुविधा थिएन । मैले साथीहरूलाई खबरै गर्न पाइनँ । मलाई के भो भन्ने विषयमा साथीहरू जानकार हुन सक्नुभएन । तोकिएको समयमा धनकुटा नपुगेपछि साथीहरूले खैलाबैला गर्नु भएछ । म बेपत्ता भएको कुरा रिपोर्टिङ भएछ तर म कहाँ छु भन्ने विषय पत्ता लगाउनै सक्नुभएनछ ।
म हिरासतमा बस्नुको कारण विद्यार्थी राजनीति नै थियो । मैले ज्यान मारेको, सुन तस्करी गरेको, चेलीबेटी बेचेको र बलात्कार गरेको थिइनँ । र पनि मलाई हिरासतमा अमानवीय व्यवहार गरियो । देश र जनताको मुक्तिप्रति ऐक्यबद्धता जनाउनु मेरो गल्ती ठहरियो ।
त्यसबेला म २१ वर्षको अल्लारे केटो थिएँ । विचार र व्यवहारमा परिपक्व हुने बेलै भएको थिएन । तथापि म विचारमा प्रतिबद्ध थिएँ । न्याय, समानता र मुक्ति प्राप्तिको आन्दोलनमा आफूलाई एकाकार गर्न पाएकामा गर्वानुभूति गरिरहेको थिएँ । मेरो दृढता देखेर डीएसपी पनि नतमस्तक बन्थे ।
मेरो परिवार निम्न मध्यम वर्गीय परिवार हो, सुरुबुरु खान लाउन पुग्ने । बुवा शिक्षक हुनुहुन्थ्यो । नुन, तेल, लुगा–कपडामा खर्च गर्न ऋण लिनुपर्दैनथ्यो तर गाउँमा कैयन् परिवार अनिकालले ग्रस्त थिए । अभाव, अशिक्षा, गरिबीले मानिस प्रताडीत थिए । साहुकोमा बनिबुतो गरेर ऋण नकाढी उनीहरूको जीवन निर्वाह हुँदैनथ्यो । भाग्यवादमा अल्झाइएका थिए मान्छेहरू । पूर्वजन्मको कमाइसँग तुलना गर्दै शासकहरू श्रम–शोषण गरिरहेका थिए । स्वर्ग र नर्कको दुहाई दिएर मान्छेहरूलाई दिग्भ्रमित पारिरहेका थिए । आफूमाथि अन्याय भएको कुरा थाहा नपाएर मानिस जिउँदा लासजस्ता बनाइएका थिए ।
यस्तो सामाजिक, आर्थिक र राजनीतिक परिवेशलाई चिरेर समाज र राज्य व्यवस्था परिवर्तन गराउने कुरामा लागेका हामी नै विचलित भएका भए ती निमुखा जनताले कसरी न्याय, समानता र मुक्ति प्राप्त गर्थे होलान् ? जनतालाई सङ्गठित नगरी मुक्ति आन्दोलन सम्भवै थिएन । अशिक्षाले गाँजिरहेको सामाजिक दूरवस्था नहटाई जनता संगठित हुनै सक्दैनथे । अशिक्षा हटाउनु प्रमुख कार्यभार थियो ।
अशिक्षा हटाउने कुरा प्रमुख रूपमा विद्यार्थी र शिक्षकमा निहित थियो । पार्टी नीतिअनुरूप कैयौँ साथी शिक्षकमा अस्थायी रूपमा नियुक्त भएर देशव्यापी रूपमा कार्यरत थिए । पार्टीलाई नियमित आर्थिक सहयोग गर्दै जनचेतना जगाई जनतालाई संगठित गर्ने कुरामा शिक्षकको अग्रणी भूमिका थियो । त्यसमा विद्यार्थीले होस्टे–हैँसे गरिरहेका थिए । शिक्षकलाई आवश्यकता अनुसार पार्टी काममा फर्काइने गरिन्थ्यो । पूर्णकालीन र अल्पकालीन कार्यकर्ता पार्टी सञ्चालनका लागि महत्त्वपूर्ण अङ्ग थिए । कर्मचारी संयन्त्रभित्र पनि कम्युनिस्ट कार्यकर्ता काम गरिरहेका थिए । सेना र प्रहरीमा पनि केही साथी छिरेका थिए । लेखक र कलाकारको छुट्टै मोर्चा थियो । पत्रकारहरू पनि परिवर्तनका कुरा लेखेर सामाजिकन्याय प्राप्तिको आन्दोलनमा सहभागिता जनाइरहेका थिए । पञ्चायतविरुद्ध पार्टीको चौतर्फी आक्रमण गर्ने रणनीति थियो । स्वास्थ्यकर्मीहरू पनि सोही अनुसार परिचालित थिए । किसानलाई संगठित गर्दै कृषि क्रान्तिका लागि आधारभूमि तयार पारिएको थियो । मजदुरहरूलाई पनि मालिकविरुद्ध एक हुन संगठित गर्ने काम सुरु गरिएको थियो । लैङ्गिक असमानताका कारण महिलामाथि चरम शोषणको अवस्था थियो । महिलाहरूलाई घर धन्दामै सीमित राखी पढ्ने अवसरबाट वञ्चित गराइएको थियो । वर्गीय द्वन्द्व चर्काउँदै महिलालाई शिक्षित बनाई संगठित गर्ने काममा पार्टी कार्यकर्ता खटिरहेका थिए । देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू कम्युनिस्टलाई देखी सहँदैनथे । कम्युनिस्ट आन्दोलन तुहाउन देशी–विदेशी प्रतिक्रियावादीहरू एक ठाउँमा उभिएका थिए । विश्वव्यापी रूपमा गरिखाने वर्गमाथि उत्पीडन र दमन गरिएको थियो । गरिखाने वर्गको मुक्तिका निमित्त संसारभरि नै कम्युनिस्ट संगठित भइरहेका थिए । नेपालमा कम्युनिस्ट आन्दोलनको उचाइ बढिरहेको थियो ।
म आफू पनि कम्युनिस्ट कार्यकर्ता भएर जनताको मुक्तिका लागि लडिरहेको थिएँ । मुक्ति आन्दोलनका क्रममा म गिरफ्तार भएको थिएँ । म गिरफ्तार हुँदा ममा अलिकति पनि आत्मग्लानि भएन । म कुनै आपराधिक काममा गिरफ्तार भएको थिइनँ, म त निरङ्कुश राज्यव्यवस्था विरुद्धको प्रगतिशील आन्दोलनको एउटा मोर्चा सम्हालिरहेको थिएँ ।
म गिरफ्तार भएको कुरा हप्ता दिनपछि मात्रै साथीहरूले थाहा पाउनुभएछ । मेरो रिहाइको माग गर्दै अनेरास्ववियुले विराटनगरमा पोस्टरिङ गरेछ । म मारिन्छु कि भन्ने चिन्ताले साथीहरूलाई सताएछ ।
हिरासत जहाँबाट पत्राचार गर्न पाइँदैनथ्यो । पत्रपत्रिका हेर्न र पढ्न पाइँदैनथ्यो । बाहिरी दुनियाँमा के भइरहेको छ भन्ने कुराप्रति अनभिज्ञ राखिन्थ्यो । उनीहरूले अड्कलेर दिएको खाना मात्रै खानुपथ्र्यो । अघाउजी खान पाइँदैनथ्यो । दिशा–पिसाबले च्याप्दा समेत ट्वाइलेट लगिदैनथ्यो । ज्यानमारा र सुन तस्कार आरोपीसँगै राखेर सुत्न समेत राम्ररी नदिई नारकीय जीवन जिउन बाध्य पारिएको थियो । मानव अधिकारको पूरै उल्लङ्घन गरिएको थियो । पटकपटक यातना दिनु नियमितता नै थियो । कटबाँसका लाठी भाँचिने गरी अन्धाधुन्ध प्रहार गरिन्थ्यो । भेटघाट बन्देज थियो । उनीहरूको निगरानीमा एक दुई मिनेट आफ्ना मान्छे र साथीभाइसँग बोल्ने अवसर दिइन्थ्यो । बोल्दा तौलीतौली बोल्नुपथ्र्यो । बोल्दा पनि निगरानी राखिन्थ्यो ।
म पक्राउ परेका बेला बुबाआमा पनि घरमा हुनुहुन्थेन रे । उपचारका क्रममा काठमाडौँ जानुभएको थियो रे । काठमाडौँमा हुँदै म पक्राउ परेको कुरा उहाँहरूले थाहा पाउनु नै भएन । आमाबुबाले मलाई भेट्न आउने परिस्थिति नै रहेन । चिनेजानेका साथीभाइ पनि राजनीतिक कुरामा फसिन्छ भन्ने डरले भेट्न हिच्किचाइएको कुरा पछि थाहाँ पाएँ ।
एक दिन शिव श्रेष्ठ दाइ र बिन्दुशोभा दिदी मलाई भेट्न आउनुभएको थियो । शिवदाइ छिमेकी तथा पढ्दाको एउटै कक्षाको साथी हुनुहुन्थ्यो । बिन्दुशोभादिदी मीत फुपू पर्नु हुँदो रहेछ । उहाँहरूले मलाई हिरासत मुक्त गराउने पहल गर्ने बताउनुभएको थियो । शिवदाइ काफ्लेको शिक्षक हुनुहुन्थ्यो । उहाँको भोजपुर बजारमा किराना पसल पनि थियो । भाउज्यू पसल चलाउनुहुन्थ्यो । शिवदाइले दुई छाक खाना पनि खुवाउनुभएको थियो ।
प्रहरीका हाकिम मलाई धम्क्याइरहन्थे । हामी पनि कलेज पढेरै आएको हौँ । तेरोजस्तो राजनीति गरिएन त । तैँले जानीजानी आफू पर्ने खाडल आफैँ खनिस् । तेरो जिन्दगी जेलमै सडेर बित्छ । के मुक्तिको कुरा गर्छस् ? छाड्दे भाइ राजनीति । आत्मसमर्पण गर् । कागज गराएर छाडिदिन्छौँ । रोहवरमा कसलाई राख्ने हो ? शिव कि बिन्दुशोभा, भन् हामी बोलाइदिन्छौँ ?
मेरो परीक्षा पनि आइरहेको थियो । अनुनय–विनय गर्दा पनि मैले कोर्सको किताब समेत पढ्ने वातावरण बन्न सकेन । अध्ययन नै गर्न नपाएपछि कसरी परीक्षा दिने ? मलाई चिन्ताले सताइरहेको थियो ।
म सम्पर्कविहीन भएपछि कोविद (भाञ्जाभाइ) मेरो खोजीमा धनकुटासम्म आएछन् । म इटहरी कोविदकै घरमा बसेर विराटनगर धाइरहेको थिएँ । म सम्पर्कविहीन भएको कुरा कोविदले नै साथीहरूसमक्ष पुर्याएका रहेछन् ।
अब शिवदाइ फुर्सद मिलाएर मलाई भेट्न हप्ताको दुई दिन आउने गर्नुभएको थियो । आउँदा केही खानेकुरा लिएरै आउनुहुन्थ्यो । बाल्यकालका कुरा हुन्थे । घाँस–दाउरा र पढाइका कुरा चल्थे । शिवदाइ एसएलसी गर्ने बित्तिकै शिक्षक हुनुभएको थियो । मलाई पनि घरपरिवारबाट शिक्षक हुनुपर्ने दबाब आएको थियो । तर मैले उच्च शिक्षा लिने अड्डी कसेर घर–परिवारको कुरा लत्याइदिएको थिएँ । शिवदाइ सुरुमा गाउँकै बिहीबारे प्राविमा शिक्षण गर्नुहुन्थ्यो । भोजपुर बजारमा पसल सुरु गरेपछि उहाँले जनकल्याण निमावि काफ्लेमा सरुवा लानुभएको थियो ।
मैले विद्यार्थी राजनीति गर्ने कुराप्रति शिवदाइ पनि अनभिज्ञ नै हुनुहुन्थ्यो । सञ्चार सम्पर्क थिएन । म विराटनगर पढ्थेँ । शिवदाइ भोजपुर बस्नुहुन्थ्यो । म पक्राउ परेको कुराले शिवदाइ आश्चर्यमा पर्नुभएको थियो रे । मलाई कसरी छुटाउने भन्ने चिन्ताले छटपटिनुहुन्थ्यो रे ।
अब राजनीति गर्दिनँ, व्यवस्थामा आँच आउने कुरा गर्दिनँ भन्ने देखावटी कागज गराएर हिरासतबाट मुक्त हुनुपर्छ भन्ने सल्लाह शिवदाइले मलाई दिइरहनुभएको थियो । मैले केही प्रतिक्रिया जनाइरहेको थिइनँ । म सोचिरहेको थिएँ । शिवदाइले भनेजस्तो गर्नु त क्रान्तिलाई धोका हो । म कसरी धोकेबाज हुन सक्छु ? मैले कसरी आत्मसमपर्ण गर्ने होला ? आत्मसमर्पण गर्ने या नगर्ने, म निर्णय लिन सकिरहेको थिइनँ ।