शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

नेपालका रुग्ण उद्योगहरूलाई नयाँ मोडालिटीका साथ अघि बढाउने बढाउँछौँ : उद्योग मन्त्री

बिहीबार, २५ वैशाख २०८२, १७ : ३०
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व वृद्धि गरि निर्यात प्रवद्र्धनमा लाग्न आग्रह गरेका छन् । 

बिहिबारदेखी काठमाडौँको भुकृटीमण्डपमा सुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण उद्घाटन समारोहको सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रका उपयुक्त मागहरु समाधान गर्नेगरी नीतिगत सुधारको काम गरिरहेको बताए । 

नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै उनले  सरकार औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवद्र्धनका लागि नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेकोमा जोड दिए ।

मन्त्री भण्डारीले आगामी साउन १५ गतेभित्र संस्थानका रुपमा रहेका नेपालका रुग्ण उद्योगहरूलाई नयाँ मोडालिटीका साथ अघि बढाउने बताए । 

उनले उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावका आधारमा संस्थानका रुपमा रहेका नेपालका रुग्ण उद्योगहरूको डिडिए पुरा गरेर नयाँ मोडालिटीका साथ अघि बढाउने बताए । 

विशेष आर्थिक क्षेत्रमा निर्यातका लागि पूर्वाधार बनाउने काम सार्वजनिक निजी साझेदारीबाट अघि बढाइरहेको उनको भनाई छ ।

स्वदेशी वस्तुको उपभोग कार्यविधिलाई अघि बढाइएको भन्दै मन्त्री भण्डारीले यसले स्वदेशी बजारीकरणको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

मुलुकमा पुँजीको अभाव नभएपनि लगानी हुन नसक्नु प्रमुख प्रश्नको विषय भएको उल्लेख गरे । उनले आगामी बजेटले आइटी क्षेत्र, उद्योग, पर्यटन लगायतका क्षेत्रलाई जोड दिने बताए । 

मन्त्री भण्डारीले हालै संसदमा पेश भएको नीति तथा कार्यक्रमममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको र देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको बताए । 

व्यापार मेलाले नेपाली वस्तुको गुणस्तर र मौलिकतालाई विश्व बजारमा स्थापित गर्न र स्वदेशी उत्पादनको ब्रान्डिङ गर्न मेलाले सहयोग पुर्याउने बताउँदै नेपाली व्यवसायीलाई आफ्नो प्रतिष्पर्धात्क क्षमता बढाउन आग्रह गरे ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजबाट शुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ । 

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठलेनेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन,  र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पुरयाउने बताए । मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफुहरुले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाजेको उनको धारणा थियो ।

‘मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीहरूबीच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न, र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ,’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने । 

नेपालमा अन्तरराष्ट्रिय स्तरको व्यापार मेला आयोजना गर्न उपयुक्त मेला स्थलको अभाव एउटा प्रमुख चुनौतीको रूपमा रहेको उल्लेख गर्दै उनले व्यवस्थित मेला तथा प्रदर्शनी स्थल निर्माण गर्नु पर्नेमा जोड दिए । 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनु पर्ने बताए । 

नेपाल, चीन  र बंगदादेशका गरि १२० बढि स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप