शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घद्वारा १० बुँदे मागपत्रसहित मुख्यमन्त्री कार्यालयमा निवेदन

शुक्रबार, २६ वैशाख २०८२, १६ : १६
शुक्रबार, २६ वैशाख २०८२

काठमाडौँ । बागमती प्रदेशभर क्रियाशील निर्माण व्यवसायीको छाता संगठन बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घले निर्माण व्यवसायलाई जिम्मेवार, गुणस्तरीय र गतिशील बनाउने उद्देश्यसहित १० बुँदे माग पत्रसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक निवेदन पेस गरेको छ।

महासङ्घले निर्माण व्यवसायलाई राष्ट्र निर्माणको पहरेदारको रूपमा चित्रण गर्दै व्यवसायसँग सम्बन्धित समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो। महासङ्घका अनुसार व्यावसायिक उद्देश्यसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने ध्येय राखेका निर्माण व्यवसायीहरू अहिले थप चुनौतीपूर्ण अवस्थामा पुगेका छन्। यस्तो पृष्ठभूमिमा प्रदेश सरकारको सहयोग, निर्देशन र सहकार्य आवश्यक भएको महासङ्घको धारणा छ।

निवेदनमा महासङ्घले चालू आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम निर्माणका क्रममा आफ्नो मागलाई समेट्न आग्रह गरेको छ। महासङ्घले नयाँ निर्माण फर्म दर्तामा राजस्व सहुलियत दिनुपर्ने, नवीकरण अवधि १० वर्ष कायम गरिनुपर्ने, पुराना रोकिएका फर्मका जरिवाना मिनाहा गरिनुपर्ने लगायतका विषयमा जोड दिएको छ। साथै, व्यावसायिक स्वामित्वमा रहेका सवारी साधन, मेसिन तथा औजारहरूको नवीकरण शुल्क घटाउनुपर्ने र लामो समयदेखि नवीकरण नभएका सवारी साधनका लागि न्यूनतम शुल्कमा नवीकरणको व्यवस्था गर्नुपर्ने माग पनि उठाइएको छ।

महासङ्घले निर्माण क्षेत्रसँग सम्बन्धित दक्ष र अदक्ष जनशक्तिको सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने, व्यवसायीले सम्पन्न गरेका निर्माण योजनाको भुक्तानी तत्काल उपलब्ध गरिनुपर्ने र संस्थागत क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। यसका साथै व्यवसायीहरूको संरक्षण र महासङ्घको सचिवालय व्यवस्थित गर्न भूमि सहितको कार्यालय व्यवस्थापनमा पनि प्रदेश सरकारको सहयोग अपेक्षित गरिएको छ।

महासङ्घले विकास निर्माणसँग सम्बन्धित कानुनी संरचना अझ प्रभावकारी बनाउन प्रदेश पूर्वाधार विकास ऐन तथा नियमावली निर्माणको माग गरेको छ। स्थानीय तहहरूले वितरण गरेका ‘घ’ वर्गका निर्माण इजाजत पत्र प्रदेश सरकारको मातहतमा ल्याएर एकरूपता कायम गर्नुपर्ने, योजनाहरूको ०.१ प्रतिशत हिस्सा निर्माण व्यवसाय कोषमार्फत खर्च गर्नुपर्ने र स्थानीय तहमा पनि यस्तै कोष स्थापना गरी समन्वयात्मक ढङ्गमा सञ्चालन गर्नुपर्ने प्रस्ताव पेस गरिएको छ।

महासङ्घले सार्वजनिक खरिद ऐन २०६३ अनुसार सबै योजनामा २० प्रतिशत पेस्की रकमको व्यवस्था अनिवार्य गर्नुपर्ने उल्लेख गर्दै आफूहरू राष्ट्र निर्माणमा प्रदेश सरकारको सहकार्यमा योगदान दिन सधैँ तयार रहेको स्पष्ट पारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप