आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री

शुक्रबार, २६ वैशाख २०८२, २२ : ३८
शुक्रबार, २६ वैशाख २०८२

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालका श्रमिकको जीवनस्तर उकास्न जापान अन्तरराष्ट्रिय श्रम सङ्गठनको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । 

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेस र जापान अन्तरराष्ट्रिय श्रम सङ्गठन (जिलाफ) को सहकार्यको ३० औँ वर्षको अवसरमा आज आयोजित कार्यक्रममा उनले जापानले नेपाली श्रमिकको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

‘बजारको मागअनुसार सीपयुक्त श्रमशक्ति छैन भने त्यसलाई रोजगारसँग कसरी जोड्ने, रोजगारका लागि मुख्य विषय सीपयुक्त श्रमशक्ति नै हो’, उनले भने । श्रम क्षेत्रमा देखिएको समस्या एकअर्कामाथि आरोप लगाएर पन्छिन नमिल्ने उनको भनाइ थियो । 

सरकार, ट्रेड युनियन र निजी क्षेत्र मिलेर सामाजिक सुरक्षा होस् वा न्यूनतम ज्यालालगायत विषयमा सहमतिका साथ अगाडि बढ्नुपर्ने उनले बताए । श्रममन्त्री भण्डारीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा श्रमिकको हकहितलाई ध्यानमा राखी सामाजिक सुरक्षामा अनिवार्य लागू हुने कार्यक्रम अगाडि सारिएकाले त्यसका लागि आवश्यक ऐन, कानुन संशोधन हुने बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर, महासचिव अजयकुमार राईलगायतले नेपालका श्रमिकको जीवनस्तर उकास्न जिलाफले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । जिलाफले नेपालका विभिन्न जिल्लामा श्रमिकका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप