१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म

काठमाडौँ । आज मिति २०८२ साल वैशाख महिनाको २६ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. एमालेमा गुटगत प्रतिशोध
नेकपा एमालेभित्र गुटगत प्रतिशोध मौलाउँदै गएको पाइएको छ । गुटगत प्रतिशोध मौलाउँदा पार्टी संगठन र भ्रातृ संगठनमा झडपका शृङ्खला बढ्न थालेको छ । प्रतिशोध झाङ्गिदै जाँदा पार्टी अनुशासन उल्लङ्घन र कारबाहीका शृङ्खलासमेत बढिरहेका छन् ।
हालै धनुषा जिल्ला अधिवेशन र युवा संघ पर्वतको अधिवेशनमा भएका झडपका साथै नेताहरूमाथि भएको कारबाही प्रकरणले समेत एमालेमा गुटगत प्रवृत्ति मौलाएको पुष्टि गर्ने नेता–कार्यकर्ताहरू स्वीकार गर्छन् ।
‘गुटगत प्रवृत्ति देखिनु राम्रो होइन, पछिल्ला केही घटना हेर्दा गुटगत प्रतिशोध हो कि भन्ने देखिन्छ’, एमालेका एक पदाधिकारीले भने, ‘केन्द्रमा गुट नभए पनि तल्ला तहमा नेताको नाममा गुटगत गतिविधि रोकिएका छैनन् । यो चिन्ताको विषय हो ।’
२. देउवाको ब्रिफिङ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा पार्टीको तर्फबाट समस्या नरहेको बताएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जस्तै छोडेर गएमा भने केही नलाग्ने उनको भनाइ छ ।
३. जनमतमा घरको विवाद
डा सीके राउत अध्यक्ष रहेको जनमत पार्टीभित्र एकपछि अर्को कण्ड बाहिरिइरहेको छ । पार्टीको नाममा आएका रकम शीर्ष नेताहरूले हिनामिना गरेको समाचार त यसअघि नै आइसकेको छ । यस्तैमा अहिले पार्टीभित्र घरको विषयलाई लिएर विवाद चर्किन थालेको छ ।
४. माओवादी अभियान तालिका
नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अन्तर्गत दोस्रो चरणको अभियानको खाका तयार पारेको छ । ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ जेठ महिनाभित्र सम्पन्न हुने गरी खाका तयार भएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार अभियान जेठ २ गते सुदूरपश्चिमको बैतडी जिल्लाको पाटनमा अभियान उद्घाटन हुनेछ ।
५. सभामुखको रुलिङ
सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबिचको तनावलाई दृष्टिगत गर्दै दुवै देशमा बस्ने नेपालीहरूको आवश्यक सुरक्षा लगायतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले भारत पाकिस्तान तनाव र नेपालीहरूको सुरक्षाका विषयमा सरकारलाई रुलिङ गर्न माग गरेका थिए ।
६. सर्च कमिटी
सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको पदाधिकारी सिफारिस गर्न गठित सिफारिस समिति (सर्च कमिटी)ले सर्ट लिस्टमा परेकाहरूको अन्तर्वार्ता लिने काम सकेको छ ।
७. परराष्ट्रको भनाइ
सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत रहेको बताएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जानकारी गराएको हो ।
८. न्यायालय
नेपालको संविधानले जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत गरी तीन तहको अदालतको व्यवस्था गरेको छ ।
यसबाहेक विशिष्टीकृत अदालतको व्यवस्था गरी खास किसिम र प्रकृतिका मुद्दाको कारबाही र किनारा गर्न विशिष्टीकृत अदालत, न्यायिक निकाय र न्यायाधिकरणको स्थापना गर्न सकिने व्यवस्था छ ।
जसअनुसार विशेष अदालत, श्रम अदालत, उपभोक्ता अदालतलगायत न्यायिक निकायहरू छन् । स्थानीय स्तरमा न्यायिक निकाय र विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गर्न सकिने व्यवस्था संविधानले गरेको छ ।
९. सेयर बजार
यो साता सेयर बजार परिसूचक बढेको छ । साता कारोबार भएका पाँच दिनमध्ये सातामा ३ दिन घटेको सेयर बजार बुधबारको उच्च सुधारका कारण बढेको अवस्थामा रहन सकेको हो ।
यसमध्ये आइतबार ३.४४ अंकले बजार घटेको थियो । सोमबार ९.९८ घटेको बजार मंगलबार १.०३ अंक र बुधबार ६२.२५ अंकले बढेको बजार अन्तिम दिन बिहीबार १२.०४ अंकले घटेको थियो ।
१०. भारत पाकिस्तान युद्धको असर
भारत–पाकिस्तान युद्धका कारण इन्धन अभाव हुने भन्दै भारतमा उपभोक्ताले इन्धनको खपत बढाएका छन् । खासगरी एलपी ग्यासका उपभोक्ताले ग्यास अभाव हुने भन्दै इन्धनको खपत बढाएका हुन् ।