आत्मा र पुनर्जन्म हुन्छ ?

‘आत्मा’ र ‘पुनर्जन्म’ । यी शब्दले मानिसको धर्म, विश्वास, तर्क र अनुभूतिको गहिराइमा जरा गाडेर बसेका छन् । कुनै पनि जीवनको अन्त्यपछिको अवस्थाबारे मानव जाति प्राचीन समयदेखि नै जिज्ञासु रहँदै आएको छ । के कुनै जीव वा जीवनको ‘आत्मा’ भन्ने छुट्टै अस्तित्वको चिज हुन्छ ? के त्यो अमर हुन्छ ? कसैको मृत्युपछि फेरि जन्म हुन्छ कि हुँदैन ? यस्ता जटिल प्रश्नले संसारभरका विविध दर्शन, परम्परा र विश्वासलाई गम्भीर ढंगले असर पारेका छन् ।
विश्व दर्शनको रंगभूमिमा आत्मा र पुनर्जन्मका सन्दर्भमा दृष्टिकोण निकै फरक–फरक छन् । कतिपय चिन्तकले आत्मालाई शाश्वत चेतन तत्त्व मानेका छन् । जस्तै : हिन्दु दर्शनमा आत्मा अविनाशी छ, जसले कर्मको आधारमा शरीर फेर्दै मुक्तिको दिशातर्फ अघि बढ्छ । गीतामा आत्माको अमरताको चर्चा यसरी गरिएको छ, ‘नैनं छिन्दन्ति शस्त्राणि ।’ अर्थात् आत्मालाई न काट्न सकिन्छ, न त जलाउन र सुकाउनै सकिन्छ ।
उपनिषद्हरूले आत्मा र ब्रह्मबिचको ऐक्यबद्धता देखाउँदै परमानुभूतिको बाटो देखाउँछन् । प्राचीन युनानी दार्शनिक प्लेटोले आत्मालाई शरीरको बन्धनमा परेको चेतना माने । आत्मा अमर भएको र पुनः जन्म लिने तर्क उनको छ ।
सङ्गीत र संख्याको सन्तुलन अनुसार शुद्ध हुँदै आत्मा जन्म–जन्मान्तर अघि बढ्ने पाइथागोरसको विश्वास छ । बुद्ध दर्शनमा आत्मा स्थायी छैन भन्ने मान्यता भए पनि कर्मका प्रभावमार्फत चेतनाको निरन्तरतालाई स्विकारिन्छ । जैन दर्शनमा आत्मा र कर्मबिचको गहिरो सम्बन्धले नै मोक्ष प्राप्तिको आधार तय गर्छ ।
त्यसबाहेक कतिपय विचारकले यी अवधारणालाई तर्कको दृष्टिले अस्वीकार गरेका छन् । चार्वाकले आत्मा र पुनर्जन्मलाई भ्रमको रूपमा देखे । उनीहरू भौतिकवादी जीवनलाई महत्त्व दिन्थे, ‘ऋणं कृत्वा घृतं पिबेत् ।’ अर्थात् ऋण लिएर भए पनि घिउ खाउ ।
केही दार्शनिक छन्, जसले न आत्मा र पुनर्जन्मका धारणालाई पूर्ण रूपले स्वीकार गर्छन्, न त पूर्ण रूपमा अस्वीकार नै । उनीहरूको दृष्टिकोण प्रतीकात्मक, मनोवैज्ञानिक वा नैतिक धरातलमा आधारित हुन्छ ।
पश्चिममा डेभिड ह्युमले आत्मालाई स्थायी चेतना नभई अनुभवहरूको थुप्रो माने । थोमस होब्सका अनुसार आत्मा भन्ने कुरो केवल शब्दको छाया मात्र हो, सबै क्रियाकलाप मस्तिष्कको यान्त्रिक प्रक्रिया हुन् । कार्ल मार्क्सले आत्मा र पुनर्जन्मजस्ता धारणालाई श्रमिक वर्गलाई भ्रममा पार्ने धार्मिक अस्त्रका रूपमा देखे । उनका अनुसार चेतना भौतिक अवस्थाबाट उत्पन्न हुन्छ, उल्टोतर्फ चेतनाबाट भौतिक तत्त्व उत्पन्न हुँदैन ।
समकालीन वैज्ञानिक धारणा अनुसार आत्मा भन्ने कुरा शारीरिक (विशेषतः मस्तिष्कको) जीववैज्ञानिक प्रक्रिया हो । शरीर अन्त्य भएपछि चेतनाको अस्तित्व रहँदैन । वैज्ञानिक अनुसन्धानले देखाएको छ कि अनुभूति, स्मृति, आत्मबोध आदि सबै मस्तिष्कका जटिल स्नायु प्रणालीबाट उत्पन्न हुने प्रक्रिया हुन्, जसको अस्तित्व शरीर नष्ट भएपछि समाप्त हुन्छ ।
केही दार्शनिक छन्, जसले न आत्मा र पुनर्जन्मका धारणालाई पूर्ण रूपले स्वीकार गर्छन्, न त पूर्ण रूपमा अस्वीकार नै । उनीहरूको दृष्टिकोण प्रतीकात्मक, मनोवैज्ञानिक वा नैतिक धरातलमा आधारित हुन्छ । इमानुयल कान्टले आत्माको प्रत्यक्ष प्रमाण दिन नसकिने माने पनि नैतिक संरचना र न्यायको सम्भावनाका लागि आत्माको अवधारणालाई उपयोगी देखे । नित्सेले पुनर्जन्मलाई ‘शाश्वत पुनरावृत्ति’को रूपमा व्याख्या गरे । जीवन सधैँ त्यही ढाँचामा दोहोरिन्छ भने हामी त्यसलाई सामना गर्न तयार छौँ त ? सिग्मन्ड फ्रायडले आत्मालाई अचेतन मनको गहिरो तह मान्छन् । उनका अनुसार पुनर्जन्म मृत्युभयको विरुद्ध मनोवैज्ञानिक सुरक्षा उपायको कुनै रूप हो ।
कार्ल युङले ‘सामूहिक अचेतन’को अवधारणा प्रस्तुत गर्दै आत्मा वा पुनर्जन्मलाई मानवीय चेतनामा गहिरो गरी बसेको सांस्कृतिक संरचनाको रूपमा सुझाए, जुन पुस्तौँसम्म मिथ वा प्रतीकको रूपमा जीवित रहनेछ ।
आत्मा र पुनर्जन्मको सन्दर्भका यी विविध दृष्टिकोणमा सौन्दर्य छ । त्यहाँ तर्क छ, आस्था छ र शंका र विश्लेषण पनि । एउटै विषयलाई यति फरक आँखाबाट हेरिनु आफैँमा चिन्तनको विशालता हो । आत्मा र पुनर्जन्मको बहस केवल शुद्ध रूपमा जीवनपछिको अवस्थाको अध्ययन होइन, बरु यो त ती प्रश्न हुन्— जीवन कसरी बाँच्ने ? किन बाँच्ने ? केका लागि बाँच्ने ? आदि ।
मृत्युपछिको रहस्य खोतल्ने प्रयासमा मान्छेले आफैँलाई नयाँ–नयाँ कोणबाट हेर्न थालेको देखिन्छ । यस पंक्तिकारको दृष्टिकोणमा, आत्मा भन्न मिल्ने कुरा एक किसिमको ‘संयुक्त ऊर्जा’ हो । अर्थात् मस्तिष्कको जटिल प्रक्रिया र भौतिक तत्त्वहरूको संयोजनबाट उत्पन्न हुने चेतनाको अनुभूति, जसले आफैँमा अलग अस्तित्व राख्दैन । जब शरीर बन्द हुन्छ, त्यो अनुभूति पनि सकिन्छ । पुनर्जन्म ? हामी यो प्रकृतिका तत्त्वबाट बनेका हुन्छौँ, हाम्रो मृत्युपछि ती तत्त्व पुनः प्रकृतिमा विलीन हुन्छन् । कुनै संयोगवश ती तत्त्व अर्काे जीवनको निर्माणमा उपयोग भए भने हामी त्यसलाई पुनर्जन्म भन्न सकौँला, तर त्यो ‘म’, ‘फेरि म’ भएर आएको हुँ भन्ने अर्थमा होइन । त्यसैले आत्मा स्थायी छ भन्ने कुरालाई वैज्ञानिक दृष्टिकोणले मान्न सजिलो छैन ।
आत्मा र पुनर्जन्मका धारणाहरू चाहे धार्मिक आस्थाबाट उत्पन्न भएका हुन् वा तर्कशील वैज्ञानिक विश्लेषणले अस्वीकार गरेका हुन्, ती अन्ततः मानव चेतनालाई जीवनको गहिरो उत्तर खोज्न उत्प्रेरित गर्ने माध्यम भने अवश्य हुन् । केही आवश्यक छ भने त्यो हो— लगातार प्रश्न गर्ने आँट, सत्यप्रतिको तिर्खा र विवेकको सही प्रयोग । त्यसबेला हामी आशावादी हुन्छौँ कि हामी जति गहिरो सोच्न थाल्छौँ, त्यति नै सत्यको नजिक पुग्छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण