त्यो एक मिनेट : जब पृथ्वीका ९९ प्रतिशत मानिसले एकैपटक उज्यालो पाउनेछन्
सारांश
- पृथ्वीको झुकाव र उत्तरी गोलार्धमा गर्मीयामका कारण बुधबार विश्वका करिब ९९ प्रतिशत जनसङ्ख्याले एकैसाथ उज्यालो वा गोधूलि साँझको अनुभव गर्नेछन्।
- यो घटना ग्रिनविच मिमिन टाइम (जीएमटी) अनुसार बिहानको करिब ११:१० बजे हुनेछ, जुन नेपाली समय अनुसार अपराह्न ५ बजेर ५ मिनेट हो।
- मे १८ देखि जुलाई १७ सम्मका करिब ६० दिन हरेक दिन यस्तो छोटो क्षण आउँछ जतिबेला लगभग सम्पूर्ण मानव जातिले उज्यालो वा गोधूलि साँझको अनुभव गर्छन्।
काठमाडौँ । पृथ्वीको झुकाव र उत्तरी गोलार्धमा गर्मीयाम चलिरहेको समयका कारण बुधबार विश्वका करिब ९९ प्रतिशत जनसङ्ख्या, झन्डै ८ अर्ब २० करोड मानिस, ले एकैसाथ उज्यालो वा गोधूलि साँझको अनुभव गर्नेछन्।
यो घटना ग्रिनविच मिमिन टाइम (जीएमटी) अनुसार बिहानको करिब ११:१० बजे हुनेछ। नेपाली समय अनुसार यो अपराह्न ५ बजेर ५ मिनेट जाँदा हुनेछ ।
करिब एक मिनेट मात्र रहने यस छोटो अवधिमा पृथ्वीका सबैभन्दा धेरै जनसङ्ख्या भएका क्षेत्रहरूमा घाम लागिरहेको हुनेछ। धेरै थोरै मानिसले मात्र यस बेला रातको अनुभव गर्नेछन्।
विश्वको झन्डै सम्पूर्ण जनसङ्ख्या बसोबास गर्ने उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अफ्रिका र एसियाका अधिकांश भागमा यस बेला उज्यालो हुनेछ।
अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण-पूर्वी एसियाका केही भाग र अन्टार्कटिकाका साथै वरपरका महासागरहरूमा भने अन्धकार हुनेछ।

यो एक दिन मात्र हुने घटना भने होइन। हरेक वर्ष मे १८ देखि जुलाई १७ सम्मका करिब ६० दिन हरेक दिन यस्तो एउटा छोटो क्षण आउँछ, जतिबेला लगभग सम्पूर्ण मानव जातिले उज्यालो वा गोधूलि साँझको अनुभव गर्छन्।
सन् २०२२ मा सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल भएको थियो। उक्त पोस्टमा वर्षभरिमा जुलाई ८ का दिन मात्र यस्तो घटना हुने दाबी गरिएको थियो। त्यसपछि यो घटनालाई जुलाई ८ सँग बढी जोडेर हेर्न थालियो।
तर, पछि ‘टाइम एन्ड डेट’ ले गरेको तथ्य जाँचले फरक नतिजा देखायो। जुलाई ८ सबैभन्दा धेरै मानिसले उज्यालो पाउने दिनहरूमध्ये एक भए पनि उत्तरी गोलार्धको गर्मीयामका करिब दुई महिनासम्म हरेक दिन यस्तै अवस्था सिर्जना हुने उक्त तथ्य जाँचबाट पुष्टि भयो।
- कति मानिसले दिन, गोधूलि र रातको अनुभव गर्नेछन् ?
पृथ्वीका लगभग सबै मानिससम्म सूर्यको किरण पुग्ने त्यो क्षणमा करिब ६ अर्ब ९० करोड मानिस (८३ प्रतिशत) पूर्ण रूपमा दिनको उज्यालोमा हुनेछन्।
अन्य ५८ करोड १० लाख मानिस (७ प्रतिशत) ले ‘सिभिल ट्वाइलाइट’ को अनुभव गर्नेछन्। यस समयमा आकाश यति उज्यालो हुन्छ, कृत्रिम बत्तीबिना नै बाहिरका अधिकांश काम गर्न सकिन्छ।

थप ४९ करोड ८० लाख मानिस (६ प्रतिशत) ‘नटिकल ट्वाइलाइट’ मा हुनेछन्। यस बेला क्षितिज देख्न सकिए पनि आकाश निकै अँध्यारो भइसकेको हुन्छ। त्यसैगरी, २४ करोड ९० लाख मानिस (३ प्रतिशत) ‘एस्ट्रोनोमिकल ट्वाइलाइट’ मा हुनेछन्। पूर्ण रूपमा रात पर्नुअघिको यो समयमा आकाशमा निकै मधुरो उज्यालो मात्र बाँकी हुन्छ।
जम्मा ८ करोड ३० लाख मानिस (१ प्रतिशत) ले मात्र पूर्ण रातको अनुभव गर्नेछन्। यस समयमा सूर्य क्षितिजभन्दा १८ डिग्री तल हुन्छ र आकाश पूर्ण रूपमा अँध्यारो हुन्छ।
- यो घटना जुनको सोलस्टिसमा नभई जुलाई ८ मा किन हुन्छ ?
जुन सोलस्टिस उत्तरी गोलार्धको सबैभन्दा लामो दिन हो। यसले गर्मीयामको सुरुवात भएको जनाउँछ।
जुन सोलस्टिसपछि सूर्य दक्षिणतर्फ सर्न थाल्छ। यसले गर्दा निकै कम जनसङ्ख्या भएका सुदूर उत्तरी क्षेत्रहरूमा उज्यालोको समय थोरै घट्छ। अर्कोतर्फ, इन्डोनेसिया र फिलिपिन्स जस्ता धेरै जनसङ्ख्या भएका क्षेत्रहरूमा उज्यालोको समय बढ्न पुग्छ।
सूर्यको यही सानो स्थानान्तरणका कारण सोलस्टिसको दिनभन्दा यस दिन करिब १ करोड बढी मानिसले दिनको उज्यालो वा गोधूलिको अनुभव गर्न पाउँछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी नाकाबन्दीविरुद्ध समर्थन गर्न विश्व समुदायलाई क्युबाको अपिल
-
कलाकार शारदा गिरी ‘काली बुढी’लाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ दिइने
-
अभिषेक गिरीले कसरी जोडे जताततै घरजग्गा ?
-
सुन प्रतितोला ९ सय रुपैयाँ घट्यो, चाँदी ५५ रुपैयाँ सस्तो
-
टी–२० क्रिकेटमा भारतको रनका आधारमा इतिहासकै सबैभन्दा ठुलो हार
-
फुटबल, साना देश, साँघुरो सोच र सामाजिक रूपान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण