बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट

साविक उपविजेता मोक्षदालाई हराउँदै गेटवे फाइनलमा, डीएभी सुशिल केडियासँग उपाधि भिडन्त

आइतबार, २८ वैशाख २०८२, १५ : ४९
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । गेटवे एकेडेमी काठमाडौँमा जारी ‘जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ को फाइनलमा पुगेको छ ।गेटवे एकेडेमीले आइतबार खेलिएको दोस्रो सेमिफाइनल खेलमा साविक उपविजेता मोक्षदा स्कुललाई एक सय ३१ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । 

गेटवे एकेडेमीले अब सोमबार हुने फाइनलमा डीएभी सुशिल केडिया विश्व भारती स्कुलसँग उपाधिका लागि भिडन्त गर्नेछ । डीएभी सुशिल केडिया भने आइतबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा साविक विजेता सैनिक आवासीय महाविद्यालयलाई ६ विकेटले हराउँदै फाइनलमा पुगेको हो । 

काठमाडौँस्थित तल्लो मुलपानी क्रिकेट रङ्गशालामा टस जिती पहिले ब्याटिङको निर्णय लिएको गेटवे एकेडेमीले निर्धारित २० ओभरमा केवल दुई विकेट गुमाएर दुई सय चार रनको विशाल योगफल तयार पारेको थियो । मोक्षदाले भने १२.१ ओभरमै अलआउट हुनुअघि ७३ रन मात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको गेटवे एकेडेमीका लागि कप्तान सबिर अन्सारीले शतकीय र अमित पटेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । दुवै ओपनर ब्याट्सम्यान खाता खोल्नुअघि नै पेभेलियन फर्किएपछि सबिर र अमितले गेटवेको पाली समालेका थिए ।

टोलीको कप्तानसमेत रहेका सबिर अन्सारीले अविजित एक सय १४ रन बनाए । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ६० बलको सामना गरी सात छक्का र ६ वटा चौका पनि हिर्काएका थिए । 

तेस्रो नम्बरमा क्रिज समाल्न आएका अमितले पनि अविजित ६० रनको योगदान गरे । उनले ६० बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । यी दुवै ब्याट्सम्यानले दुई सय तीन रनको साझेदारी गरेका थिए । 

गेटवे एकेडेमीले अतिरिक्त रूपमा पनि ३० रन पाएको थियो ।  मोक्षदाका बलर ईशान शाह सुवेदीले दुई विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको मोक्षदाका ओपनर ईशान शाह सुबेदीबाहेक अन्य कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्न सकेनन् । 

टोलीको कप्तानसमेत रहेका ईशानले ३३ रन बनाए । यस क्रममा उनले केवल २२ बलको सामना गरी सात चौका पनि हिर्काए । मोक्षदाका अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । मोक्षदाले अतिरिक्त रूपमा सात रन मात्र पायो । 

गेटवेका बलर साइमन पन्त, लक्ष्मण भुर्तेल र पारस बिष्टले दुई–दुई विकेट लिए । अमित पटेल, उज्ज्वल गुप्ता र सबिर अन्सारीले पनि एक–एक विकेट हात पारे । उक्त खेलमा विजयी टोलीका सबिर अन्सारी प्लेयर अफ दि म्याच घोषित भए ।  

काठमाडौँ जिल्ला क्रिकेट सङ्घद्वारा आयोजित प्रतियोगिताको यो दोस्रो संस्करण हो । नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष जयकुमारनाथ शाहको सम्झनामा काठमाडौँ जिल्ला क्रिकेट सङ्घले २०८१ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । 

यो प्रतियोगितालाई आगामी एसीसी मेन्स यू–१६ ईष्ट जोन कप–२०२५ को छनोट प्रतियोगिताका रूपमा समेत लिइएको छ । यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौँ जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू–१६ टोलीको छनोटका लागि अवसर प्रदान गरिने आयोजक सङ्घले जनाएको छ । 

अघिल्लो संस्करणको फाइनलमा सैनिक आवासीय महाविद्यालयले मोक्षदा स्कुललाई हराएको थियो । प्रतियोगिताको पहिलो संस्करणमा १६ स्कुलले भाग लिएका थिए । दोस्रो संस्करणमा भने २१ वटा स्कुलको सहभागिता रहेको थियो । 

प्रतियोगितामा पहिलो हुने टोलीले एक लाख ५० हजार रुपैयाँ र दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । सर्वोत्कृष्ट बलर, सर्वोत्कृष्ट ब्याट्सम्यान र इमर्जिङ खेलाडीले पनि जनही पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप