मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट

उपाधि डीएभी सुशील केडियाको पोल्टामा, फाइनलमा गेटवेलाई हरायो

सोमबार, २९ वैशाख २०८२, १३ : ११
सोमबार, २९ वैशाख २०८२

काठमाडौँ । ‘जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ को दोस्रो संस्करणको उपाधि डीएभी सुशील केडिया विश्व भारती स्कुलले जितेको छ । डीएभी सुशील केडिया स्कुलले सोमबार खेलिएको फाइनल खेलमा गेटवे एकेडेमीलाई सात विकेटले हराउँदै उपाधि चुमेको हो ।

गेटवे एकेडेमी सेमिफाइनल खेलमा साविक उपविजेता मोक्षदा स्कुललाई एक सय ३१ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान पुगेको थियो । डीएभी सुशील केडिया स्कुल भने सेमिफाइनल खेलमा साविक विजेता सैनिक आवासीय महाविद्यालयलाई ६ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । 

काठमाडौँस्थित तल्लो मुलपानी क्रिकेट रंगशालामा खेलिएको फाइनल खेलमा टस जितेर ब्याटिङ राजेको गेटवे एकेडेमीले १९.३ ओभरमा अलआउट हुनुअघि ७२ रनमात्र बनाउन सक्यो । जवाफमा डीएभी सुशील केडियाले १६.४ ओभरमै तीन विकेट गुमाएर ७५ रन बनाउँदै विजय लक्ष्य पार गर्यो । 

डीएभी सुशील केडिया स्कुलको जितमा कप्तान प्रसिद्ध जैसीले अविजित ३५ रनको योगदान गरे । ओपनर ब्याट्सम्यान प्रसिद्धले ४५ बलको सामना गरी पाँच चौका हिर्काए । चौथो नम्बरमा क्रिज समाल्न आएका मयांककुमार शाहले पनि १४ बलमा तीन चौकाको मद्दतले १६ रन बनाए ।

फरहान अन्सारी पाँच रनमा अविजित रहे । विकेश कुमार जैसवालले पाँच र ओपनर सत्यम बस्नेतले दुई रन जोडे । डीएभी सुशील केडिया स्कुलले अतिरिक्त रुपमा १२ रन पायो । गेटवे एकेडेमीका बलर उज्ज्वल गुप्ताले दुई र साइमन पन्तले एक विकेट हात पारे । विजयी टोलीका प्रसिद्ध जैसवाल प्लेयर अफ दि म्याच घोषित भए । 

त्यसअघि, ब्याटिङ गरेको गेटवे एकेडेमीका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । मुर्सिद ईक्वालले सर्वाधिक १५ रन बनाए । कप्तान सबिर अन्सारीले टोलीको खातामा ११ रन थपे । गेटवे एकेडेमीका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । 

गेटवे एकेडेमीले अतिरिक्त रुपमा पनि १६ रन पाएको थियो । डीएभी सुशील केडियाका बलर कमल शाहीले चार विकेट लिए । उनले चार ओभरमा केवल नौ रन खर्चिए । कप्तान प्रसिद्ध जैसीले पनि तीन विकेट हात पारे । उनले चार ओभरमा १३ रन खर्चिए । केशव अग्रवालले पनि दुई विकेट कुम्ल्याए ।

नेपाल क्किेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको सम्झनामा काठमाडौँ जिल्ला क्रिकेट संघले २०८१ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यो प्रतियोगितालाई आगामी एसीसी मेन्स यू–१६ ईष्ट जोन कप–२०२५ को छनोट प्रतियोगिताका रूपमा समेत लिइएको छ । 

यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौँ जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू–१६ टोलीमा छनोटका लागि अवसर प्रदान गरिने आयोजक संघले जनाएको छ । पहिलो संस्करणमा १६ स्कुलले भाग लिएका थिए भने दोस्रो संस्करणमा २१ स्कुलको सहभागिता रहेको थियो । 

प्रतियोगितामा पहिलो हुने टोलीले एक लाख ५० हजार रुपैयाँ र दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाए । सर्वोत्कृष्ट बलर, सर्वोत्कृष्ट ब्याट्सम्यान र इमर्जिङ खेलाडीले पनि जनही पाँच हजार रुपैयाँ पुरस्कार हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप