बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय
सङ्घर्ष

दिल्लीको सडकमा लोकदोहोरी घन्काएर मःम बेच्दै मदन

बुधबार, ३१ वैशाख २०८२, ०७ : १३
बुधबार, ३१ वैशाख २०८२

धनगढी । भारतको राजधानी नयाँ दिल्लीस्थित आनन्दविहार बसपार्कमा नेपालीहरू प्रशस्त भेटिन्छन् । दिल्लीमै बस्दै आएका र काम विशेषले भारत यात्राका क्रममा नेपालीहरू यो बसपार्क हुँदै आउजाउ गर्छन् ।

पूर्वी भारततर्फ जाने लामो दुरीका बस यही बसपार्कबाट छुट्ने भएकाले यहाँ ठुलै जमघट हुन्छ । बसपार्क वरपरको वातावरण सधैँ चहलपहलयुक्त देखिन्छ । विशेष गरी साँझपख यो बसपार्क मानिसको भिड खचाखच हुन्छ । यही बसपार्कको मुख्य गेट छेउमा यात्रीलाई लक्षित गर्दै नास्ता–पानी बेच्ने दर्जनौँ ठेलाको लहर भेटिन्छ ।

त्यहाँ सबैजसो ठेला भारतीय व्यापारीका छन् । कसैले चिया बेचिरहेका छन्, कसैले बडापाउ । ठेलाको त्यही लहर हुँदै कोही नेपाली पुग्यो भने एउटा ठेला अगाडि पुगेर टक्क अडिन बाध्य हुन्छ । आफ्नो सुरमा हिँडिरहेको नेपालीलाई टक्क अडिन बाध्य पार्ने त्यो ठेला हो मदन गुरुङको ।

चन्दननाथ नगरपालिका, खलंगा गाउँ (जुम्ला) का मदन गुरुङ त्यही ठेलामा मःम बेच्दै आएका छन् । गुरुङ दम्पती दैनिक यही ठेलामा मःम बेचेर गुजारा चलाउँदै आएका छन् । उनको ठेलामा एउटा सानो स्पिकर निरन्तर बजिरहेको हुन्छ, जसमा नेपाली लोकदोहोरी गीत घन्किन्छन् । बिरानो ठाउँमा एकाएक नेपाली लोकदोहोरी गीत सुनेपछि आफ्नै सुरमा हिँडेको जो–कोही नेपालीको कान ठाडो भइहाल्छ । अनि, मदनको ठेला अगाडि टक्क उभिन बाध्य हुन्छ ।

‘सुपारी चाम्रो, म त के राम्रो छु र, मायाको हेराई भो राम्रो,’ जस्ता लोकगीत बजाएर मदनले दर्जनौँ ठेलाको भिडमा आफ्नो ठेलालाई पृथक पहिचान दिलाएका छन् । लोकगीतसँगै मिठो मःम खान उनीकहाँ नेपालीहरू झुम्मिन्छन् ।

‘केही त रमाइलोका लागि आउँछन्, केही तातो मःम खान,’ मदनले हाँस्दै भने, ‘लोकदोहोरीले आफ्नोपन दिन्छ । यहाँ बसे पनि गीतले घर सम्झाउँछ ।’

जुम्लाको दुर्गम गाउँमा जन्मिएका मदन सानै हुँदा आमा बितिन् । आमाको निधन हुँदा उनी बालक थिए । त्यसपछि बाबुले दोस्रो विवाह गरे । उमेर बढ्दै गएपछि उनलाई माया–ममतामा कता–कता कमी महसुस भयो । परिवारको माया, स्नेह नपाएपछि उनी गाउँ छोड्ने निर्णयमा पुगे ।

१२ वर्षको उमेरमै उनी पैदल यात्रा गर्दै सुर्खेत झरे । त्यहाँ केही दिन बसे पनि कसरी गुजारा चलाउने भन्ने टुङ्गो लागेन । त्यहाँबाट उनी भारतको नैनीतालमा बस्ने काकाकहाँ पुगे । त्यहाँबाट उनी हरिद्वार हुँदै दिल्ली पुगे ।

1000010500

सुरुमा उनले दिल्लीकै एक होटलमा भाँडा माझ्ने कामबाट आफ्नो संघर्ष सुरु गरे । त्यतिबेला उनले मासिक १० रुपैयाँ पारिश्रमिक पाउँथे । ‘त्यही १० रुपैयाँले गुजारा चलाउनु पर्थ्यो, अरु केही उपाय थिएन,’ मदनले भने, ‘जसोतसो यहाँ टिक्नुथियो । त्योबेला धेरै ठुलो  सपना पनि थिएन ।’

भाडा माझ्दै, वेटर हुँदै उनले केही वर्ष कटाए । त्यही संघर्षको बिचमा उनले भेटे दार्जीलिङकी एक युवती भेटे । उनी पनि मदनलेजस्तै काम गर्थिन् । चिनजान, मित्रता र विश्वासको यात्रापछि उनीहरूले आपसमा विवाह गरे । विवाहपछि श्रीमतीले मदनलाई सुझाइन्– ‘अरूको होटलमा काम गर्नुभन्दा आफ्नै केही काम गरौँ ।’

त्यसपछि मदनले मःम बेच्ने निर्णय गरे । केही बचत र सरसापटबाट सुरु भयो उनको व्यवसाय । सुरुका दिन सजिलो थिएनन् । ठेला राख्ने ठाउँ पाउन संघर्ष गर्नुपर्थ्यो । ग्राहक जम्मा पार्नुपर्थ्यो । ठेला लगाए बापत् दैनिक तीन सय रुपैयाँ सरकारलाई तिर्नुपर्छ । जतिसुकै कठिन भए पनि उनले आफ्नो कामलाई निरन्तरता दिइरहे ।

ठेलामा नेपाली लोकदोहोरी गीत बजाउने र सफा सुग्घरका कारण ग्राहक झुम्मिन थाले । आनन्दविहारमा उनले सात वर्षदेखि मःम बेचिरहेका छन् ।

कोरोना महामारीको समयमा सबै घर फर्किए तर मदन भने दिल्लीस्थित भाडाकै घरमा बसेर त्यो कठिन परिस्थितिको सामना गरे । ‘सबै घर फर्किंदा त हामी पनि जाउँजस्तो लग्थ्यो तर जाने ठाउँ पनि छैन । त्यहाँ गएर सुरूदेखि सबै जुटाउन समय लाग्छ,’ उनले भने ।

मदन अपराह्न ५ बजेदेखि राति १० बजेसम्म काम गर्छन् । उनले चिकेन मःम ६० रुपैयाँ र भेज मःम ४० रुपैयाँ प्रतिप्लेटमा बिक्री गर्छन् । ‘भारतीय ग्राहक सस्तो खोज्छन्,’ हाँस्दै उनले भने, ‘तर नेपाली ग्राहक भावनासँगै आउँछन्, त्यसैले राम्रो मूल्य तिर्छन् ।’

उनको ग्राहकहरूमा दिल्लीमै बस्ने नेपाली, यात्रामा निस्केका नेपाली र भर्खरै भारत प्रवेश गरेका नेपालीहरू हुन्छन् । नेपाली ग्राहकसँग मदन नेपाली भाषामै मन खोलेर कुरा गर्छन् ।

मदनसँग अहिले श्रीमती र एक छोरी छन् । उनी छोरीको पढाइ र घर खर्च मःमबाटै जोहो गर्छन् । दिल्ली बस्न थालेको २५ वर्ष भए पनि उनी अझै भाडामै बस्छन् । ‘धेरै कमाइ त छैन,’ उनले भने, ‘तर खान–लाउन पुग्छ, छोरी पढ्दैछ । त्यही ठुलो कुरा हो ।’

1000010498

उनका भाइ नेपालमै छन् । परिवार नेपालगन्जमा बस्छ । मदनको अहिले जुम्ला फर्कन सक्ने अवस्था छैन । ‘गाउँको माया लाग्छ,’ उनले भने, ‘तर त्यहाँ बसेर पेट पाल्न सकिँदैन । पेट पाल्नकै लागि यहाँ आएर दुःख गर्नुपरेको हो ।’

मदनजस्ता नेपाली पछिल्लो समय दिल्ली, मुम्बई, बैंगलोर, हैदराबादजस्ता भारतीय सहरतिर व्यवसायमा लागिरहेका छन् । मःम, छोला, पराठा बेच्ने ठेलादेखि साना रेस्टुरेन्ट व्यवसायमा नेपालीलाई देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप