कम्युनिस्ट पार्टीमा सामूहिक र संस्थागत आर्थिक प्रणाली आवश्यक

कम्युनिस्ट पार्टीको बुर्जुवाकरणमा मुख्य कारकतत्त्व पार्टी समिति, नेतृत्व र कार्यकर्ताहरूको आर्थिक व्यवस्थापनको पाटो व्यक्तिगत प्रणालीमा आधारित हुनु हो । यसको समाधानविना सर्वहारा वर्गको पार्टी निर्माणमा सफलता असम्भव छ ।
आजको पुँजीवादी अर्थ–व्यवस्थामा अर्थ तथा पुँजीविना सानोभन्दा सानो काम पनि सम्भव छैन, त्यसैले पुँजीविनाको व्यवस्थापन हुने कुरै भएन, तर धनी–गरिब बिचको खाडल मेटाउने र साम्यवादी व्यवस्था निर्माण गर्ने मूल उद्देश्य रहेको कम्युनिस्ट पार्टीले आफ्नो उद्देश्य अनुरूपको न्यूनतम आर्थिक प्रणाली पार्टीभित्र लागु गर्न नसके उद्देश्य केवल पार्टीको दस्ताबेज र नेताको भाषणमा मात्र सीमित हुन जान्छ । अन्ततः असल नेता कार्यकर्ता निराश हुने जनताको विश्वास घट्ने र पार्टी कमजोर हुँदै जाने कुरा निश्चित हुन्छ । त्यस कारण कम्युनिस्ट पार्टीले यो कुरा समयमै बुझेर योजना बनाउँदा नै उपयुक्त हुन्छ । अन्यथा पछुताउनुबाहेक अरु केही हात लाग्नेछैन ।
भीषण संघर्ष र बलिदानबाट स्थापित पार्टीहरू पनि व्यक्तिवादी आर्थिक प्रणालीका कारण कुनै रक्तपातविना सहजै हुने प्रतिक्रान्तिबाट ध्वस्त हुन्छन् । आर्थिक प्रणाली नै व्यवस्थाको मेरुदण्ड हो । त्यसैले कम्युनिस्टहरूले नेतृत्व गरेको राजनीतिक व्यवस्था र स्वयं त्यो पार्टीको आफ्नो आर्थिक प्रणाली सकेसम्म जति व्यक्तिगत प्रणालीबाट टाढा राख्ने प्रयास गर्नुपर्छ ।
व्यक्तिगत प्रणालीको विकल्प भनेकै सामूहिक प्रणाली हो । यो सामूहिक प्रणाली पार्टीभित्र कसरी लागु गर्ने भन्ने कुरामा अलि छलफल आवश्यक छ । बृहत् छलफलका लागि विभिन्न पार्टी कमिटीहरू, नेतृत्व कमरेडहरू, समाजवादी अर्थशास्त्रीहरू, किसानहरू, मजदुरहरू र साना–ठुला व्यापारीहरू जो समाजवादी विचार राख्छन्, यिनीहरू बिचमा कार्यशालाको आयोजना जरुरी छ ।
खासगरी सामूहिक प्रणालीका लागि तत्कालीन हिसाबले निम्न बुँदाहरूमा अमल गर्न जरुरी छ ।
१) पार्टी कामका लागि आवश्यक रकम संस्थागत सहयोग संकलनमार्फत परिचालन गर्नुपर्छ, व्यक्तिगत होइन । सहयोग गर्नेले पनि समितिमार्फत सहयोग गर्ने गरी पार्टी नीति स्पष्ट पार्न जरुरी छ । यसले समिति र संस्थालाई प्रभावकारी बनाउँछ । व्यक्तिले व्यक्तिलाई सहयोग गर्ने अवस्थामा त्यो सहयोग गर्ने व्यक्ति संस्थामाथि हाबी हुने, सहयोग लिने व्यक्ति पनि सहयोग गर्नेको प्रभावमा पर्ने उसको फाइदाका लागि काम गर्न बाध्य हुने अवस्था रहन्छ । यस्तै संस्था ओझेलमा पर्छ, संस्था ओझेलमा पर्नु नै पार्टी र आन्दोलन कमजोर हुनु हो ।
२) पार्टी लेभी पार्टीको मूल आम्दानीमध्ये एक हो । लेभी सम्बन्धित सदस्यले नै दिनुपर्ने व्यवस्था लागु गर्नुपर्छ न कि कुनै व्यापारी, जमिनदार, सम्पत्ति भएको नेताले तिरेको भरमा सदस्यता नविकरण गरिने व्यवस्था पार्टी हितमा छैन, किनभने आफ्नो लगानी नै नभएको सदस्यताको महत्त्व त्यो सदस्यले बुझ्नै सक्दैन र जसले लेभी तिरेको छ, ऊप्रति नै जवाफदेही हुन्छ । पार्टी र आफ्नो जिम्मेवारीबारे उसलाई गम्भीरतापूर्वक बोध हुँदैन, त्यस्तो सदस्य पार्टी नीतिको होइन लेभी तिरिदिनेप्रति बढी वफादार हुन्छ । लेभी न्यूनतम तोक्नुपर्छ, कमजोर आर्थिक अवस्थाको सदस्यले पनि आफैँ तिर्न सकोस् ।
पार्टी लेभी पार्टीको मूल आम्दानीमध्ये एक हो । लेभी सम्बन्धित सदस्यले नै दिनुपर्ने व्यवस्था लागु गर्नुपर्छ न कि कुनै व्यापारी, जमिनदार, सम्पत्ति भएको नेताले तिरेको भरमा सदस्यता नविकरण गरिने व्यवस्था पार्टी हितमा छैन ।
३) सामूहिक उत्पादन (कृषि, व्यापार लगायतमा) को योजना निर्माण गर्दै अनिवार्य एक समिति एक उत्पादनको नीति लागु गर्नुपर्छ । जसबाट पार्टी समितिका काम मात्र होइन, त्यो समितिका आर्थिक रूपमा कमजोर सदस्यका लागि शिक्षा, स्वास्थ्य लगायत केही व्यवस्थापन गर्न सकियोस् । जसबाट जनता कम्युनिस्ट विचार–आचरण अनुभव गर्न पाउन् र साम्यवादी अभियानमा जोडिने प्रेरित होउन् ।
४) कम्युनिस्ट पार्टी, आन्दोलनमा लागेकाहरू प्रायः मजदुर, किसान र कमजोर आर्थिक अवस्थाका मानिस हुन्छन् । उनीहरूसँग पार्टी कामका लागि व्यक्तिगत लगानी गरी परिचालन हुन सक्ने अवस्था हुँदैन । पार्टी समितिमा संस्थागत कोष खडा गरी पार्टी कामका लागि परिचालन हुँदा आधारभूत खर्च (यातायात, सञ्चार लगायत) व्यवस्था गर्न नसके त्यो कमजोर वर्ग नेतृत्वमा आउनै सक्दैन । किनभने ऊसँग परिचालन हुने आर्थिक व्यवस्था हुँदैन अनि परिचालन हुन सक्दैन, जो आर्थिक रूपमा सबल छ, ऊ परिचालन हुन्छ अनि ऊ नै नेतृत्व बन्छ । जो जुन वर्ग अवस्थाबाट आएको छ, उसलाई अरुको अवस्थाबारे सारतः चिन्ता हुन सक्दैन, यो मानवीय गुण नै हो । यो कुरा सबैमा लागु नहोला तर धेरैमा लागु हुन्छ । जब उत्पीडित वर्गबाट नेतृत्व निर्माणको प्रक्रिया रोकिन्छ त्यसपछि त्यो पार्टी नामको मात्र कम्युनिस्ट रहन्छ, उसका गतिविधिहरू सारतः बुर्जुवाकरण हुन जान्छन् ।
त्यसैले कम्युनिस्टहरूले माक्र्सवादको सही प्रयोग गर्नु छ भने समस्याको मूल कारण वर्ग विभाजन हो, यसको समाधान पार्टीबाट सुरु गर्नुपर्छ । पार्टीमा आर्थिक हिसाबले वर्ग विभाजन हुन दिनु हुँदैन, यसलाई रोक्ने विधिको विकास गर्न नसके आन्दोलनबाट प्राप्त भएका राजनीतिक उपलब्धिहरू केवल तत्कालीन राजनीतिक इतिहासमा सीमित हुन्छन्, पार्टी ध्वस्त हुँदै जान्छ । जनता आफ्नो व्यवस्थाका लागि विभिन्न विकल्पको खोजी गरिरहन्छन्, जसले गर्दा साम्यवादी आन्दोलन कमजोर हुन जान्छ ।
(लेखक नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका सचिवालय सदस्य हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना: ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश (सूची सहित)
-
अनेरास्ववियु अपडेटः खुला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश