‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’

काठमडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसको भूमिलाई हिरा उत्पादन गर्ने थलोको संज्ञा दिँदै ती हिरा पहिचान गर्न अझै बाँकी रहेको बताएका छन् ।
अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक प्राप्त जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई आज आयोजित सम्मान कार्यक्रममा उनले मधेसमा अपार सम्भावना भएका प्रतिभाहरू रहेकाले तिनीहरूलाई पहिचान र प्रोत्साहन आवश्यक रहेको बताए ।
मिश्रले हालै तुर्कमेनिस्तानमा सम्पन्न दोस्रो अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा नेपालबाट प्रतिनिधित्व गर्दै कास्य पदक प्राप्त गरेका थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले उहाँलाई सम्मान गर्दै भने, “हाम्रो भूमिमा धेरै हिरा छन्, आशिष जस्ता युवाहरू आफैँ अघि आएका छन् । यदि हामीले यस्ता प्रतिभालाई पहिचान गर्न सक्यौँ भने उहाँहरूले राष्ट्र निर्माणमा ठूलो योगदान दिन सक्नुहुन्छ ।”
मुख्यमन्त्री सिंहले सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर यस्ता प्रतिभाको खोज, संरक्षण र प्रोत्साहनमा जुट्नुपर्नेमा जोड दिए ।
कास्य पदक विजेता मिश्रले म्याथ ओलम्पियाडलाई एकेडेमिक ओलम्पिकको रूपमा परिभाषित गर्दै युवालाई पुस्तकको ज्ञानसँगै यस्ता प्रतिस्पर्धात्मक गतिविधिमा सहभागी हुन आग्रह गरे ।
उनले भने,“जसरी खेलकुदमा मेडल ल्याइन्छ, त्यसरी नै यो प्रतिस्पर्धा पनि ज्ञान र अभ्यासको आधारमा जितिन्छ । यस्ता क्रियाकलापमा सहभागी हुँदा अनुसन्धान र शैक्षिक भविष्यमा ठूलो सहयोग पुग्छ ।”
गत अप्रिल २१ देखि २६ तारिखसम्म तुर्कमेनिस्तानको शिक्षा मन्त्रालयको आयोजनामा आयोजित उक्त ओलम्पियाडमा विश्वभरबाट करिब ३०० विद्यार्थी व्यक्तिगत तथा समूहगत प्रतिस्पर्धामा भाग लिएका थिए । यो अन्तर्राष्ट्रिय म्याथ ओलम्पियाडमा नेपाली विद्यार्थीहरूको पहिलो सहभागिता थियो । पहिलो पटकमै मिश्रले कास्य पदक प्राप्त गरेका हुन् ।
अब मिश्र आगामी जुलाई ९ देखि २१ तारिखसम्म अष्ट्रेलियामा हुने ६६औँ अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा सहभागी हुने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएपछि छायो खुसियाली
-
बागमती सफाइ महाअभियान १३ औँ वर्ष प्रवेश
-
मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प
-
चलचित्र ‘जनै हराएको बाहुन’ भदौ ६ गते प्रदर्शन हुने
-
१० बजे १० समाचार : गभर्नरको विषय गठबन्धनलाई नै भारी पर्दै, सिंहदरबारमा बालेन शाहको खोजी
-
एनआरएनएसम्बन्धी परमादेश कार्यान्वयन भएको भन्दै सर्वोच्चलाई परराष्ट्रको पत्र